विश्वकप छनौटको च्याम्पियन बन्यो नेपाल, ११ वर्षपछि आइसीसीको उपाधि

विराटनगर । नेपाल आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको च्याम्पियन बनेको छ ।

शुक्रबार ओमानमा भएको अन्तिम खेलमा सामोआलाई १२४ रनको विशाल अन्तरले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको हो ।

नेपालले दिएको २१२ रनको विशाल लक्ष्य पछ्याएको सामोआले २० ओभरमा ७ विकेट गुमाएर ८७ रन मात्र बनायो । उसका लागि सिन सोलियाले सर्वाधिक ४० रन बनाए ।

नेपालका लागि ललित राजवंशीले ३ विकेट लिँदा करण केसी, सन्दीप लामिछाने र रोहित पौडेलले १–१ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले आसिफ शेख र दीपेन्द्रसिंह ऐरीको अर्धशतक मद्दतमा २० ओभरमा ४ विकेट गुमाएर २११ रन बनाएको थियो । आसिफले ४१ बलमा ७ चौका र ४ छक्कासहित ६९ रन बनाए । दीपेन्द्रले २ चौका र ४ छक्कासहित ५३ रन बनाए ।

लोकेश बमले ११ बलमा ३९ रन बनाएर फिनिसिङ गरे । रोहित पौडेल २१ रनमा अविजित रहे । कुशल भुर्तेलले १७ रन बनाए ।

सामोआका लागि डानियल बर्गस, साउमानी ताइ, डारियस भिसर र नोआह मिडले १–१ विकेट लिए ।

नेपालले ११ वर्षपछि पहिलोपटक आईसीसीको प्रतियोगितामा उपाधि जितेको हो । यसअघि सन् २०२३ मा विश्वकप छनोटमा नेपाल फाइनलमा ओमानसँग सुपर ओभरमा पराजित भएको थियो ।

पछिल्लोपटक नेपालले सन् २०१४ मा आईसीसी डिभिजन चारको उपाधि जितेको थियो । त्यसअघि सन् २०१० मा डिभिजन ४ को उपाधि जितेको थियो । २०१४ यता आईसीसीको आयोजनामा हुने छनोटलगायतका प्रतियोगिता नेपालले जित्न सकेको थिएन ।

नेपालले समूह चरणमा कुवेत र जापानलाई हराएको थियो । कुवेत समूह चरणबाट अघि नबढेकाले जापानसँगको जितको २ अंक बोकेर सुपर सिक्समा पुगेको नेपालले सुपर सिक्सको पहिलो खेलमै यूएईमाथि १ रनको रोमाञ्चक जित निकालेको थियो ।

दोस्रो खेलमा कतारविरुद्ध ५ रनको जित निकालेपछि नेपाल विश्वकपमा छनोट हुने लगभग पक्का भइसकेको थियो । त्यसपछिको खेलमा अनुकुल नतिजा आएपछि नेपाल २ खेल खेल्नुअगावै विश्वकपमा छनोट भएको थियो ।

तेस्रो खेलमा ओमानमाथि भने नेपालले ३८ रनको जित निकाल्यो र उपाधिकै नजिक पुगेको थियो । छनोटबाट नेपाल, यूएई र ओमानले आगामी वर्ष भारत र श्रीलंकामा संयुक्त रूपमा हुने टी–२० विश्वकपको यात्रा निश्चित गरेका छन् ।

अशोज ३१, २०८२, साँझको ०७:१७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर