भ्यु–टावरको औचित्यबारे महालेखाको प्रश्न

खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मझुवागढी क्षेत्रको बुद्धेश्वर गुफा अगाडि बनाएको भ्यू–टावर औचित्यहीन भएको महालेखाले औंल्याएको छ । प्राकृतिक रूपमै चारैतिर प्रष्ट देख्न सकिने ठाउँमा भ्यू–टावर निर्माण गरिएकाले त्यसबाट प्राप्त हुने उपलब्धि र मूल्य सिर्जना नभएको भन्दै महालेखाले औचित्यमाथि प्रश्न उठाएको हो ।
उपलब्धि र उत्पादकत्वलाई ध्यानमा राखेर मात्र यस्ता खाले संरचना निर्माण गर्नु पर्ने महालेखाको आर्थिक वर्ष २०८०-८१ को प्रतिवेदनले सुझाएको छ । भ्युटावर निर्माणका लागि आर्थिक वर्ष २०८०-८१ मा कोशी प्रदेश सरकारको ६५ र नगरपालिकाको ३५ प्रतिशत गरी १ करोड ३६ लाख ८४ हजार रुपैयाँ विनियोजन भएकोमा ९६ लाख ६६ हजार दुई सय ८९ रूपैयाँ खर्च भएको छ ।
योजनाको मादी आरकेडी कन्स्ट्रक्सन प्रालि इटहरीले ठेक्का लिएको उक्त आयोजना डिपिआर बन्नुअघि नै निर्माण थालिएको पनि प्रतिवेदनले औंल्याएको छ । कालिका भगवती तथा मझुवागढी सौन्दर्यकरण योजनाका लागि साउथ एसियन टुरिजम एड्भाइजर्स एण्ड इन्जिनियरिङ कन्सल्टेण्ट प्रालिले डिपिआर निर्माणको जिम्मा लिएकोमा डिपिआर निर्माण नसकी भ्युटावरको काम थालिएको प्रतिवेदनमा उल्लेख छ ।

डिपिआरको प्रतिवेदन २०८१ वैशाख ७ गते नगरपालिकाले प्राप्त गरेपनि २०८० माघ ९ गते नै भ्युटावर निर्माणका लागि मादी आर के डी कन्स्ट्रक्सन प्रालि इटहरीसँग सम्झौता गरेको देखिएको महालेखाले जनाएको छ । सामुदायिक वन उपभोक्ता समूहसँग संरचना निर्माणपछि त्यसको स्वामित्व कसको हुने, प्राप्त हुने आम्दानी कसले कसरी उठाउने जस्ता विषयको निक्र्योल नगरी निर्माण कार्य गरेको पनि प्रतिवेदनले औंल्याएको छ ।

भ्यू–टावर निर्माण गरिएको जग्गा देविस्थान सामुदायिक वनको भएको नगरपालिकाले दाबी गरेपनि स्थानीयले भने व्यक्तिको समेत जग्गामा भ्यू–टावर बनेको बताउँदै आएका छन् । नगरका अमिन सुमनकुमार देवले पनि जग्गाको एकीन नगरी संरचना बनाइएको बताएका छन् ।

स्थानीयले समेत अनुत्पादक क्षेत्रमा लगानी गरेको भन्दै विरोध गर्दै आएका छन् । बुद्धेश्वर गुफा अगाडि सुन्दर प्राकृतिक संरचना कूरूप देखिने गरी तुक न बेतुकको भ्यू–टावर बनाइएको खोटाङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष राजु लयालुले बताए ।

असार ३२, २०८२, साँझको ०६:२७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर