विराटनगर । ओमानमा जारी आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटमा सुपर सिक्सका खेलहरू आजदेखि सुरु हुँदैछन् ।

नेपालले आज सुपर सिक्सको आफ्नो पहिलो खेलमा चिरपरिचित प्रतिद्वन्द्वी यूएईसँग खेल्दैछ । नेपाल र यूएईबीचको खेल अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा अपराह्न ४:१५ बजेदेखि सुरु हुनेछ ।

समूह चरणमा युएईले कतार र मलेसियालाई हराएर अपराजित रहेको थियो । नेपालले कुवेत र जापानलाई हराएर अपराजित रहेको थियो ।

नेपालले आइतबार यूएईलाई पराजित गर्न सकेमा बलियो सुरुवात हुनेछ । यूएई र नेपाल दुवै पछिल्लो समय राम्रो लयमा छन् र टेस्ट राष्ट्रलाई हराइसकेका छन् । त्यसकारण दुई टोलीबीचको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गर्न सकिन्छ ।

समूह चरणमा तुलनात्मक रूपमा कमजोर टोलीसँग खेलेको नेपालले आज पहिलो खेलमै आफ्नो चिरपरिचित प्रतिद्वन्द्वी यूएईको सामना गर्दै छ । नेपाल र यूएई दुवै समूह चरणमा अपराजित रहेर सुपर सिक्स खेल्न लागेका छन् । दुवैले सुपर सिक्सका लागि २ अंक पनि जोडिसकेका छन् ।

नेपाल र यूएईबीचको खेललाई एसोसियटको ‘महाभिडन्त’ पनि भन्ने गरिन्छ । यी दुई टोलीको पछिल्लो लय र पहिलेका नतिजाले दुई टोलीलाई एकअर्काको ‘राइभल’ बनाएका छन् ।

महत्वपूर्ण प्रतियोगिताहरूमा पटकपटक भेट भइरहने २ टोलीबीचको स्तरमा त्यति धेरै फरक छैन । तर निर्णायक खेलहरूमा एकले अर्कोलाई स्तब्ध बनाउँदै आएका छन् ।

आजको खेल पनि महत्वपूर्ण खेलमध्येको एक हुनेछ । यस खेल जित्ने टोलीको सुपर सिक्समा बलियो सुरुवात हुनेछ ।

नेपाल र यूएई हालसम्म टी-२०आई मा १० पटक आमनेसामने भएका छन् जहाँ दुवैले ५-५ खेल जितेका छन् । पछिल्लोपटक एसीसी प्रिमियर कपमा नेपाल यूएईसँग पराजित भएको थियो ।

त्यस्तै नेपालले सोमबार कतार, बुधबार सामोआ र शुक्रबार ओमानसँग खेल्नेछ ।