
अनन्तराज न्यौपाने
यस साता गजबको समाचार पढ्न पाइयो । मारवाडी समाजका स्वनामधन्य र सोकल्ड दुबै खाले वरिष्ठ, समाजसेवी, अगुवा, अभियन्ता जे भनौँ; एक ठाउँमा भेला भएछन् । अनि मारवाडी समाजका सदस्यमा कुलीन र जातीय संस्कार हराउँदै गएको, उच्छृङ्खलताले प्रश्रय पाएको, मद्यमांस र जुवाको कुलत बढेको, विवाहादि कार्य खर्चिलो, आडम्बरी र देखावटी हुनथालेको, आफ्नै भाषा लोप भइरहेको अनि युवावर्ग बिदेसिएर जन्मभूमि बिर्संदा विराटनगरको मारवाडी समाज वृद्ध समाजमा रूपान्तरण भइरहेको जस्ता जल्दाबल्दा विषयमा विशद परिचर्चा गरेछन् ।
अन्यतिर झैँ मारवाडी समाजमा पनि विकृति, विसङ्गति र आडम्बरले जरा गाडिसकेको छ र यसले फोर्थ स्टेजको क्यान्सरको स्वरूप धारण गरिसकेको छ । त्यसैले यसलाई रूपान्तरण गर्न र पूर्ववत् अवस्थामा फर्काउन कठोर इच्छाशक्ति, निर्मम अभियान, सङ्गठित प्रयास र बहुआयामिक अनि उच्च नैतिक नेतृत्वको आवश्यकता देखिन्छ । शरीरको फोर्थ स्टेजको क्यान्सर निको नहुन पनि सक्छ तर मानवीय प्रवृत्ति र स्वभावको फोर्थ स्टेज समूल नष्ट हुनसक्छ र पहिलेकै अवस्था आउनसक्छ । संसारमा यसका अनेकन् उदाहरण छन् । शरीर बदलिँदैन तर स्वभाव बदलिन सक्छ ।
पैँतीस–चालीस वर्षअघि विराटनगरको मारवाडी समाज एक शालीन, सभ्य, सुसंस्कृत र उदाहरणीय स्वरूपमा थियो । यो सुन्दर र आदर्श समुदायमा कहिलेदेखि विकृतिको रोग पस्यो खुट्याउन गाह्रो छ । तर एउटा कुरा छाती ठोकेर भन्नसकिन्छ, २०४८ सालमा खडा गरिएको द एक्जुक्युटिभ क्लब सँगसँगै मारवाडी समाजको विकृति खुला रूपमा देखिन थाल्यो । त्यसअघि पनि यस समाजका केही व्यक्ति मद्यमांस र जुवामा रत थिए तर गोप्य र सुरक्षित तवरमा । कसैले थाहा पाउलान् भन्ने ठुलो भय हुन्थ्यो उनीहरूमा । र, जे गर्थे लुकेर गर्थे ।
यसैबीच २०४८ सालमा दोस्रो जननिर्वाचित सरकारले लिएको आर्थिक उदारीकरण र खुलापनको नीतिपछि यहाँका मारवाडी व्यवसायीले कहिल्यै सोच्तै नसोचेको धनआर्जन गर्न थाले । अकुत धनार्जनपछि रसरङ्गको चाहना भई नै हाल्छ । सामाजिक प्रतिष्ठा पनि चाहिन्छ । त्यही उद्देश्यका लागि खुल्यो द एक्ज्युक्युटिभ क्लब । यद्यपि यो क्लबमा कुनै अवाञ्छित गतिविधि सख्त निषेध थियो र क्लबको ‘मेन्यु’ शुद्ध शाकाहारी (अण्डासहितको) थियो । तर त्यस बेलाका अधिकांश नयाँ पुस्ताले खुलमखुल्ला मद्यपान यहीँबाट सिकेका हुन् । यसपछि यस समाजमा मद्यपान खुला संस्कृतिका रूपमा भित्रन थाल्यो । स्वाभाविक छ, मद्यपानपछि अरू विकृति र खराब बानीहरू आफैँ सृजित हुन्छन् ।
द एक्जुक्युटिभ क्लब आज अस्तित्वमा छैन । रानीमा यसको जमिन यसका नाइकेले बेचेर खाइसकेका छन् । यहाँ पहिले एक मेडिकल कलेज थियो अहिले एक निजी कलेज सञ्चालित छ । जमिनको विक्री पनि मन्त्रिपरिषद्को अनुमतिबिना नै प्रजिअस्तरीय निर्णयबाट गरिएको थियो । यस प्रकरणमा तत्कालीन प्रजिअ दोलखबहादुर गुरुङ र क्लबका पदाधिकारीलाई अख्तियारले सजिलै तान्नसक्छ । तर ती पदाधिकारी कति पावरफुल छन् भने कृष्णको सुदर्शनचक्रले सिङ्गै सूर्य छेकिदिएजस्तो नोटका बिटाले सिङ्गै अख्यितारलाई निस्तेज बनाइदिन सक्छन् ।
अब मूल कुरातर्फ जाऊँ । समाजमा फैलिएको विकृति रोक्ने कसरी ? यस पङ्क्तिकारका विचारमा रोक्ने हो भने पहिलो शर्त हो– अगुवा, अभियन्ता र आयोजकहरू सबैभन्दा पहिले सुध्रनुपर्छ ।
स्वामी रामकृष्ण परमहंससित एक महिला आफ्नो सानो बालक लिएर पुगिछन् र भनिछन्, ‘यो मेरो बच्चा अत्यधिक मिठाई खान्छ । यसलाई ठिक्क मात्रै खाने गरी आशीर्वाद दिनुहोस् स्वामी !’
स्वामीले बालकको कपाल सुम्सुम्याउँदै भनेछन्, ‘बालक, ज्यादा मिठाई खानु हुँदैन । कहिलेकाहीँ मात्रै खानू । मेरो आशीर्वाद छ ।’
यसपछि महिला आफ्नो बालक लिएर घर गइन् तर दुर्भाग्य, बालकले मिठाई छाडेन । सिद्ध स्वामीको वचन पनि पुगेन । एक हप्तापछि महिला बालकसहित फेरि आश्रममा पुगिन् र भनिन्, ‘स्वामी, बालक उस्तै छ । सुधार आएन ।’
रामकृष्णले भनेछन्, ‘माता, तपाईं १५ दिनपछि आउनू ल । यो बालक लिएर ।’
स्वामीको आदेशअनुरूप माता १५ दिनपछि आश्रम पुगिन् । स्वामीले बालकको शिरमा हात घुमाउँदै भने, ‘बालक, अत्यधिक मिठाई खाने बानी छाड्नू ल ।’
स्वामीको यस पटकको आशीर्वादले भने काम ग¥यो । बालकमा सुधार आयो । यसपछि महिला चकित भइन् । र, पुगिन् स्वामीजीलाई भेट्न । भनिन्, ‘दोस्रो पटकको आशीर्वाद कसरी सफल भयो स्वामीज्यू ?’
स्वामीजीको उत्तर थियो, ‘उपदेश दिनेहरू आफैँले पहिले त्यसको पालन गर्नुपर्छ अनि मात्र त्यो उपदेश दिने नैतिक आधार र बल हुन्छ । नैतिक आधार बिनाको उपदेश निष्फल हुन्छ । यो बालकलाई पहिले उपदेश दिँदा म आफैँ मिठाईको भोगी थिएँ । तपाईं दोस्रो पटक आएपछि मैले पन्ध्र दिनपछि आउन भनेँ । त्यो पन्ध्र दिनमा मैले मिठाई नखाने अभ्यास गरेँ र आफ्नो बानीमा परिवर्तन गरेँ । यसले मलाई नैतिक बल दियो अनि मात्र मेरा वचन र आशीर्वाद सिद्ध र सफल भए ।’
हिन्दुधर्म र वास्तुशास्त्रका नियमप्रति अत्यन्त निष्ठावान् र कट्टर मारवाडी समाजका कतिपय सदस्य आज मद्यमांस र निकोटिनको खुला व्यापार गरिरहेका छन् । यसबाट अकुत आर्जन त होला तर अन्ततः आफैँभित्रको आनन्द, शान्ति र सामञ्जस्य कहाँ पुग्ला ? सनातन धर्मशास्त्र कदापि झुठो हुनसक्तैन । धर्मशास्त्र र वास्तुशास्त्रको आदेशविपरीत धेरै स्वनामधन्य र वरिष्ठ मारवाडीका घरमा कुकुरपालन गरेको देखिन्छ । तिनका डाइनिङ टेबुलमा कुनै धर्मनिष्ठ अतिथि होइन, कुकुर आसीन हुन्छ । तिनका नोकरचाकर र पालेहरू घोघापैनीको सडक, गोश्वारा रोड र मेनरोडमा खुल्लमखुल्ला कुकुरलाई मलमूत्र त्याग गराउँदै हुन्छन् । करोडौँको घर बनाएर आफूलाई अत्याधुनिक र सुसज्जित शौचालय बनाउनेहरू बिहानबेलुका सडकमा कुकुरलाई हगाउँदै–मुताउँदै हुन्छन् । अनि कसरी कायम हुन्छ सुसंस्कार ?
मैले यस समाजका एक प्रतिष्ठित व्यक्तिलाई भनेँ, ‘घरमा गाई पाल्ने हो कुकुर होइन । यसलाई लगेर जङ्गलमा छाडिदिनूस् ।’ उनले सहजभावमा उत्तर दिए, ‘गाई त गौशालामा छँदैछ नि । गोपाष्टमीमा गएर त्यहाँ सेवा गर्ने हो । घरमा सबैलाई कुकुरकै सोख छ । यसप्रति सबैको अगाध माया, प्रेम र बसिसकेको छ । कसरी त्याग्नु ?’
यस समाजको बिहाबारी र पुराणादि कर्मकाण्ड अस्वस्थ प्रतिस्पर्धाका रूपमा भित्रिएका छन् । मोरङ, सुनसरी, झापा तीन वटै जिल्ला उत्कृष्ट वैवाहिक गन्तव्यका रूपमा विकसित भइसकेका छन् तर अलिकति नाम चलेको वा पैसा कमाएकाहरू दुबई, थाईल्यान्ड वा भारतका ठुला सहर पुग्न थालेका छन् ।
यस्ता अनेकन् विकृतिबाट मारवाडी समाज मात्र ग्रस्त छैन । पहाडे, मधिसे, मुस्लिम, आदिवासी, जनजाति सबैमा यो समस्या विकराल छ । कठोर अभियान चलाउने हो भने सुधार अवश्यम्भावी छ । भविष्यमा मारवाडी समाज फेरि पनि पहिले झैँ एक आदर्श समाजका रूपमा पुनःस्थापित हुनसक्यो भने त्यसबाट अन्य समाजले पनि प्रेरणा पाउनेछन् । र, समग्र सुधारको ढोका खुल्नेछ । भनिन्छ दस हजार किलोमिटरको पैदल यात्रा तय गर्ने हो भने त्यसको आरम्भ पहिलो पाइलोबाटै हुन्छ । यस्तो पहिलो पाइलो उचाल्न को तयार छ ?