प्रहरीको नाममा डकैती गर्ने थप एक जना पक्राउ

विराटनगर । शरीर बन्धक बनाई डकैती गरेको आरोपमा मोरङ प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । उनले प्रहरीको नाममा यस्तो धन्दा गर्ने गरेका थिए । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा –११ बस्ने २५ वर्षीय कुशल पाण्डे रहेका छन् ।

पाण्डेविरुद्ध यसअघि इलाका प्रहरी कार्यालय रानी मोरङबाट मन्जु तामाङको ज्यानमार्ने उद्योग मुद्दामा मुद्दा दर्ता रहेको, तथा अभद्र व्यवहार मुद्दामा समेत संलग्न रहेको अभिलेखबाट देखिएको प्रहरी नायब उपरीक्षक हस्तबहादुर सुनारले जानकारी दिए । पाण्डेलाई लुटेको १ लाख ५० हजार र वारदातमा लगाएको कालो रंगको ट्रयाक र ट्राउजर थानसहित प्रहरीले पक्राउ गरेको नायब उपरीक्षक सुनारको भनाई छ ।

यसअघि प्रहरीले असार १५ गते दुई जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नं.८ का २४ वर्षीय समीर हुसेन र वडा नं. ६ का २७ वर्षीय आशिफ अन्सारी रहेका छन्।गत असार ११ गते विराटनगर–१५ का २० वर्षीय विक्रम कुमार साह तेलीले बैंकमा जम्मा गर्न लैजाँदै गरेको रु ३ लाख ६४ हजार रुपैयाँ रातो स्कुटरमा आएका तीन जना अपरिचित व्यक्तिले लुटपाट गरेका थिए।

पीडितका अनुसार सिटी सफारीमा यात्रा गरिरहेका बेला रानीस्थित राइस मिल नजिक ती व्यक्तिहरूले स्कुटर रोकेर आफूहरू ‘जिल्ला प्रहरी कार्यालय मोरङबाट आएको अनुसन्धान टोली हौँ’ भनी झूटो परिचय दिँदै नियन्त्रणमा लिएका थिए। उनीहरूले पीडितलाई स्कुटरको बिचमा जबरजस्ती राखी विराटनगर–१४ स्थित एकान्त स्थानमा लगेर धम्की दिँदै साथमा रहेको नगद रकम लुटेर फरार भएका थिए ।

प्रहरीले अनुसन्धानको क्रममा असार १५ गते सो घटनामा प्रयोग भएको को १४ प ३३३० नम्बरको स्कुटरसहित समीर हुसेन र आशिफ अन्सारीलाई पक्राउ गरेको थियो। उनीहरूलाई पीडितले सनाखत समेत गरिसकेको छ।

बिहिबार, १९ असार, २०८२, साँझको ०५:४७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर