
गणेश लमसाल
हिजोआज मोरङका सीडीओ इन्द्रदेव यादवको चर्चा हुन थालेको छ । चर्चा यसैका कारण कि उनले आफ्नो नेतृत्वको सेवालाई पारदर्शी र जनमुखी बनाउँदै कर्तव्य निर्वाह गर्न थालेका छन् । उनको केही महिनायताको व्यवहारले एक जना सीडीओले मात्रै पनि आफ्नो भूमिका जिम्मेवार भएर निभाउने हो भने सेवालाई धेरै हदसम्म पारदर्शी र जनमुखी बनाउन सकिने रहेछ ।
५ साउन अपराह्न ३ बजे सीडीओ यादवले मोरङ जिल्लाका सबै कार्यालयका प्रमुख र सूचना अधिकारीहरूसँग राजनीतिक दलका प्रतिनिधि र पत्रकारहरूलाई राखेर आफ्नो कार्यालयले गरेको गत वर्षको प्रगति समीक्षा प्रस्तुत गरेका थिए । उनले आफूले जस्तै साउन १५ गतेभित्र सबै कार्यालयका सूचना अधिकारीहरूलाई पनि प्रगति वेबसाइट वा हार्डकपीमा सार्वजनिक गर्न निर्देशन दिएका थिए । सँगै विपदका दुई महिना साउन र भदौ महिनाभरि अनुमति बिना जिल्ला छाडेर नजान कार्यालय प्रमुखहरूलाई कडा निर्देशन पनि दिए। सँगै उनले विपदका लागि जिम्मेवार कार्यालयहरूलाई आ–आफ्नो जिम्मेवारी अनुसार एक्साभेटर, सवारी, औषधि, चिकित्सक अनि राहत र उद्धारका सामग्री सहित तयारी अवस्थामा बस्न निर्देशन पनि गरे। यति मात्र नभएर उनले चेकमार्फत नभएर अनलाइनमार्फत मात्र भुक्तानी दिन पनि लेखा प्रमुखहरूलाई आह्वान गरे । चेकमार्फत भुक्तानी दिएमा त्यसको स्पष्टीकरण आफैंले दिन तयार रहन पनि उनले लेखा प्रमुखहरूलाई चेतावनी दिए ।
पहिलो पटक पत्रकार र राजनीतिक दलका प्रतिनिधिहरू सहित कार्यालय प्रमुख र सूचना अधिकारीहरूलाई सँगै राखेर अन्तरक्रिया गराउने सीडीओ इन्द्रदेव यादव नै पहिलो जिल्ला अधिकारी हुन् । हुन त पहिले पनि कार्यालय प्रमुख र कर्मचारीहरू सहभागी भएका अन्तरक्रिया र विषयगत कार्यक्रमहरूमा हामी पत्रकारहरूको सहभागिता नभएको होइन । तर दलका प्रतिनिधि, कार्यालय प्रमुख र सूचना अधिकारी र पत्रकारहरूलाई सँगै राखेर समीक्षा गरेको भने मोरङमा पहिलो घटना नै हो । यो भन्दा अगाडीका सीडीओ सुरेश अधिकारी लगायत केही पारदर्शी र सुशासनमुखी नै थिए । तर उनीहरूले पनि सबैलाई एकै ठाउँमा भेला गरेर सेवा प्रवाहबारे समीक्षा गराएका थिएनन् ।
पत्रकार, कार्यालयका हाकिम र सूचना अधिकारी र दलका नेताहरूलाई सँगै राखेर मात्र नभएर उनले आएदेखि निरन्तर सेवा प्रदायक कार्यालयहरूका हाकिमहरूलाई मात्र नभएर मातहतका कार्यालयका सबैलाई बोलाएर परिचय लिनेदिनेदेखि सेवाको अवस्था बुझ्ने र समस्याहरू सुन्ने काम गरिरहेका छन्। भर्खरै उनले मोरङ प्रहरीका सबै युनिटका प्रमुखहरूलाई बोलाएर समीक्षा गरेका थिए । यति मात्र नभएर उनले आइपरेका समस्याहरूबारे सकेसम्म सरोकारवालाहरू सबैलाई बोलाएर छलफल गराई निष्कर्ष निकाल्दै निर्णय दिइरहेका छन् । जुन जिम्मेवारीका लागि राम्रो भूमिका हो। उनको यो कार्यले एउटा जिल्लाको सीडीओ ८० भन्दा बढी समितिको संयोजक हुन्छ र कतिको त वर्षमा बैठक बस्ने पालो पनि आउँदैन र पालो आइहाल्यो भने पनि त्यो कागजी मिन्युटमा हस्ताक्षरले मात्र अवसर पाउँछ भनेर हामीले नै पटकपटक समाचार सम्प्रेषण गर्दै आएका छौं । एउटा जिल्लाको सीडीओ र हामी केन्द्रका ठूला भनिएका मिडिया हाउसमा काम गर्ने पत्रकार एकै प्रकारका हुँदा रहेछौं । हामीले पनि जिल्लामा झुण्डि लडी मरेको देखि नेताका “भन्नुहुन्छ बताउनुहुन्छ” भन्ने भाषण र विभिन्न संघसंस्थाका औपचारिक गतिविधिदेखि भ्रष्टाचार र अनियमितताका समाचार गर्नै पर्ने बाध्यता हुन्छ । त्यो भन्दा पनि अझ कुन बेला के के घटना हुन्छन् त्यसको नियमित अपडेट भएर समाचार गरिरहनु पर्छ । यसबाहेक पनि प्याकेजका खोजमूलक स्टोरीहरू पनि गर्नु पर्दछ । अर्थात् हामी पनि दिनरात बाँदरकुदाईकै अवस्थामा हुन्छौं । एउटा सक्रिय जिल्ला रिपोर्टरले जति धेरै सूचनाको आर्काइभ सायदै सम्पादकहरूले राख्नु पर्छ । हाम्रो डायरीमा पनि “थाहा छैन, सक्दिन र हुँदैन” भन्ने शब्द नै हुँदैन । सायद जिल्लाको अधिकारीको अवस्था पनि यही हुँदो रहेछ। सेवा प्रवाह, विपद्, सुरक्षा, झैझमेला, शान्ति सुरक्षा, मिटर ब्याज, ठगी, अपराधदेखि स्वास्थ्य, शिक्षा र मानव अधिकारसम्मको समस्यामा ध्यान दिनु पर्ने। यति मात्र नभएर संघीय र प्रदेश सरकारले गरेका नीति निर्देशनहरू पनि आम नागरिकमा सर्कुलर गराउनु पर्ने र भैपरि आउने मन्त्रालय आयोग र विभाग अनि निर्देशनालयहरूका काममा पनि सहजीकरण गरिदिनु पर्ने। काम र जिम्मेवारी त कति हो कति ? सायदै एउटा सक्रिय सीडीओले पनि हामीले जस्तै “हुँदैन, सक्दिन र भएन” भन्न पाउँदा हुन् ।
यो कमेन्ट पढ्ने केहीलाई लाग्दो हो “एन्टिकरेन्ट भनेर चिनिएको पत्रकार लमसाल पनि अब प्रशासकहरूको चाह गर्न थालेछ” भनेर । तर त्यो होइन । हामी जे देख्छौं त्यो लेख्छौं र जे सुन्छौं त्यसको पनि खोज गरेर प्रमाण जुटाएर समाचार बनाउँछौं । यसैले पनि होला सायद यो लमसालको मृत्युमा मलामी पनि आफन्तबाहेक सायदै अरू आउलान् ?
हो हिजोआज सत्ताधारी मात्र नभएर विपक्षी दलका नेताहरूले समेत उनको प्रशंसा गर्न थालेका छन् । पुस २४ गते २०८१ सालमा मोरङमा हाजिर भएका सीडीओ यादवले आफूले सकेजति पारदर्शी भएर सेवा प्रवाह गरिरहेकै छन् । उनले मिटरब्याजीहरूलाई कारबाही गराउन सत्ताधारी दलका नेता र सांसदहरूको चर्को दबाब भोगे पनि उनी गलेनन् । उनकै कारण धेरै मिटरब्याज पीडितहरूले मात्र नभएर उजुरीबाजुरी गर्न आउनेहरूले पनि न्याय पाउन थालेका छन् । वैदेशिक रोजगारमा ठगी अनि प्रशासनमा सेवा लिन आउँदा पाउने हैरानीबारे पनि उनले उल्लेख्य सुधार गरेका छन् । केही बीमा कम्पनीका शाखा हाकिमहरूले त पूर्पक्षका लागि जेल नै जानु परेको छ । सेवाग्राहीलाई सास्ती नहोस् भनेर सीडीओ यादवले राष्ट्रिय परिचयपत्र बनाउन बिहानको सेवा समेत सुचारू गराएका थिए । हामीलाई याद छ गत वर्ष विराटनगरमा रामनवमी र मोहर्रममा हिन्दु मुस्लिमको झण्डै दंगा भएको थियो । ठूलो संख्यामा प्रहरी परिचालन गरेर स्थिति नियन्त्रणमा लिनु परेको थियो । तर यसपाली सीडीओ यादवकै नेतृत्वमा दुवै पर्व शान्त र हर्षोल्लासपूर्वक सम्पन्न भए । मैले सुनेअनुसार मोहर्रम पर्वलाई शान्त बनाउन सीडीओ यादव सहितका अधिकारीको टोली दुई दिन रानी क्षेत्रमै खटिएको थियो । अनि यसपाली पनि अमेरिकाले इरानमा गरेको आक्रमणबाट आक्रोशित भएका विराटनगरका मुसलमानहरूले इरानका नेता आयतोल्लाह खोमेनीको टिसर्ट नै लगाएर मोहर्रममा प्रदर्शन गर्ने तयारी गरेका थिए । तर प्रशासनकै सक्रियतामा त्यो घटना हुन पाएन र नेपाल कूटनीतिक मर्यादा उल्लंघनबाट जोगियो । मोरङ सीमावर्ती दक्षिणी क्षेत्रमा नेपाल र भारतका हजारौं मुस्लिमहरू सहभागी हुने जमाती मेला शान्तिपूर्वक सम्पन्न भएको थियो भने पोहोरको जस्तो रामनवमी र मोहर्रममा हिन्दु मुस्लिमबीच कुनै अप्रिय घटना पनि भएन ।
मैले पनि सुने बुझेअनुसार सीडीओ यादवले आफ्नो कार्यालय र औपचारिक कार्यक्रममा बाहेक व्यक्तिगत रूपमा साँझ बाहिर कसैसँग भेटघाट गर्ने गरेका छैनन् । खानेपिउने बानी नभएका सीडीओ यादवले पत्रकार र नागरिक समाज अनि राजनीतिक दलहरूसँग पनि सोझो सम्बन्ध बनाएका छन् । त्यसका लागि उनले अलग अलग व्हाट्सएप ग्रुप बनाएर आवश्यक जानकारी सोझै उपलब्ध गराउने र गुनासा र उजुरीहरू लिने गरेका छन् । कार्यालयले दैनिक गरेका प्रगति र बैठकको निर्णयहरूदेखि केन्द्रबाट सर्कुलर भएर आएका निर्देशन, विपद् सूचनादेखि सेवा सुविधाको अवस्थाबारे उनले फेसबुक पेजमार्फत पनि आम नागरिकलाई जानकारी गराउने गरेका छन् । जसले उनलाई बेलाकुबेला फोन गरिरहनु पर्ने झन्झट पनि आम नागरिकहरूमा हटेको छ । सीडीओ यादवले जिल्लाका सरोकारवालाहरूसँग मात्र नभएर देखापरेका समस्या समाधान गर्न निरन्तर निकाय र नागरिकहरूलाई राखेर छलफल चलाएर निर्णय दिने गरेकोले जिल्लामा कार्य सम्पादन गर्न अन्य कार्यालयहरूलाई पनि सहज भएको छ । अहिलेसम्म पैसामुखी नदेखिएका सीडीओ यादवले मोरङमा बसुञ्जेल आफूलाई कतिसम्म सुशासनमुखी बनाइरहन सक्छन् भन्ने चुनौती चाहिँ बाँकी नै छ । तर हालसम्म उनले गरेको कामलाई चाहिँ उनले आफ्नो भूमिका जिम्मेवार भएर निभाएको हो भनेर भन्दा पक्कै अत्युक्ति हुने छैन । अन्त्यमा मैले सीडीओ यादवलाई भन्नै पर्ने के भने—तपाईंले देखाएको जिम्मेवार भूमिका मात्र बाहिर देखाउनका लागि नहोस् । यदि तपाईंले बाहिर मात्र जिम्मेवार भूमिका निभाउनु भएको छ तर भित्र चाहिँ लोभमुक्त हुन सक्नु भएन भने तपाईं असल प्रशासक कदापि हैन । र, निजामती सेवामा गोल्डमेडलिस्ट नै भए पनि र सम्भावना बोकेको राष्ट्र सेवक हुँ भनेर दाबी गरे पनि तपाईं दागमुक्त व्यक्ति बन्न पाउनु हुन्न । किनभने, सबैको प्रिय व्यक्ति हुन जति सजिलो हुन्छ समाजलाई असल बनाउनेहरूले उति नै निरन्तर चुनौती पनि मोल्न सक्नु पर्छ । एकपल्ट तपाईं भित्रभित्रै चुक्नु भयो भने तपाईं समाजको मात्र नभएर आफ्नै नजरमा पनि सिद्धिनु हुनेछ। जसले तपाईंलाई सेवा निवृत्त भएपछि पनि टोकिरहनेछ । यसैले सीडीओ साहेब कम्तीमा यत्ति लेखिसकेपछि तपाईंको बारेमा मैले चाहिँ खराब समाचार लेख्न नपरोस् र भविष्यमा सुन्न पनि नपरोस् । सुशासनका लागि सधैं जोखिम मोल्ने साहस कायमै रहोस् शुभकामना सीडीओ साहेब ।