विराटनगर । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । यस दिन सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

छापावाल सुनको मूल्य तोलाको २ लाख ४१ हजार ९०० रुपैयाँ कायम भएको छ । तिहार बिदाअघि कात्तिक ३ गते छापावाल सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि यस दिन तोलामा २६५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ३ हजार १५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । कात्तिक ३ गते चाँदी प्रतितोला ३ हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा १२ वर्षयताकै ठूलो गिरावट आएपछि नेपाली बजारमा पनि मूल्य घटेको हो । तिहारको विदा नभएको भए गत साताको मंगलबारको दर अनुसार नेपालमा सुनको भाउ करिब १८ हजार रूपैयाँले घट्ने थियो । तर, विदाको कारण मूल्य तोकिएन ।

अन्तर्राष्ट्रिय बजारमा सोमबार प्रतिऔंस ४,३८१ डलरसम्म पुगेको सुन गत मंगलबार ६.३ प्रतिशतले घटेर ४,०८२ डलरमा झरेको थियो । यो सन् २०१३ अप्रिलपछि एकै दिनमा आएको सबभन्दा ठूलो गिरावट भएको बताइएको छ ।

अन्तर्राष्ट्रिय बजारमा बुधबार प्रतिऔंस सुनको मूल्य ४,०९७ डलरमा पुगेको थियो भने बिहीबार ४,०२६ डलरमा कारोबार भएको थियो । सुनको भाउ अहिले ४१११ डलर छ । एक औंस बराबर २. ४३ तोला हुन्छ ।