विराटनगर । भोजपुरको रामप्रसाद राई गाँउपालिका–२ धोद्लेखानीमा गएराति ज्वाइँले ससुरालीका सबैको हत्या गरेका छन् ।
भोजपुर नगरपालिका–२ हेलौँछा घर भएका ३० वर्षीय राजेन्द्र राईले श्रीमतीसहित सासू, ससुरा र सालोको हत्या गरेका प्रहरीले जनाएको छ ।
राईले माइतीघरमा रहेकी श्रीमती मनीषा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, सासू ४५ वर्षीय मञ्जु गिरी र सालो सपन गिरीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक उमेश प्रसाद यादवले जानकारी दिए ।
हत्यापछि राजेन्द्रले नै प्रहरीलाई फोन गरेर ‘४ जना मारेको छु, मलाई पक्राउ गर्न आउनुस्’ भनेर प्रहरीलाई खबर गरेका थिए ।
‘हत्यापछि राजेन्द्रले नै मैले ४ जनाको हत्या गरेँ भनेर फोन गरेका थिए,’ प्रहरी निरीक्षक उमेशले भने, ‘हामी खोज्दै गयौं । उनी घटनास्थल भन्दा झन्डै ७ किलोमिटर माथि पुगेका रहेछन् ।’
रगताम्मे अवस्थामा उनलाई भेटेको प्रहरीले जनाएको छ । उनी आफैं पनि घाइते अवस्थामा फेला परेका थिए । उनको पेटमा तीन ठाउँमा छुरी लागेको छ । पहिला ससुराली पक्षले आक्रमण गरेपछि त्यसको प्रतिकार गरेको उनले प्रहरीलाई बताएका छन् ।
‘आक्रमण गर्न थालेपछि त्यही हतियार खोसेर अन्धाधुन्द आफूले आक्रमण गरेको भनेर हामीलाई उनले भनेका छन्’, प्रहरी निरीक्षक यादवले भने ‘हामी थप अनुसन्धान गरिरहेका छौं ।’
घटना राति करिब सवा १ बजेतिर घटेको इन्स्पेक्टर यादवले जानकारी दिए । भोजपुर अस्पताल प्राथिमक उपचार भइरहेको राईलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाउने तयारी भएको प्रहरीले जनाएको छ ।
राजेन्द्रकी श्रीमती ४/५ दिन अगाडि मात्रै माइतमा पुगेकी थिइन् । दुवै जनाले अघिल्लो वर्ष असोजमा भागी विवाह गरेका थिए । बिहे हुँदा करिब १५ वर्षकी मात्रै थिइन् ।
मनीषालाई विभिन्नखालको शारीरिक तथा मानसिक यातना दिएपछि उनी माइतीको शरणमा आएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
हत्या गरिएका ४ जनाको शव अहिले पनि घटनास्थलमै छ । घटनास्थलमा प्रहरीको टोली परिचालित भई थप अनुसन्धान भइरहेको इन्स्पेक्टर यादवले जानकारी दिए ।