विराटनगर महानगरको बजेट हावादारी प्रमाणित

३ अर्ब ४९ करोड ९८ लाख रुपियाँ आम्दानी हुने अनुमान गरेको महानगरको यथार्थ आय २ अर्ब २५ करोडमा सीमित

विराटनगर । विराटनगर महानगरपालिले गत आर्थिक वर्ष २०८१-८२ का लागि बनाएको बजेट र उपलब्धी बिच ठूलो अन्तर देखिएको छ । महानगरले गरेको आम्दानी र खर्चको अनुमानमा झण्डै १ अर्ब २५ करोड रुपैयाँ भन्दा बढीको असन्तुलन देखिएको हो । यसले महानगरको बजेट अनुमान नै असफल देखिएको छ ।

आर्थिक वर्ष २०८१-८२ का लागि विनियोजन गरेको कुल बजेटको ६४ प्रतिशत रकम मात्र खर्च गरेको छ । महानगरपालिकाले अनुमान गरेअनुसार आम्दानी गर्न नसक्दा विनियोजित शीर्षकमा अनुमान अनुसार खर्च गर्न नसकेको हो । महानगरपालिकाले आर्थिक वर्ष २०८१–८२ मा ३ अर्ब ४९ करोड ९८ लाख रुपियाँ आम्दानी हुने अनुमान गरी सोही बराबरको रकम खर्च गर्ने योजना बनाएको थियो । तर अनुमान गरे अनुसार यथार्थमा आम्दानी गर्न नसकेपछि ६४.४५ प्रतिशत रकम मात्र खर्च गर्न सक्यो । महानगरपालिबाट असार मसान्तसम्म २ अर्ब २५ करोड ५७ लाख रुपैयाँ मात्र खर्च भएको छ ।

पुँजीगत तर्फ १ अर्ब ६७ करोड ३ लाख रुपैयाँ पुँजीगत खर्च अनुमान गरेकोमा जम्मा ७५ करोड ९८ लाख ४१ हजार रुपैयाँ मात्र खर्च गरेको छ । यो कुल पुँजीगत खर्च अनुमानको ४५.४९ प्रतिशत मात्र हो ।महत्वपूर्ण त के छ भने पुँजीगत तर्फ महानगरले अत्यन्त न्यून मात्र खर्च गरेको छ । कुल खर्च मध्ये चालुतर्फ ६४.५ प्रतिशत खर्च गरेको महानगरले पुँजीगततर्फ ४५ प्रतिशत मात्र लगानी गरेको छ । गतवर्ष महानगरले १ अर्ब ४४ करोड चालुखर्च गरेको थियो जुन पुँजीगत खर्चको झण्डै दोब्बर रकम हो ।
वित्तीय व्यवस्थातर्फ भने महानगरले शतप्रतिशत रकम खर्च भएको जनाएको छ । वित्तीय व्यवस्था अन्तरगत महानगरले तिर्नुपर्ने सावाँ तथा व्याज भुक्तनी गरेको हो । महानगरले ५ करोड १ लाख ३२ हजार रुपैयाँ यस अन्तरगत खर्च गरेको जनाएको छ ।
यस वर्ष महानगरले आन्तरिक आम्दानी तर्फ भने गतवर्षको भन्दा १ करोड ७६ लाख रुपैयाँ बढी रकम संकलन गरेको छ । कतिपय करको दर घटेको र घर तथा गोदामजस्ता पूर्वाधारको ह्रासकट्टीका कारण राजश्व आम्दानी घट्न जाने अवस्थामा पनि आन्तरिक आयमा सुधार गरेको हो । यद्यपि महानगरले १ अर्ब १० करोड ८६ लाख रुपैयाँ आन्तरिक आम्दानी गर्ने अनुमान गरेकोमा ६२ करोड ७६ लाख रुपैयाँ मात्र आम्दानी गर्न सकेको छ ।

महानगरपालिकाले असार मसान्तसम्म आन्तरिकतर्फ घर बहाल कर १४ करोड ३२ लाख, सम्पत्ति कर १९ करोड ३४ लाख, व्यवसाय कर ७ करोड ७१ लाख, भूमिकर १ करोड ५८ लाख, पूर्वाधार उपयोग कर २ करोड ७० लाख, नक्सापास दस्तुरबाट २ करोड ८५ लाख, पार्किङ शुल्कबाट १ करोड ३१ लाख, अन्य दस्तुरबाट ३ करोड १६ लाख र सिफारिस शुल्कबाट २ करोड ६२ लाख रुपियाँ आम्दानी गरेको छ ।

साउन १, २०८२, दिउँसोको १२:०२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर