विराटनगर । ओमानमा जारी आईसीसी टी–२० विश्वकप छनोट प्रतियोगितामा नेपालले सामोआलाई हराएमा नेपाली टोली विश्वकप छनोट प्रतियोगिताको उपाधिसहित स्वदेश फर्कने छ ।
नेपाल र सामोआबीचको खेल ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपाली समयानुसार, साँझ सवा ४ बजे शुरू हुनेछ । जारी छनोट प्रतियोगितामा नेपाली टोलीले खेल्न लागेको यो छैटौँ खेल हो । आफूले खेलेको सबै खेल जित्ने नेपाल एकमात्र टोली पनि हो ।
नेपाली टोली यसअघि नै सन् २०२६ मा आयोजना हुने टी–२० विश्वकपमा भने छनोट भइसकेको छ । आजको खेलमा जीत हात पारे नेपाली टोली पहिलोपटक छनोट प्रतियोगितामा पहिलो भएर विश्वकपमा पुग्नेछ ।
नेपालले छनोट चरण पार गर्दै यसअघि दुईपटक टी–२० विश्वकप खेलेको छ । तर, हालसम्म नेपाली टोली छनोट प्रतियोगिताको विजेता बनेर भने विश्वकपमा पुगेको छैन ।
यसपटक नेपाली क्रिकेटका लागि यो उपलब्धि हासिल गर्ने सुनौलो अवसर छ । ओमानमा जारी छनोट प्रतियोगितामा अन्तिम प्रतिद्वन्द्वी नेपालका लागि तुलनात्मक रूपमा कमजोर छ । जारी प्रतियोगितामा नेपाली टोलीले बलिया वा आफू समानका प्रतिद्वन्द्वीलाई भने यसअघि नै हराइसकेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)द्वारा घोषित पछिल्लो टी–२० अन्तर्राष्ट्रिय वरीयतामा नेपाल १७औँ स्थानमा छ । वरीयतामा नेपाली टोली अमेरिकालाई पछि पार्दै १७औँ स्थानमा उक्लिएको छ । सामोआ भने ६९औँ वरीयतामा छ ।
जारी छनोट प्रतियोगिताको ‘सुपर–६’ तालिकामा नेपाल आठ अंकसहित पहिलो स्थानमा छ । ओमान ६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । अब नेपाल र ओमानले एक–एक खेल खेल्न बाँकी छ । ओमानले पनि आफ्नो अन्तिम खेल शुक्रबार नै जापानसँग खेल्नेछ ।
नेपालसँगै ओमान पनि आगामी विश्वकपमा छनोट भइसकेको छ । नेपाली टोली समग्रमा तेस्रो र लगातार दोस्रोपटक टी–२० विश्वकपमा छनोट भएको हो । यसअघि नेपालले सन् २०१४ मा पहिलो पटक र सन् २०२४ मा दोस्रो पटक विश्वकप खेलेको थियो ।
एसिया–प्रशान्त क्षेत्रको अन्तिम चरणको यो छनोट प्रतियोगिताबाट तीन टोली आगामी विश्वकपमा पुग्ने प्रावधान छ । टी–२० विश्वकपको १०औँ संस्करण सन् २०२६ को फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत र श्रीलंकामा आयोजना हुँदैछ । प्रतियोगितामा २० टोलीको सहभागिता रहने छ ।
नेपाल र सामोआ जारी छनोट प्रतियोगिताको प्रारम्भिक चरणमा छुट्टाछुट्टै समूहमा थिए । नेपाली टोली समूह ‘बी’ को विजेताका रूपमा ‘सुपर–६’ चरणमा पुगेको हो । नेपालले समूहगत चरणको पहिलो खेलमा कुवेतलाई ५८ रनले र दोस्रो खेलमा जापानलाई पाँच विकेटले हराएको थियो ।
त्यसपछि नेपाली टोलीले ‘सुपर–६’ चरणमा यूएईमाथि एक रनको र कतारमाथि पाँच विकेटको रोमाञ्चक जीत हासिल गरेको थियो । ‘सुपर–६’ चरणकै अर्को खेलमा नेपाली टोलीले बलियो प्रतिद्वन्द्वी ओमानलाई ३८ रनले हराएको थियो ।
सामोआ भने जारी प्रतियोगितामा खासै गतिलो प्रदर्शन गर्न सकेको छैन । सामोआ समूह ‘सी’ को उपविजेताका रूपमा ‘सुपर–६’ चरणमा पुगेको हो । समूहगत चरणको पहिलो खेलमा ओमानसँग पाँच विकेटले पराजित भएको सामोआले अर्को खेलमा पपुवा न्यू गिनी (पीएनजी)लाई ६ विकेटले हराएको थियो । ‘सुपर–६’ चरणमा पनि सामोआको प्रदर्शन निराशाजनक छ ।