करोडौंको न्युट्रास्युटिकल घोटाला प्रकरण : राजस्व छलेको आरोपी बिपिन झा धरौटीमा छुटे

राजस्वले धरौटीमा छोड्दा पनि घटना गोप्य, अनुसन्धान नै शंकास्पद

विराटनगर । न्युट्रास्युटिकल (खाद्य पूरक) वस्तुको आयातमा अनियमितता गरेका आरोपमा पक्राउ परेका न्युट्रास्युटिकल एसोसिएसन मोरङका अध्यक्ष बिपिन झा १ करोड ५० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । राजस्व अनुसन्धान कार्यालय इटहरीले झालाई मंगलबार धरौटीमा रिहा गरेको पुष्टि गरेको छ ।

राजस्व अनुसन्धान कार्यालय इटहरीले झालाई लामो समयको निगरानीपछि पक्राउ गरेको थियो । उनीमाथि भारतबाट खाद्य पूरक सामग्री तथा भिटामिनहरू तस्करी गरेर ल्याएको, नयाँ मिति टाँसेर पुनः बजारमा पठाएकोजस्ता गम्भीर आरोपहरू लागेका छन् । यसका साथै उनले म्याद सकिएका उत्पादनमा केमिकल प्रयोग गरेर उत्पादन तथा म्याद मेटाउने कार्य गरेकोसमेत अनुसन्धानका क्रममा खुलेको छ ।

राजस्व अनुसन्धान कार्यालयका प्रमुख उत्तमकुमार घिमिरेले झालाई अनुसन्धानपछि धरौटीमा छाडिएको जानकारी दिए । ‘अनुसन्धान अझै जारी छ, छिट्टै घटनासम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने तयारीमा छौं,’ घिमिरेले भने । हाल राजस्व अनुसन्धान कार्यालयले घटनाको विस्तृत विवरण सार्वजनिक गर्न चाहेको छैन । यो घटना सुरुवातदेखि कार्यालय प्रमुख घिमिरेले गोप्य राखेका छन् । जसले गर्दा अनुस्न्धानमा चलखेल भएको हुनसक्ने आशंका गरिएको छ ।

तीनतले घरबाट सुरु भएको थियो अवैध धन्दा

यो राजस्व छली प्रकरणको सुरुवात २०८१ साल पुस २८ गते भएको थियो । विराटनगर–६ स्थित बीएफएम पूर्व भूमि मार्गमा रहेको झाको तीनतले निजी घरमा प्रदेश प्रहरी कार्यालय, मोरङ प्रहरी र राजस्व अनुसन्धान कार्यालयको संयुक्त टोलीले छापा मारेको थियो । उक्त घरको भुइँतला र दोस्रो तलाका तीनवटा कोठा गोदामका रूपमा प्रयोग गरिएको पाइएको थियो ।
छापा मार्ने क्रममा १४ भन्दा बढी ब्रान्डका न्युट्रास्युटिकल र मल्टिभिटामिनहरू बरामद गरिएका थिए । बरामद भएका अधिकांश सामग्रीहरूको म्याद सकिएको अवस्थामा भेटिएको थियो । विशेष कुरा के थियो भने ती उत्पादनहरूमा पुनः नयाँ मिति टाँसिएको थियो । यसबाट ती सामग्रीहरू बजारमा जान लागेका थिए भन्ने पुष्टि भएको थियो ।

राजस्व अनुसन्धान कार्यालयले प्रारम्भिक प्रमाण संकलन गरी झामाथि छानबिन अघि बढाएको थियो । तर, प्रारम्भिक अनुसन्धानमै उनलाई धरौटीमा छाडिएको विषयले प्रश्न उठाएको छ । कार्यालयले मुख्य अभियुक्तलाई धरौटीमा छाडेर उनका गाडी चालकलाई मात्र पक्राउ गरेको थियो । यही कमजोरीको फाइदा उठाउँदै झा भारत फरार भएका थिए । उनी त्यहाँ तीन–चार महिनासम्म लुकेर बसेपछि मात्रै पुनः विराटनगर फर्किएका थिए ।

पुनः फर्किएपछि झालाई जेठ ८ गते पक्राउ गरेर उच्च अदालत विराटनगरमार्फत म्याद थप गरी थप अनुसन्धान थालिएको थियो । अनुसन्धानका क्रममा झाले भारतबाट न्युट्रास्युटिकल सामग्री ल्याएर नेपालमा बजार मूल्यको दशगुणासम्म मूल्य तोकेर बिक्री गरेको पुष्टि भएको छ ।
अनुसन्धानबाट झाले भारतबाट न्युट्रास्युटिकल आयात गर्ने सप्लायर्सको व्यवसाय विगत एक दशकदेखि संचालन गर्दै आएका थिए । उनी भारतबाट न्युट्रास्युटिकल सस्तो मूल्यमा ल्याएर नेपालमा स्वनिर्धारित मूल्यमा बेच्ने गर्थे । वैध देखाउन थोरै परिमाणमा भन्सार तिरेर ल्याउने र ठूलो भाग तस्करीबाट ल्याउने गरेको अनुसन्धानकर्ताहरूले बताएका छन् ।

एक अनुसन्धान अधिकृतका अनुसार, ‘झाको घरमा छापा मार्नुअघि एक भरिया पक्राउ परेपछि ठूलो परिमाणमा म्याद सकिएका न्युट्रास्युटिकल चोरी तस्करीको बाटोबाट आउने गरेको पत्ता लागेको हो ।’

झाले म्याद सकिएका उत्पादनमा केमिकल प्रयोग गरेर पुरानो मिति मेटाउने र त्यसमा नयाँ मिति टाँस्ने काम व्यवस्थित रूपमा गर्दै आएको पुष्टि भएको छ । उक्त गोदामबाट उत्पादन मिति, म्याद सकिने मिति र मूल्य टाँस्न प्रयोग गरिने स्टिकरहरू समेत बरामद गरिएको थियो ।

यस घोटालामा केही चिकित्सकहरूको संलग्नता रहेको पनि अनुसन्धानमा खुलेको छ । स्वास्थ्य क्षेत्रका विज्ञहरूका अनुसार, झाले भारतमा ५० रुपैयाँ पर्ने न्युट्रास्युटिकल नेपाल ल्याएर पाँच सयसम्मको दरमा बिक्री गर्ने गर्थे । उनीहरुले बिक्रीका लागि भ्याट बिल प्रयोग नगरी ‘प्यान बिल’ दिने गरेका थिए ।

यसरी, झाको व्यवसायिक शैलीले एकातिर सरकारलाई राजस्वमा ठगिएको थियो भने अर्कोतिर बिरामीमाथि अनावश्यक आर्थिक भार बढाएको छ । म्याद सकिएको खाद्य पूरक पदार्थ सेवन गर्दा स्वास्थ्यमा गम्भीर असर पर्ने चिकित्सकहरूले बताएका छन् ।

न्युट्रास्युटिकल बजारमा नियमनको खाँचो

न्युट्रास्युटिकल बजारमा नियमनको अभावका कारण यसप्रकारको ठगी बढेको स्वास्थ्य क्षेत्रका जानकारहरु बताउँछन् । सस्तोमा आयात गरेर म्याद फेरबदल गरेर महँगोमा बिक्री गर्ने प्रवृत्तिले स्वास्थ्य क्षेत्रप्रति जनताको विश्वास कमजोर भएको छ । साथै, गैरकानुनी रूपमा चिकित्सकसँग मिलेर सिफारिस गराउने प्रवृत्तिले चिकित्सकको नैतिकता माथि पनि प्रश्न खडा भएको छ । सरकारले यस्ता आपराधिक गतिविधिमा संलग्न व्यापारीहरूलाई कडाभन्दा कडा कारबाही गर्नु आवश्यक देखिन्छ । झा प्रकरणले बजारमा कस्तो प्रकारको स्वास्थ्य जोखिम लुकेको छ भन्ने संकेत दिन्छ ।

बिहिबार, ३० जेठ, २०८२, बिहानको ०८:३४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर