विराटनगर । मोरङको रंगेलीमा लागुऔषध कारोबारी नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको टोलीले रंगेली नगरपालिका–८ मा दुई राउन्ड गोली चलाएर तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रंगेली नगरपालिका–८ का ५५ वर्षीय किर्तानन्द ठाकुर, ३८ वर्षीय सुशिल बुढाथोकी र एक जना भारतीय महिला रहेका छन् । पक्राउ परेकासँग ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ ।
भारतीय महिलाको भने परिचय खुल्न बाँकी रहेको मोरङ प्रहरीले जनाएको छ ।
प्रहरीको उक्त टोलीमा इन्स्पेक्टर राकेश यादव र वरिष्ठ सई बालकृष्ण सञ्जेलसहितको टोली खटिएको थियो । टोलीले सूचना आधारित अपरेसनमार्फत लागुऔषध कारोबारीमाथि निगरानी राख्दै कार्यवाही गरेको हो ।
पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।