विराटनगर । ऋणको भाखा नाघेपछि घरमा गएका एक वित्तीय संस्थाका दुई कर्मचारीलाई जुत्ताको माला लगाउने विरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।
सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड मोरङको मधुमल्ला सेवा केन्द्रका प्रमुख रमेश राई र फिल्ड मेनेजर सुशीला लामिछानेमाथि गालीगलौज, हातपात र जुत्ताको माला लगाउने मिक्लाजुङ गाउँपालिका–२ निवासी ४२ वर्षीया दुर्गामाया लिम्बु र ३३ वर्षीया माया मगरविरुद्ध पक्राउ पूर्जी जारी भएको मोरङ प्रहरीले जनाएको छ ।
मगरले जुत्ताको माला लगाएकी थिइन् भने दुर्गामायाले भने भिडियो खिचेकी थिइन् । उक्त भिडियो सामाजिक सञ्जालमा राखिएको भएपनि पछि हटाइएको छ । अभद्र व्यवहारमा उजुरी दर्ता भएको प्रहरीले जनाएको छ ।
सुशीला लामिछानेमाथि जुताको मला लगाएको भिडियोमा प्रस्ट देखिएको छ भने राईले भने प्रतिकार गर्न खाजेका छन् । लामिछाने भने कुर्सिमा बसेकी थिइन् । राईलाई भने लछार छार गरेको भिडियोमा देखिएको छ ।
‘ऋण खाएर नतिरेपछि छलफलका लागि गएका बेला उनीहरूले माला लगाइदिएको भनेर जाहेरी परेको छ,’ मोरङ प्रहरी प्रवक्ता, डीएसपी चुँडालले भनिन् ।’
प्रहरीका अनुसार दुर्गामाया लिम्बुको घरमा जुत्ताको माला लगाइएको हो । उनीहरूविरुद्ध पक्राउ पूर्जी जारी भएपनि अहिलेसम्म पक्राउ भने भएका छैन । मोबाइल अफ गरेर उनीहरू फरार रहेको र खोजी कार्य जारी रहेको डीएसपी चुँडालले बताइन् ।
ऋण असुलीको सिलसिलामा कर्मचारीहरू उनीहरूको घरमा पुग्दा आइतबार दिउँसो अमर्यादित आचरण गरेको भन्दै सहकारी संस्थाले समेत आपत्ति जनाएको छ । यस्ता घटनाले समग्र सहकारी तथा वित्तीय क्षेत्रको छवि धूमिल पार्ने काम गरेको सहकारी संस्थाका अध्यक्ष हरिबहादुर राजवंशीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।