प्रतिश श्रेष्ठ
राति ३ बजेतिरको कुरा हो । म लामखुट्टेको टोकाइले ब्युँझिएँ । एकछिन यताउता फर्किँदै छटपटिएँ, निद्रा पूरै हरायो । जब निद्रा भाग्छ, दिमागले अनेक कुरा सोच्न थाल्छ । मेरो मनमा भर्खरै देशमा भएको निरन्तरको झरीले गरेको जनधनको क्षति घुम्न थाल्यो । राजनीतिक उथलपुथलले भयावह बनेको देशको अवस्थामाथि यो प्राकृतिक विपद्ले थपेको पीडाले मन अमिलो भयो । धेरैले ज्यान गुमाए, हजारौँको घरबार र सम्पत्ति गुम्यो। हामी सबै दुःखको घडीमा छौँ ।
यस्तै सोच्दासोच्दै मोबाइलमा समय हेर्न मन लाग्यो । बिहानको ३ः३३ बजेको रहेछ । मिति अक्टोबर ६ । अक्टोबर ६ ! हँ ! म झसङ्ग भएँ । भोलि त अक्टोबर ७ ! इजरायल र प्यालेस्टाइनबीचको त्यो विध्वंसकारी युद्ध सुरु भएको ठीक एक वर्ष पूरा हुने दिन । एक्कासी मेरो दिमागमा एक वर्षदेखि डेरा जमाएर बसेको यो युद्धका दृश्यहरू चलचित्रको रिलझैँ घुम्न थाले । म नचाहेरै पनि एक पटक गाजा पुगेँ र त्यहाँका दृश्यहरू आँखामा नाच्न थाले । जब म गाजा र त्यहाँका बासिन्दाको अवस्था सम्झन्छु, मन भक्कानिन्छ ।
मैले सोचेँ, यस युद्धबारे मैले फेरि केही बोल्नुपर्छ, केही न केही लेख्नुपर्छ । भोलि युद्धको पहिलो वार्षिकी र हाल चलिरहेको शान्ति प्रयासले यो युद्ध अन्तिम घडीमा पुगेको हुन सक्ने आशाले पनि मलाई लेख्न प्रेरित ग¥यो । ठीक एक वर्षअघि यस्तै बिहानमा मैले यही विषयमा आफ्नो भावना पोखेको थिएँ । आज फेरि उही भाव बोकेर लेख्ने प्रयत्न गर्दैछु । कस्तो संयोग ! पीडाका बखत पनि यस्ता संयोगहरू सुन्दर लाग्दा रहेछन् ।
अब कथा सुरु गरौँ । तर, यो कुनै काल्पनिक कथा होइन, यो एक डरलाग्दो सत्य हो । तैपनि, म यसलाई एउटा स्क्रिप्टेड ‘हरर फिल्म’ को रूपमा व्याख्या गर्न चाहन्छु । यस्तो फिल्म, जसको क्लाइमेक्स आइसकेको छ र अब अन्त्य हुन लागेको छ । यस्तो डरलाग्दो फिल्म अब कसैलाई हेर्न मन छैन, त्यसैले यो तुरुन्त अन्त्य होस् भन्ने कामना छ । यस फिल्मको खलनायक (भिलेन) यति शक्तिशाली छ कि उसले हजारौँ निर्दोष मानिस मारेर गाउँबस्ती नै सखाप पार्दा पनि नायकको (हिरो) को इन्ट्री हुँदैन । नायकबिनाको यस्तो फिल्म पनि के हेर्नु ! अझ अचम्मलाग्दो कुरा त के छ भने, जो खलनायकको साथी हो, उही अब नायकको अभिनय गरेर दर्शकलाई झुक्याउन खोज्दैछ । खैर, कहिलेकाहीँ फिल्मको अन्त्यसम्म आइपुग्दा खलनायकको पनि बुद्धि फेरिएर आफ्नो चरित्र बदलेको देख्न पाइन्छ ।
अब म सीधा र प्रष्ट कुरा गर्छु । यसै पनि म धेरै घुमाएर बोल्ने मान्छे होइन । लेखनमा त्यति चातुर्यता र दक्षता पनि छैन, र सायद यहाँ त्यसको आवश्यकता पनि छैन । हामीमध्ये धेरैलाई थाहै छ । अक्टोबर ७, २०२३ मा हमासले इजरायलको सीमा पार गरेर अन्धाधुन्ध आक्रमण गर्दा करिब १,२०० सर्वसाधारणको क्रूर हत्या ग¥यो र २४० जनालाई बन्धक बनाएर गाजा लग्यो । त्यो अमानवीय आक्रमणको बदलामा इजरायलले सुरु गरेको प्रति–आक्रमण आज एक वर्ष पुग्दा नपुग्दै एउटा भयानक नरसंहारमा परिणत भएको छ । इजरायलले गाजा शहरलाई लगभग ध्वस्त बनाएको छ । हालसम्म ३५,००० भन्दा बढी सर्वसाधारण मारिएका छन्, जसमा अधिकांश महिला र बालबालिका छन् । लाखौँ मानिसहरू अङ्गभङ्ग र घाइते छन् । २३ लाखभन्दा बढी मानिसहरू घरबारविहीन भएर विस्थापित भएका छन् ।
धुवाँले ढाकिएको आकाश, बमले भत्किएका विद्यालय, अस्पताल र मस्जिदहरू, बालबालिकाको चिच्याहट, भोक र शोकको पीडा—यिनै भयानक दृश्यबीच गाजावासीको दैनिकी एक वर्षदेखि बितिरहेको छ । इजरायलले खाद्यान्न र अत्यावश्यक सामग्रीको आपूर्ति रोकेर गाजामा मानव निर्मित भोकमरी सिर्जना गरेको छ । खाना र राहत लिन गएका भोका मानिसहरूमाथि समेत इजरायली सेनाले गोली बर्साएर मारेको छ । कुपोषणले गर्दा बालबालिकाको शरीरमा हाड र छाला मात्र बाँकी छ । मानिसहरू भोकले ढलिरहेका छन्, पिउने पानी विषाक्त भएको छ । यो कुनै लडाइँ होइन, यो मानवताको विनाशको एक क्रूर नमुना हो । खाना, औषधि र पानीको नाकाबन्दीले आज गाजा एउटा खुल्ला जेल बनेको छ ।
दोस्रो विश्वयुद्धपछिको सबैभन्दा डरलाग्दो मानवीय सङ्कट सायद यही हुनुपर्छ । संसारमा युद्धहरू चलिरहन्छन्, तर इजरायलद्वारा गाजामा गरिएको यो तहको नरसंहार र युद्ध अपराध साँच्चै भिन्न र डरलाग्दो छ । यो द्वन्द्व अब राजनीतिक विवाद मात्र रहेन, यो मानवताको अस्तित्वमाथिको गम्भीर प्रश्न बनेको छ । एउटा कमजोर भूभागमाथि शक्तिशाली राष्ट्रहरू मिलेर जुन युद्ध अपराध गरिरहेका छन्, यो स्पष्ट देखिँदा पनि लामो समयसम्म संसारका शक्तिशाली देशहरू मौन बसे । कतिपयले यसलाई ’राजनीतिक तटस्थता’ भने, तर वास्तवमा यो अन्यायप्रतिको अप्रत्यक्ष समर्थन थियो ।
तर, पछिल्लो समय गाजावासीका लागि आशाका केही किरणहरू देखिएका छन् । युरोपका स्पेन, आयरल्यान्ड र नर्वे लगायत थुप्रै देशहरूले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिएर सत्य र न्यायको पक्षमा उभिएका छन् । संयुक्त राष्ट्र संघमा नेपालले समेत प्यालेस्टाइनको पक्षमा र युद्ध अन्त्य हुनुपर्नेमा आवाज उठाएको छ । आज अमेरिकाबाहेक विश्वका अधिकांश देशहरू इजरायलको विपक्षमा छन् । तैपनि जरायल आफ्ना बन्धकहरूलाई सकुशल फर्काउनेभन्दा पनि गाजालाई पूर्ण कब्जा गर्ने रणनीतिमा तल्लीन देखिन्छ ।
यद्यपि, विश्वव्यापी दबाबपछि अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले युद्ध अन्त्यका लागि प्रस्ताव अघि सारेको छ । उक्त शान्ति प्रस्तावमा इजरायली प्रधानमन्त्री र हमास दुवैले आंशिक सहमति जनाएका छन् । हमासले बाँकी इजरायली बन्धकहरूलाई रिहा गर्ने र बदलामा इजरायली सेना गाजा पट्टीबाट पूर्ण रूपमा हट्ने सम्झौताको मुख्य सर्त छ । दुवै पक्ष यसमा सकारात्मक रहेको र इजिप्टमा शान्ति वार्ता चलिरहेको खबरले विश्वलाई आशावादी बनाएको छ । यो खबरले प्यालेस्टाइनी जनतामा युद्ध अन्त्य हुने र जीवितहरूमा बाँच्ने आशा पलाएको छ ।
सारा विश्व यो क्षणको प्रतीक्षामा छ । यही विश्वको एक नागरिक म पनि स्थायी युद्धविरामको खबर सुन्न अत्यन्तै आतुर छु । एक वर्षदेखि निर्दोष जनतामाथिको हत्या, हिंसा र विध्वंसका समाचार हेर्दाहेर्दा मेरा आँखाहरू थाकिसके । निर्दोष जीवनहरूको मृत्युको अङ्क सुन्दासुन्दा कानहरू ट्वाल्ल भइसके ।
अब गाजाका मानिसहरू हाँसेको दृश्य देख्न मन छ । केटाकेटीहरू निर्धक्क खेलेको हेर्न मन छ । आकाशमा मिसाइलको सट्टा चराहरू उडेको हेर्न मन छ । श्रीमान् र छोराछोरीको विभत्स हत्याको पीडाले चिच्याइरहेका महिलाहरूले फेरि गीत गाएको सुन्न मन छ । एक वर्षदेखि निरन्तर भयमा बाँचेका बालबालिकाहरू ढुक्कले निदाएको हेर्न मन छ । निराशामा डुबेका मनहरूमा बाँच्ने आशा पलाएको हेर्न मन छ । र, कुनै दिन भाग्यले साथ दिए, सुन्दर र शान्त बनेको गाजा घुम्न जान मन छ ।
यो सबै दृश्यलाई यथार्थमा बदल्न म यस फिल्मका लेखक तथा निर्देशकलाई अनुरोध गर्छु—मेरो र सारा विश्वको यो इच्छा चाँडै पूरा गर । अब यो क्रूर र अन्यायपूर्ण फिल्मको अन्त्य गर । अचम्म त के छ भने, यस फिल्मको लेखक, निर्देशक र खलनायक सबै एउटै पात्र हो, र उसँग अब दर्शकको सहानुभूति जित्ने र आफ्नो अपराधको दाग मेटाउने यो अन्तिम अवसर छ ।
त्यसैले, सारा विश्व यो अविस्मरणीय हरर फिल्मको सुखद अन्त्य होस् भन्ने कामना गरिरहेको छ । यस्ता डरलाग्दा फिल्महरू फेरि कहिल्यै नबनून् र यस्ता क्रूर कथाहरू रच्ने लेखक, निर्देशक र खलनायकहरू यो धर्तीमा फेरि नजन्मिऊन् ।
यो क्रूर नरसंहार शीघ्र अन्त्य होस् । विश्वबाट हत्या, हिंसा र द्वन्द्वका समाचारहरू फेरि कहिल्यै हेर्न नपरोस् । अनि यस्ता पीडादायी कथाहरू मैले कहिल्यै लेख्न नपरोस् । जय मानवता ।

