विराटनगर । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा आज नेपाल र अमेरिकाबीच खेल हुँदैछ ।
दुबई अन्तर्राष्ट्रिय रंगशालामा नेपाली समय अनुसार बिहान ११ः१५ बजे खेल सुरु हुने छ।
यस पटक उच्च लयमा रहेको टोलीले लिग–२ मा प्रतिस्पर्धा गरिरहेका आठ मध्ये अंक तालिकामा दोस्रो स्थानमा रहेको अमेरिकासँग कडा चुनौती दिनदे सम्भावना छ । साथै नेपालले खेलेको १६ मध्ये ९ खेलमा पराजय व्यहोरेको नेपाललाई बाँकी खेलहरु जित्नुपर्ने दबाब पनि छ । त्यसैले अमेरिकासँग नेपालले उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा नेपाली खेलाडीहरुले गरेका छन् ।
टी–२ विश्वकपमा छनोट प्रतियोगिताको उपाधि नै जितेको नेपाली टोली ओमानबाटै यो सिरिज खेल्नका लागि युएई प्रस्थान गरेको थियो । युएईमा नेपालले दुवै देशसँग २/२ खेल खेल्नेछ ।
नेपालले ३० अक्टोबरमा युएईसँग खेल्नेछ । त्यसपछि १ नोभेम्बरमा अमेरिका र ५ नोभेम्बरमा फेरि युएईसँग खेलेपछि नेपाली टोली स्वदेश फर्कनेछ ।
लिग–२ मा नेपालले १६ खेल खेलबाट १२ अंक मात्र जोड्न सकेको छ । आठ टोलीको यो प्रतियोगितामा स्कटल्यान्ड २४ खेलबाट ३० अंक जोड्दै शीर्ष स्थानमा छ ।
दोस्रो स्थानको अमेरिकाको २० खेलबाट २८ अंक छ भने नेदरल्यान्ड्स पनि २४ खेलबाट २८ अंक जोडेर तेस्रो स्थानमा छ । चौथो स्थानको ओमानको २० खेलबाट २४ अंक, पाँचौ स्थानको क्यानडाको २४ खेलबाट २१ अंक र छैटौं स्थानको नामिबियाको समान खेलबाट १० अंक छ । १२ अंक जोडेको सातौं स्थानमा रहँदा युएई ६ अंकसहित आठौं स्थानमा छ ।
नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उप–कप्तान), कुशल भुर्तेल, मो. आरिफ शेख, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुल्शन झा, कुशल मल्ल, मो.आसिफ शेख, अनिलकुमार साह, भीम सार्की, साहब आलम, र ललित नारायण राजवंशी छन् ।

