विराटनगर । विराटनगर महानगरपालिका–१८ मा अवस्थित ऐतिहासिक दामादिघी पोखरीको सरसफाइ कार्यक्रम आज सम्पन्न भएको छ ।

विराटनगर महानगरपालिका वार्ड १८ को सहकार्यमा वडा कार्यालयका कर्मचारी, जनप्रतिनिधि, नेपाल प्रहरी, स्थानीय बासिन्दा सहभागितामा उक्त सरसफाइ अभियान सञ्चालन गरिएको वार्ड अध्यक्ष जितेन्द्र शाहले जानकारी दिए ।

सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण मानिने दामादिघी पोखरी लामो समयदेखि फोहर र झारपातले ढाकिँदै गएको थियो । पोखरीको सौन्दर्य र धार्मिक महत्व पुनर्जीवित गर्ने उद्देश्यले सरसफाइ अभियान थालिएको वडा अध्यक्षले जानकारी दिए । उनका अनुसार सरसफाइसँगै पोखरीको संरक्षण, व्यवस्थापन र दिगो विकासका लागि महानगरपालिकाले दीर्घकालीन योजना बनाइरहेको छ।

कार्यक्रममा सहभागीहरूले पोखरी वरिपरि संकलित प्लास्टिक, बोटबिरुवा र फोहर पदार्थ हटाई सफा बनाएका थिए। साथै, स्थानीय युवाहरूले पोखरीलाई आकर्षक पर्यटनस्थलका रूपमा विकास गर्न निरन्तर सरोकारवाला निकायसँग सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन्।

दामादिघी पोखरीलाई विराटनगरको ऐतिहासिक र सांस्कृतिक सम्पदा मानिँदै आएको छ। यसले स्थानीय समुदायको पहिचान र सामाजिक एकतामा योगदान पु¥याउँदै आएको बताइन्छ। सरसफाइ कार्यक्रममा सहभागी सम्पूर्ण व्यक्तिहरूलाई वडा कार्यालयले धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्ता अभियानमा निरन्तर सहकार्यको अपिल गरेको छ । छट पर्वको अवसरमा सो पोखरिको सरसफाई गरिएको वडा अध्यक्ष साहले जानकारी दिए ।