विराटनगर । मोरङको रतुवामाईमा दाजु–भाइबीचको अंश विवाद उग्र हुँदै जाँदा देवरले भाउजूको हत्या गरेका छन् ।
रतुवामाई नगरपालिका–६ का गणेशबहादुर बस्नेतकी पत्नी ६० वर्षीया टीकामाया कार्की बस्नेतको हत्या भएको हो ।
बोल्न नसक्ने टीकामायाको देवर ६९ वर्षीय टंकबहादुर बस्नेतले हत्या गरेको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन् । आफ्नै बारीमा घाँस काट्न गएका बेला हत्या गरेर फालेको अवस्थामा असार २१ गते दिउँसो टीकामायाको शव फेला परेको थियो ।शवको परीक्षण गर्दा मृतकको टाउको पछाडि घुच्चुकमा चोट देखिएको थियो । विराटनगरको कोशी अस्पतालमा शवको पोस्टमार्टम गर्दा चोटका कारण मृत्यु भएको खुलेपछि इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक होमप्रसाद अधिकारी नेतृत्वको टोलीले घटनाको विस्तृत अनुसन्धान गर्दा टंकबहादुरले हत्या गरेको खुलेको हो ।
अनुसन्धानका क्रममा मृतकका पति गणेश र उनका भाइ टंकबीच लामो समयदेअि अंश विवाद रहेको पत्ता लागेको थियो । प्रहरीका अनुसार पुर्खौली सम्पत्ति भाइले एकलौटी बनाउन खोजेपछि गणेश अदालतको शरणमा पुगेका थिए । गणेशले पनि अंश पाउने फैसला अदालतले गरेको थियो ।प्रहरीका अनुसार गणेश र टंकका आमा अलग–अलग हुन् । गणेश जेठी र टंक कान्छी आमाका छोरा रहेको प्रहरीले जनाएको छ ।
अदालतको फैसलापछि दाजु–भाइबीचको विवाद झन् बढेको र आफूले मात्रै भोगचलन गर्न खोजेको जग्गाजमिन दिनुपर्ने भएपछि टंकले भाउजूको हत्या गरेको प्रहरीले जनाएको छ । अंश विवादको रिसईबी साँधेर बसेका टंकले हँसियाको बिँडले प्रहार गरेर भाउजू टीकामायाको हत्या गरेको खुलेको छ ।
घटनामा संलग्नलाई पक्राउ गरेर अनुसन्धान एवं कारबाहीको दायरामा ल्याइसकिएको प्रहरीले जनाएको छ । टंकलाई सोमबार दिउँसो घरबाटै प्रहरीले पक्राउ गरेको हो । भाउजूको हत्यामा प्रयोग गरिएको हँसिया टंककै घरबाट बरामद भएको छ ।
टंकविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाउने प्रहरीको तयारी छ ।