जेष्ठ नागरिक स्वास्थ्य अवस्था बुझ्दै विराटनगर ८ का जनप्रतिनिधि

विराटनगर । विराटनगर महानगरपालिका वडा नंं ८ ले जेष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य अवस्था बुझ्दै आएको छ ।
वडा कार्यालयले गत वर्षदेखि जेष्ठ नागरिकसँग जनप्रतिनिधि कार्यक्रम शुरु गरेको हो । जेष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिने, स्वास्थ्य परीक्षण गर्ने, सरकारले निशुल्क उपलब्ध गराएका औषधीहरुबारे जानकारी दिने र जेष्ठ नागरिकको अवस्थाहेरि स्वास्थ्य सामग्रीहरु पनि वितरण गर्ने कार्य वडा कार्यालयले गर्दै आएको छ । गत वर्षदेखि शूरु भएको कार्यक्रम प्रभावकारी भएपछि यस वर्षपनि कार्यक्रमलाई निरन्तरता दिईएको वडा अध्यक्ष राम पोख्रेलले बताए ।

यस वर्षको अभियान अन्र्तगतको पहिलो दिन १०३ वर्षीया देवी पाण्डेको घरमै पुगेर विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्की सहित विराटनगर ८ का सवै जनप्रतिनिधिहरु, स्वास्थ्यका कर्मचारीले स्वास्थ्य अवस्था बुझेका छन् । उपप्रमुख कार्की, वडाध्यक्ष पोखरेल सहितको टोलीले जेष्ठ नागरिक पाण्डेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको थियो । जेष्ठ नागरिक पाण्डेको उच्चरक्तचाप, मधुमेहको परिक्षण गरिनुका साथै एक थान पंखा वितरण गरिएको वडाअध्यक्ष पोखरेलले बताए ।
वडा कार्यालयले वडाका जेष्ठ नागरिकको लगत संकलन गरि कार्यक्रम सञ्चालन गरेको हो । गत वर्ष १२२ जना जेष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परिक्षण गरिनुका साथै आवस्यक स्वास्थ्य सामग्री वितरण गरिएको थियो ।

जेष्ठ नागरिकको घरमै पुगेका समयमा वडा कार्यालयले हरेक सोमबार आयोजना गर्ने निशुल्क आँखा शिविरका बारेमा पनि जानकारी दिईने गरेको वडा सदस्य पवित्रा विश्वकर्माले जानकारी दिइन् ।विराटनगर महानगरपालिका वडा नं.८ ले भौतिक पूर्वाधारको विकाससँगै वडाबासीको स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्दै आएको वडा सदस्य भुवन राजवंशीले बताए । उनले वडामा नियमित स्वास्थ्य शिविर, जेष्ठ नागरिक दन्त उपहार कार्यक्रम प्रभावकारी भएको बताए ।

कार्यक्रममा कार्यपालिका सदस्य ताराकुमारी राय, वडासदस्य मो.अब्बास, वडा सचिव मनोज मल्लिक, स्वास्थ्य शाखा प्रमुख अञ्जु श्रेष्ठ, महिला स्वयेंविकाहरु, समाजसेवी राजन भण्डारी, शोभा निरौला, देवी निरौला लगायतको सहभागीता रहेको थियो ।

मङ्गलबार, १७ असार, २०८२, साँझको ०५:३५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर