
स्मृति तिम्सिना
जुन आन्दोलन र विचारले देशमा यति ठूलो परिवर्तन ल्यायो, आज त्यही आन्दोलनको विरासत बोकेको पार्टीभित्र चरम गुटबन्दी, व्यक्तिवादी अराजकता र सिद्धान्तहीनता मौलाएको देख्दा म टुलुटुलु हेरेर बस्न सकिनँ । मेरो बुबाले जनयुद्धमा होमिएर दिएको योगदान, १४ हजार भन्दा बढीको बलिदान, सयौं वेपत्ताको परिवारको आँशु, घाइतेहरुले बताएको रगतबाट बनेको पार्टीलाई केही नेताहरूको स्वार्थको बन्धक बन्न दिनुहुँदैन । यही अठोटका साथ ‘जेनजी रेडफोर्स’ अभियान सुरु भएको हो । यो कुनै व्यक्तिविरुद्धको अभियान होइन, यो त पार्टीभित्र झाँगिएको गलत प्रवृत्ति र व्यक्तिवादी पद्दतिविरुद्धको विद्रोह हो । नयाँ बहस हो ।
म आबद्ध रहेको अखिल (क्रान्तिकारी) देखि पार्टीको माथिल्लो तहसम्म मैले चरम गुटबन्दी देखें । यहाँ ‘जनार्दन टिम’, ‘वर्षमान टिम’, ‘नारायणकाजी टिम’ जस्ता गुटहरू हाबी भए । गुटको मान्छे जतिसुकै कमजोर र अयोग्य भए पनि उसलाई नेतृत्वमा अघि बढाउने, तर गुटभन्दा बाहिरको सक्षम र योग्य व्यक्तिलाई अनेक षड्यन्त्र गरेर पन्छाउने र राजनीति नै सिध्याइदिने खेल चल्यो । व्यक्तिलाई पार्टीभन्दा ठूलो मान्ने गलत अभ्यासले विगतमा पार्टी विभाजनको पीडा हामीले भोगिसकेका छौँ । अब फेरि त्यही गल्ती दोहोरिन नदिन, १३–१४ हजार सहिदको रगतले सिञ्चित पार्टीलाई केही नेताको स्वार्थमा विघटन हुनबाट जोगाउन हामीले हस्तक्षेप गर्नैपथ्र्यो । यही आवश्यकता बोध गरेरै ‘रेडफोर्स’ जन्मिएको हो ।
हाम्रो उद्देश्य स्पष्ट छ । नेतृत्वलाई ‘भगवान’ मान्दै गरिने चरण वन्दनाको अन्त्य गर्ने, व्यक्तिवादी पद्दतिलाई खारेज गर्ने र पार्टीलाई संगठन र सिद्धान्तको बाटोमा हिँडाउन खबरदारी गर्ने । मैले यो अभियान कुनै ठूलो योजनाका साथ सुरु गरेकी होइन । प्रचण्डको सुरक्षा खोसिएको सन्दर्भमा मैले सामाजिक सञ्जालमा बस एउटा पोस्ट गरेँ, ‘चीनको जस्तै बलियो कम्युनिस्ट पार्टी नेपालमा बनाउनुपर्छ । म आफ्नो ठाउँबाट लागिसकेँ, साथ दिन तयार हुनुहुन्छ भने जोडिनुहोस् ।’
त्यो पोस्ट गरेको भोलिपल्ट बिहानसम्ममा मलाई सयौँ फोन र म्यासेज आए । देशभरका युवाहरूले ‘दिदी, हामी जोडिन चाहन्छौं’ भनेर देखाएको उत्साहले मलाई थप ऊर्जा दियो । त्यसपछि हामीले अभियानलाई संगठित रूप दियौं । आज देशका ५५ जिल्लामा हाम्रा संयोजकहरू छन् । स्पेन, अमेरिकाजस्ता देशहरूमा रहेका युवाहरू पनि हामीसँग जोडिएका छन् । यस अभियानमा १५ देखि २९ वर्ष उमेर समूहका युवाहरूको आकर्षण बढी छ । जसले यो पुस्ता परिवर्तनका लागि कति आतुर छ भन्ने देखाउँछ ।
हामी भर्खरैको ‘जेनजी विद्रोह’लाई सम्मान गर्छौं । देशमा व्याप्त भ्रष्टाचार र बेथितिविरुद्ध त्यो स्वतःस्फूर्त आक्रोश आवश्यक थियो । तर, त्यो विद्रोहमा एउटा कमजोरी छ । त्यहाँ विचार र नेतृत्वको अभाव छ । विचारहीन आन्दोलनले सही गन्तव्य समात्न सक्दैन । हामी उनीहरूसँग सहकार्य र संवाद गर्न चाहन्छौं । उनीहरूको आक्रोश र हाम्रो वैचारिक स्पष्टतालाई जोडेर एउटा शक्ति निर्माण गर्न सकिन्छ ।
हाम्रो एजेन्डा स्पष्ट छ । प्रत्यक्ष कार्यकारी प्रमुख, धर्मनिरपेक्षता र पूर्ण समावेशी राज्य व्यवस्था । हामी नेपालको माटो सुहाउँदो, ‘नेपाली सुगन्ध’ आउने कम्युनिस्ट पार्टी निर्माण गर्न चाहन्छौं, जहाँ हरेक श्रमिक र सर्वहारा वर्गको मुक्तिको सपना साकार होस् । रेडफोर्स माओवादी पार्टीको मात्र होइन, विश्वभरका श्रमजीवी वर्गको मुक्तिको सपना देख्ने हरेक सच्चा कम्युनिष्टको साझा बन्न सक्छ ।
जनयुद्धका घाइते, अपाङ्ग, सहिद तथा बेपत्ता परिवारको त्याग र बलिदानलाई पार्टी र राज्यले बिर्सन मिल्दैन । उहाँहरूको उपचार, जीवनयापन र सम्मानको ग्यारेन्टी राज्यले गर्नुपर्छ । यदि राज्यले आफ्नो दायित्व पूरा गर्दैन भने हामी उहाँहरूको अधिकारका लागि जस्तोसुकै आन्दोलनको आँधीबेहरी सिर्जना गर्न तयार छौं । सहिदका सन्ततिलाई हामी नेतृत्व विकासमा जोड्नेछौं र उनीहरूको आवाजलाई राज्यको नीति निर्माण तहसम्म पु¥याउनेछौं ।
म आफैँ पनि जनयुद्धकालीन एक योद्धाकी छोरी हुँ । मेरो बाल्यकाल चितवनको शक्तिखोरस्थित माओवादी क्याम्पमा बित्यो । मैले त्यो आन्दोलनको राप र ताप नजिकबाट महसुस गरेकी छु । त्यसैले यो अभियान मेरा लागि भावनात्मक पनि छ । हामी अब छिट्टै हाम्रो विस्तृत एजेन्डा सार्वजनिक गर्दैछौं । त्यसपछि हामी गाउँ–गाउँमा जनतासँग जोडिने र देशमा व्याप्त विकृति, विसंगति र विदेशी हस्तक्षेपविरुद्ध देशव्यापी आन्दोलनमा होमिनेछौं । जनताको साथ र समर्थनबाट हाम्रो अभियान सफल भएपछि मात्र हामी यसलाई आधिकारिक स्वरूप दिनेछौं । यो अभियान पद वा प्रतिष्ठाका लागि होइन । यो देश र कम्युनिस्ट आन्दोलनको भविष्य बचाउनका लागि हो । हामीले सुरु गरेको यो सानो झिल्कोले सिङ्गो देशमा परिवर्तनको अनुभूति दिलाउने छ ।
– जेनजी रेडफोर्सकी संयोजक तिम्सिनासँगको कुराकानीमा आधारित