आज गाई, गोरु, हलि र म्हः पूजा गरिँदै

विराटनगर । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो र पाँचौँ दिन देशभर गाई, गोरु, हलि र आत्म (म्हः) पूजा गरी मनाइँदैछ ।

तिथिमा भएको घटबढका कारण यस वर्ष गाई र गोरु तिहार एकै दिन परेको छ । कतिपय स्थानमा हिजो गाई तिहार मनाइए पनि आज अधिकांश ठाउँमा गाई र गोरु दुबैको पूजा एकसाथ भइरहेको छ ।

गाईलाई वैदिक सनातन परम्परामा पवित्र जीवका रूपमा पूजा गर्ने विधि प्राचीन कालदेखि चलिआएको हो । गाईले दिने दूध आमाको दूधजत्तिकै पौष्टिक हुने भएकाले गाईलाई ‘गौमाता’ भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरमार्फत मानिसमा शक्ति प्रवाह गर्ने भएकाले यसको वैज्ञानिक महत्व समेत रहेको धर्मशास्त्रविद्हरू बताउँछन् ।

गाईको पूजा गरी मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक विश्वास छ । औँसीको अन्त्य र प्रतिपदाको सुरुवातमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ । नेपालका कतिपय भागमा भने कात्तिक कृष्ण औँसीकै दिन गाई पूजा गर्ने चलन पनि छ ।

वैदिक सनातन धर्ममा हरेक धार्मिक कर्ममा गाईदानको परम्परा रहेको छ । पछिल्लो समय गाईको अभावमा पैसा राखी सङ्कल्प पढ्ने चलन बढेको छ । गाईलाई गौमाताका रूपमा सम्मान गर्दै नेपालले राष्ट्रिय जनावरका रूपमा मान्यता दिएको छ ।

आजका दिन गाईको पुच्छरमा साउन शुक्ल पूर्णिमाको रक्षाबन्धन बाँध्ने चलन पनि छ । जसले मृत्युपश्चात् वैतरणी नदी पार गराउने धार्मिक विश्वास रहिआएको छ ।

यससँगै, आज गोरु र कृषकको पूजा गरी हलि तिहार पनि मनाइँदैछ । वर्षभर खेत जोतेर मानव जीवनमा सहयोग गर्ने गोरुलाई पूजा गरी मीठा खानेकुरा खान दिने प्रचलन छ । गोरुलाई देवाधिदेव महादेवको वाहन साँढेका रूपमा पनि पूजा गरिन्छ भने वर्षभर हलो जोत्ने किसानलाई मिष्ठान्न परिकार खुवाइन्छ ।

यही दिन नेवार समुदायमा आत्म (म्हः) पूजा पनि मनाइन्छ । आत्मलाई सन्तुष्ट राख्न सके देवी–देवता पनि प्रसन्न भई आशीर्वाद दिने धार्मिक विश्वास रहिआएको छ ।

यो पर्व विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, चौतारा लगायत नेवारी समुदायको बाहुल्यता भएका स्थानहरूमा उल्लासपूर्वक मनाइन्छ ।

कार्तिक ५, २०८२, बिहानको ०७:१५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर