विराटनगर । आर्थिक वर्ष २०८१÷८२ को अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ । बुधबारको बृद्धिसँगै नेप्से परिसुचक र कारोबार रकम पनि चार महिनायताकै उच्च विन्दुमा पुगेको छ ।
यस दिन नेप्से परिसूचक ३४.६१ अंक बढेर २७९४.७८ विन्दुमा पुगेको हो । यसअघि गत फागुन २२ गते नेप्से २८१८.४३ विन्दुमा बन्द भएको थियो । त्यसपश्चात बुधबार दिन नै नेप्से त्यस नजिक पुगेको हो । यस दिन सेन्सेटिभ इण्डेक्स ७.८६ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.६६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८२ अंक बढेको छ ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि उल्लेख्य बढेको छ । यस दिन ३३० स्टकको ९९ हजार ५०५ पटकको कारोबारमा १४ अर्ब ३ करोड ४८ लाख ३९ हजार रुपैयाँबराबरको ४ करोड ३१ लाख ११ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । कारोबार रकम पनि करिब साढे ४ महिनायताकै उच्च हो । यसअघि गत फागुन १९ गते नेप्सेमा १४ अर्ब २८ करोडको शेयर खरिदबिक्री भएको थियो । यस दिन १० प्रतिशत केबिएल डिबेञ्चर २०९० र थ्रिस्टार हाइड्रोपावरको मूल्य सर्वाधिक १० प्रतिशत बढेको छ । त्यस्तै, ग्रीन डेभलपमेन्ट बैंक, एनआईबिएल स्टेबल फण्ड र अप्पर हेवाखोला हाइड्रोपावरको शेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको छ । कारोबारमा आएको माइ खोला हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक ७.८७ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन बुटवल पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ६१ करोड ८७ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । त्यस्तै, यस दिन राधी विद्युत कम्पनीको साढे ५६ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने सानिमा माइ हाइड्रोपावरको करिब ४० करोड रुपैयाँको शेयर कारोबार भएको छ ।
बजारमा १२ वटा उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ । यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ३.८६ प्रतिशत बढेको छ । त्यसैगरी यस दिन बैंकिङ्ग, जलविद्युत, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा धेरै बढेको छ । यस दिन व्यापार उपसमूहको परिसूचक सामान्य घटेको छ ।