लोड हुँदैछ...

मेनु

अबैध कारोबारले दिएको पिडा

अबैध कारोबारले दिएको पिडा

मोरङको कानेपोखरी–६ स्थित रमाइलो बजारमा सञ्चालित ’शुभलक्ष्मी अधिकारी सुनचाँदी पसल’को नाममा भएको १२ करोड रुपैयाँभन्दा बढीको ठगी प्रकरण अहिले आम नागरिकको विश्वासमाथिको गम्भीर आघात बनेको छ । यही ठगीको पीडाले ८३ वर्षीय वृद्ध नागरिक चक्रबहादुर गुरुङको ज्यान गएको घटना यो घटनाको सबैभन्दा मर्मस्पर्शी र पीडादायक पक्ष हो । जीवनभरको कमाइ र सरकारले दिएको सामाजिक सुरक्षा भत्ता बचतको रूपमा पसलमा राखेका गुरुङ अन्ततः निराश बनेर संसार छाड्न बाध्य भए । बैंक तथा वित्तीय संस्थाको अनुमति विना गरिएको गैरकानुनी बचत सङ्कलन, आकर्षक ब्याजको प्रलोभन, स्थानीय जनताको भावना र विश्वासमा खेलबाड—यी सबैले देखाउँछ कि अधिकारी परिवारले योजनाबद्ध ढंगमा ठगीको जालो बुनिरहेको थियो । सुरुमा पासबुक दिएर बचत सङ्कलन गरिएको भए पनि पछि त्यो फिर्ता लिई सामान्य डायरीमा लेखाजोखा राख्नु, कानुनी दायित्वबाट उम्किन खोजिएको रणनीति हो । ठगीलाई वैधानिक जस्तो देखाउने यस्तो चलखेल पीडितहरूको आँखाबाट लुक्यो, तर पीडा अहिले सबैको साझा बनिरहेको छ ।

यो ठगीकाण्डमा स्थानीय जनप्रतिनिधि, प्रहरी प्रशासन र न्यायिक संयन्त्रहरूको भूमिका पनि गम्भीर प्रश्नको घेरामा छ । पीडितहरूले वडा कार्यालयदेखि जिल्ला प्रहरी कार्यालय, न्यायीक समिति हुँदै अदालतसम्म धाएर न्याय खोज्दा पनि यथोचित सुनुवाइ नहुनु व्यवस्थापकीय असफलता मात्र होइन, आपराधिक लापरवाहीको सङ्केत हो । कुनै ठोस निर्देश वा पहल नगरी एक अर्कालाई दोष दिइरहनु दुःखद र निराशाजनक अवस्था हो । अधिकारी परिवारले बचतकर्ताको रकम अमेरिकातिर हुण्डीमार्फत लगेको आशंका, माईती पक्ष वा तेस्रो व्यक्तिको नाममा सम्पत्ति स्थानान्तरण गरेको सम्भावनाले थप गम्भीरता दिएको छ । यो मामिलाको निष्पक्ष अनुसन्धानका लागि राष्ट्र बैंक, प्रहरी प्रशासन, जिल्ला प्रशासन, मालपोत कार्यालय र स्थानीय तहबीच समन्वय हुनु अत्यावश्यक छ । पीडितको रकम फिर्ता गराउन कानुनी प्रक्रिया तुरुन्त सुरु गर्नुपर्छ । संलग्न सम्पत्ति रोक्का गरिनु र अनुसन्धान निष्पक्ष तरिकाले अघि बढाइनु अनिवार्य छ ।

यो घटनाले देखाएको छ कि स्थानीयस्तरमा कानूनविपरीत हुने वित्तीय कारोबार कति खतरनाक हुन सक्छ । यस्तो गैरकानुनी कारोबारमाथि निगरानी राख्नका लागि राज्यका नियामक निकायहरू अझ बढी सजग र सक्रिय हुन जरुरी छ । साना पसल र व्यक्तिको नाममा चल्ने यस्ता अनौपचारिक बचत योजनामा राज्यले कडाइ गर्नैपर्छ । सरकार, न्यायालय र सरोकारवाला निकायले यस विषयलाई गम्भीरताका साथ लिएर नागरिकको पसिनाको कमाइ सुरक्षित राख्न कानुनी व्यवस्था बलियो पार्नुपर्छ । रमाइलो बजारको यो घटना हामी सबैका लागि चेतावनी हो—पैसा जति सानो भए पनि यसको सुरक्षा राज्यले लिनैपर्छ । चक्रबहादुर गुरुङको बलिदान र सयौं पीडितको आँसु बेकार जान दिनुहुन्न । राज्य मौन रहनु भनेको अपराधीको पक्षमा उभिनु हो । समयमै हस्तक्षेप नहुँदा जनता अझै पनि न्यायका लागि अलपत्र परिरहनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।