विराटनगर । टि–२० विश्वकप एसिया छनोटको सुपर सिक्स चरणमा आज नेपालले कतारसँग प्रतिस्पर्धा गर्दैछ। हिजो भएको खेलमा शक्तिशाली प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (यूएई) लाई पराजित गरेर उत्साह उच्च बनाएको नेपाली टोली आजको खेलमा जितसहित विश्वकपको नजिक पुग्ने लक्ष्यसहित मैदानमा उत्रनेछ।
सुपर सिक्समा रहेका छ टोलीमध्ये शीर्ष तीन टोलीले २०२६ को टि–२० विश्वकपका लागि स्थान पाउने छन्। त्यसैले नेपालका लागि हरेक खेल निर्णायक बन्दै गएको छ।
कतार क्रिकेटमा उदाउँदै गरेको टोली हो। पछिल्ला केही वर्षमा उसले द्रुत प्रगति गरेको भए पनि अनुभव र अन्तर्राष्ट्रिय स्तरमा निरन्तरता अभावले कतारलाई तुलनात्मक रूपमा कमजोर मानिन्छ। विश्व क्रिकेटमा अहिले नेपाल र कतारबीच ठूलो अन्तर देखिन्छ।
हेड–टु–हेडमा नेपाल बलियो
नेपाल र कतारबीचको टि–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल बलियो पक्षमा रहेको देखिन्छ। दुवै टोलीबीच हालसम्म तीनपटक प्रतिस्पर्धा भएकोमा नेपालले दुई खेलमा जित निकालेको छ भने कतारले एक खेलमा विजय हात पारेको छ। २०१९ को एसिया क्षेत्रीय छनोटमा कतारले नेपाललाई चार विकेटले पराजित गरेको थियो, तर त्यसपछि भएका दुवै भेटमा नेपालले प्रभावशाली प्रदर्शन गर्दै पुनः वर्चस्व कायम गरेको छ। सन् २०२४ को एसीसी प्रिमियर कपमा नेपालले कतारलाई ३२ रनले हराएको थियो भने २०२५ अप्रिलमा हङकङमा भएको चतुर्भुज सिरिजमा नेपालले ८ विकेटले जित निकाल्दै पछिल्ला भेटमा बलियो स्थिती बनाएको हो। यस हिसाबले पछिल्लो फर्म र आत्मविश्वास दुवै पक्षबाट नेपाल नै अग्रस्थानमा रहेको देखिन्छ।
पराजय भए पनि सम्भावना बाँकी रहनेछ
आजको खेलमा नेपाल विजयी भयो भने विश्वकप प्रवेशको सम्भावना झनै बलियो हुनेछ। तर यदि कतारले अप्रत्याशित जित निकाल्यो भने पनि नेपाल प्रतियोगिताबाट बाहिरिने छैन। त्यस अवस्थामा बाँकी खेलमा जित र राम्रो नेट रनरेटका आधारमा नेपाल शीर्ष तीनमा पुग्न सक्नेछ।
आजको खेलको महत्त्व
विश्लेषकहरूका अनुसार यूएईविरुद्धको जितपछि नेपाल आत्मविश्वासमा छ र टोलीको संयोजन सन्तुलित देखिन्छ। कप्तान रोहित पौडेलको नेतृत्वमा युवा बलरहरू र मध्यक्रमका ब्याट्सम्यानले राम्रो तालमेल देखाएका छन्। कतारविरुद्ध पनि नेपालले सोही लय कायम राख्न सके सहज जित निकाल्ने सम्भावना बढी रहेको छ।
नेपाल र कतारबीचको खेल आज राति ८ः४५ बजे सुरु हुनेछ। नेपाली क्रिकेटप्रेमीहरू आफ्नो टोलीले लगातार दोस्रो जित निकाल्दै विश्वकपको ढोका अझ नजिक पुर्याउने अपेक्षामा छन्।