विराटनगर । पूर्वी नाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा अलैँची निर्यातमा उत्साहजनक वृद्धि हासिल गरेको छ। कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार यस अवधिमा अलैँची निर्यातमा ३३ प्रतिशतले वृद्धि भएको हो ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले दिएको जानकारीअनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कुल एक हजार ७२ मेट्रिक टन अलैँची निर्यात भएको छ। यसको कुल आर्थिक मूल्य एक अर्ब ६७ करोड ९१ लाख ७५ हजार रुपैयाँ पुगेको छ। यो अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा निकै माथि हो, जतिबेला एक अर्ब सात करोड २२ लाख रुपैयाँ बराबरको अलैँची मात्र निर्यात भएको थियो।

अलैँची निर्यातमा उत्साहजनक वृद्धि देखिए पनि सोही अवधिमा चिया निर्यातमा भने निराशाजनक अवस्था देखिएको छ। कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा चियाको निर्यात ४०.९० प्रतिशतले घटेको छ। यस अवधिमा एक अर्ब एक करोड २१ लाख ८६ हजार रुपैयाँ मूल्य बराबरको चिया निर्यात भएको छ। जबकी अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा एक अर्ब ७१ करोड ४० लाख ३१ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको थियो।

नेपालको चिया विशेषगरी तेस्रो मुलुकमा निर्यात हुने प्रमुख कृषि उपजमध्ये एक हो। यसको निर्यातमा आएको गिरावटले चिया उत्पादक र निर्यातकर्ताहरूका लागि चुनौती खडा गरेको छ। अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा, गुणस्तरका मापदण्ड र ढुवानी लागत जस्ता कारकहरूले चिया निर्यातमा प्रभाव पारेको हुन सक्ने अनुमान गरिएको छ।