भिडियो विश्लेषण

शीतल निवासमा ९ मिनेट ८ सेकेण्डमा लागेको थियो आगो

लुटपाट र तोडफोडमा संलग्नका सम्वाद, ‘हिरा रहेछ मलाई पनि है’

विराटनगर । गत भदौ २३ गते जेनजी पुस्ताले भ्रष्टाचारको अन्त्य र सामाजिक सञ्जाल खोल्नुपर्ने मुख्य माग लिएर प्रदर्शन गरेका थिए । त्यही क्रममा बानेश्वर क्षेत्रमा गोली चल्दा २१ जनाभन्दा बढीको मृत्यु भयो । आन्दोलनमा हालसम्म मर्नेको संख्या ७६ पुगिसकेको छ । कैयौं घाइते भए । अनाहकमा राज्यले गोली चलाएको घटना सनसनी फैलियो । अब जेनजी मात्रै होइन सरकार विरुद्ध सबै पुस्ताका असन्तुष्ट र आक्रोशितहरु २४ गतेको प्रदर्शनमा सहभागी बने । आक्रोश थियो, व्यवस्थाप्रति चरम असन्तुष्टि थियो र परिवर्तनको नारा थियो । तर, सितलनिवास कब्जा हुन्छ भनेर कसैले सोचेका थिएनन् । त्यो आक्रोशको आगोले देशको सर्वोच्च र सम्मानित मानिने राष्ट्रपति भवन, शीतल निवासलाई नै जलाउने कसैले सोचेको पनि थिएन । तर, ‘जेनजी आन्दोलन’को नाम दिइएको त्यो प्रदर्शनको क्रममा प्रदर्शनकारीहरूले शीतल निवासभित्र प्रवेश गरी गरेको तोडफोड र आगजनी गरे । जसको एक ९ मिनेट ८ सेकेण्ड लामो भिडियोले त्यो दिनको अराजकता र उन्माद देखाउँछ । आन्दोलनकारीमध्येकै एकले खिचेको यो भिडियोले हामीलाई घटनाको केन्द्रमा पु¥याउँछ । जहाँ हरेक सेकेन्ड तनाव, ध्वंस र विद्रोहको साक्षी छ ।

भिडियोको सुरुवात दौडधुप र कोलाहलबाट हुन्छ । एकजना युवाले नेपालको झण्डा बोकेका छन् र दर्जनौँ प्रदर्शनकारीहरू सुरक्षा घेरा तोडेर शीतल निवासको परिसरभित्र दौडिइरहेका छन् । भिडियो खिच्ने व्यक्ति पनि त्यही भीडमा छन्, उनको सास फुलेको आवाज र हल्लिएको क्यामेराले स्थितिको आकस्मिकता देखाउँछ । बाहिर राखिएका गमलाहरू फुट्छन्, सजावटका सामानहरू लछारपछार हुन्छन् । केही क्षणमै उनीहरू भवनको एउटा प्रवेशद्वारमा पुग्छन् । भिडियो खिच्ने व्यक्तिको उत्साहित आवाज सुनिन्छ, ‘ए खुल्लै छ, खुल्लैछ, आऊ आऊ” ।
भवनभित्रको दृश्य भव्य छ, रातो कार्पेट, लामो हल र शान्त वातावरण । तर, त्यो शान्तता एकैछिनमा भङ्ग हुन्छ । आक्रोशित भीड भित्र पस्छ । भिडियो खिच्ने व्यक्तिले चिच्याउँदै भन्छन्, ‘यो होन्दे मु…हरू पैसा चोर…’ ।

त्यसपछि सुरु हुन्छ तोडफोडको श्रृङ्खला । कार्यालयका कोठाहरूमा पसेर दराज, टेबुल, कम्प्युटर, प्रिन्टर र कुर्सीहरूमाथि प्रहार गरिन्छ । एक व्यक्तिले प्रिन्टर उचालेर भुइँमा बजार्छन्, अर्काले टेबुलको सिसा फुटाउँछन् । तर, यो केवल तोडफोडमा सीमित रहँदैन । दराजहरू खोल्दै उनीहरू बहुमूल्य सामानको खोजीमा देखिन्छन् । एकजनाले दराजबाट केही सामान निकालेर भन्छन्, ‘ए, हिरा मोती केकेको माला !’ अर्काले जवाफ दिन्छन्, ‘खै, के–के हो हालम् न अलि–अलि !’ यो संवादले उनीहरूको मनमा रहेको लुटपाटको आशयलाई पनि उजागर गर्छ ।

यही क्रममा अर्का एक प्रदर्शनकारीले डेस्कटप कम्प्युटरको प्रोसेसर निकाल्ने प्रयास गर्दै भन्छन्, ‘यो प्रोसेसर काम लाग्छ, मेरो कम्प्युटरमा हाल्न । खोल्ने सामान मसँग छ’ । अर्कोतर्फ, भिडियो खिच्ने व्यक्तिले दराजबाट एउटा कलम निकालेर भन्छन्, ‘यो पेनचाहिँ काम लाग्छ, मलाई पढ्न चाहिन्छ ।’ यी संवादहरूले त्यो अराजक क्षणमा पनि उनीहरूको व्यक्तिगत स्वार्थ र सोचलाई देखाउँछ, जुन निकै अनौठो र विरोधाभासपूर्ण छ ।

तोडफोडको उन्माद अब आगजनीमा परिणत हुन्छ । भिडियोमा देखिन्छ, कोठाका पर्दा र कागजपत्रहरूमा आगो झोसिन्छ । एकैछिनमा सानो झिल्कोले भयानक रूप लिन्छ । कोठाहरू धुवाँले भरिन थाल्छन् । भित्र पसेका प्रदर्शनकारीहरू आफैंलाई निसास्सिएको महसुस गर्न थाल्छन् । केही बेर अघिसम्म ध्वंसमा रमाएको भीड अब डराउन थाल्छ र भन्छ, ‘आगो लाग्यो, जाम जाम !’ । अब उनीहरूको उद्देश्य तोडफोड होइन, आफ्नो ज्यान जोगाउनु बन्छ ।

धुवाँले भरिएका कोठा र हलहरू पार गर्दै प्रदर्शनकारीहरू बाहिर निस्कन्छन् । बाहिरको दृश्य अझै भयावह छ । शीतल निवासको भव्य सेतो खम्बाहरूको पृष्ठभूमिमा आगोको रातो लप्का र कालो धुवाँको मुस्लो आकाशतिर उडिरहेको छ । बाहिर परिसरमा जम्मा भएको ठूलो भीड यो दृश्य हेरेर चिच्याइरहेको छ । कोही मोबाइलमा भिडियो खिचिरहेका छन्, कोही नारा लगाइरहेका छन् । उनीहरूको अनुहारमा एक प्रकारको अराजक विजयको भाव देखिन्छ । ९ मिनेटअघि जुन भवन देशको शक्तिको प्रतीक थियो, त्यो अब उनीहरूको आक्रोशको सिकार बनेर जलिरहेको थियो ।

यो ९ मिनेटको भिडियो केवल एउटा घटनाको रेकर्ड मात्र होइन, यो युवापुस्तामा फैलिएको चरम निराशा, आक्रोश र राज्यप्रतिको अविश्वासको एक जीवन्त दस्तावेज हो । यसले देखाउँछ कि जब असन्तुष्टिले सीमा नाघ्छ, तब आक्रोशको आगोले कुनै पनि प्रतीक र संरचनालाई खरानी बनाउन बेर लाग्दैन ।

https://www.facebook.com/arjun.acharya.166228/videos/1318351169825838

अशोज १३, २०८२, साँझको ०७:३८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर