विराटनगर । नेपाल आगामी वर्ष भारत र श्रीलंकामा हुने आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको लागि दुई खेल अगावै छनोट भएको छ ।
आईसीसी टी२० विश्वकप एसिया-इएफी छनोट अन्तर्गत बुधबार भएको सुपर सिक्सको खेलमा कतारले जापानलाई तथा यूएईले सामोआलाई हराएपछि नेपाल विश्वकपमा छनोट भएको हो ।
नेपालसँगै ओमान पनि विश्वकपमा छनोट भएको छ। नेपाल र ओमान बीच आज राति खेल हुँदैछ। खेलमा जसको हार जित भएपनि दुवै टिम अहिलेसम्मको अङ्कतालिकाको आधारमा विश्वकपका लागि छनोट भएका हुन्।
अहिलेसम्मको अङ्कतालिकाका आधारमा नेपाल र ओमानको छ अङ्क छ । अबका खेल दुवै टिमले हार्दा पनि अर्को एक टिमको मात्र ६ अंक पुग्ने समिकरण रहेकोले दुई टोलीको विश्वकपमा स्थान टुङ्गो लागेको हो । सुपर सिक्समा रहेका छ टिममध्ये तीनवटा टिम विश्वकपमा छनोट हुन्छन्।
नेपालले पहिलोपटक सन् २०१४ मा टी-२० विश्वकप खेलेको थियो । त्यसपछि नेपालले दोस्रोपटक विश्वकप खेल्न १० वर्ष कुर्नुपरेको थियो । सन् २०२४ को विश्वकप खेलेको नेपालले समूह चरण पार गर्न नसकेपनि दक्षिण अफ्रिकालाई चुनौती दिएर १ रनले पराजित भएपछि विश्व क्रिकेटको ध्यान तानेको थियो ।
आजको खेलमा युएईले सामोअलाई हराएपछि ४ अंक जोडेको छ र विश्वकप पुग्ने सम्भावना कायमै राखेको छ । अब सामोअले नेपाल र ओमानसँग दुई खेल खेल्न बाँकी छ । यस्तै युएईले जापानसँग खेल्न बाँकी छ ।