सुनसरीबाट अवैध बिउ बरामद

बिउ उत्पादकहरू नै ठगी धन्दामा । कृषि सामाग्री कम्पनीले नै बिनादर्ताका व्यवसायिलाई बिउ बेच्छ

विराटनगर । सुनसरीको विभिन्न स्थानबाट ठूलो परिमाणमा अवैध बिउ बरामद भएको छ । कोशी प्रदेश सरकार उद्योग कृषि तथा सहकारी मन्त्रालयको टोलीले अबैध बिउ बरामद गरेको हो ।

मन्त्रालयका बाली विकास अधिकृत योगेन्द्र यादव र बिउ निरीक्षक पुरुषोतम जोशीको नेतृत्वको अनुगमन टोलीले शुक्रबार १ हजार २५ किलोग्राम अवैध धानको तथा अन्य बालीका जातको बिउ बरामद गरेको हो ।

कृषि मन्त्रालयका सचिव डा.शरणकुमार पाण्डेले दिएको जानकारी अनुसार बिबि ११ जातको धानको बिउ ९२० किलो, एमटियु ७०२९ जातको बिउ ३० किलो, कोमल १०१ किलो, सोना मन्सुली ६५ किलो र तरकारीको म्याद गुज्रेको बिउ ४ किलो रहेको छ । राष्ट्रिय बिउ विजन कम्पनी प्रा.लि. मोरङ, कृषक बिउ उत्पादक समूह गौरादह–६ झापा, भूमि सिड मोरङ विराटनगर, कञ्चन बिउ उत्पादक उद्योग प्रा.ली. मेचीनगर झापा, मेची कृषक बहुमुखी सहकारी संस्था लि. मेचीनगर झापा, तमोर बिउ उत्पादक बिर्तामोड–७ झापा, इस्ट वेष्ट सिड कम्पनी, विराटनगरले अबैध बिउ पठाएको खुलेको छ ।

यस्तै कृषि सामग्री कम्पनी लिमिटेड इटहरीबाट बिउ व्यवसाय प्रमाणपत्र नभएका व्यसायीलाई पनि धानको बिउ उपलब्ध गराएको भेटिएको जोशीले बताए । जसमा भोक्राहा नर्सिंङ गाउँपालिकामा एक जना व्यवसायीलाई यसरी धानको बिउ उपलब्ध गराएको पाइएको हो ।

नेपालमा सूचीकृत तथा दर्ता नगरिएका बिउ बिक्री वितरण गर्न पाइँदैन । अवैध बिउहरु विक्री हुने गरेको किसानबाटै गुनासो आएपछि आफूहरुले अनुगमनका लागि टोली परिचालन गरेको मन्त्रालयका सचिव पाण्डेले बताए । हालसम्म बिउ बिक्रेताहरुले किसानलाई ठगेर विभिन्न जातका धानको बिउ बिक्री वितरण गरिरहेका थिए ।

नेपाली बिउ उत्पादकहरुले पनि सूचिकृत तथा दर्ता नभएका बीउहरू उत्पादन गरेर बजारमा पठाएको भेटिएको हो । बिउ बिझन ऐन २०४५ तथा कोशी प्रदेश बिउ विजन ऐन २०८१ तथा बिउ बिजन नियमावली २०८१ का यसरी विक्री वितरण गर्न नपाउने व्यवस्था गरेको छ ।

प्रदेश सरकारले प्रदेश बिउ विजन २०८१ र प्रदेश जीवनाशक विषादी ऐन २०८१ जारी गरिसकेको छ । मन्त्रालयले उक्त ऐन कार्यान्वयन गराउन बिउ विजन प्रयोगशाला झुम्काको प्रतिनिधि, कृषि ज्ञान केन्द्र सुनसरीको प्रतिनिधि र मन्त्रालयको वाली विकास अधिकृत योगेन्द्र यादव र बिउ निरीक्षक पुरुषोतम जोशीलाई अनुगमनको लागि पठाएको हो ।

अनुगमन गर्दा बिउ व्यवसायीहरुले अनुमति पत्र नवीकरण नगरेको, अनुमति पत्र नलिई बिउ विजन बिक्री गरेको र स्थलगत पसलमा जाँदा टोली आएको थाहा पाएपछि धेरै पसल बन्द गरेर व्यवसायीहरु हिँडेका थिए । ‘कोशी गाउँपालिकामा एउटा पसल अनुमति नलिइ सञ्चालन गरेको र भोक्राहा नर्सिङ गाउँपालिकामा पुग्दा सबै पसल बन्द गरेसकेको तर सूचिकृत नभएको बिउ पसल बाहिर नै छोडेको थियो,’ बिउ निरीक्षक जोशीले भने, ‘वडा अध्यक्षको रोहबरमा जफत गरेका छौं ।’

प्रदेश बिउ बिजन ऐनको दफा ११, १२, १३ मा सूचित वा पञ्जिकृत बिउ बिजन मात्रै विक्री वितरण गर्न पाइने, बिक्रीका लागि अनुमति लिनुपर्ने, अनुमतिपत्रको नियमित नविकरण गर्नुपर्नेलगायतका व्यवस्था छ । यदि कानून विपरीत कार्य गरेमा अनुमतिपत्र खारेज गर्न सक्ने व्यवस्था प्रदेश बिउ बिजन ऐनको दफा १४ मा उल्लेख छ ।

अनुमति नलिइ, सूचिकृत नभएका बिउ विक्री गरेका कारण किसानलाई क्षति भए क्षतिपूर्ति भराउने पनि दफा २३ मा कानुनी व्यवस्था छ । त्यस्ता मुद्दा भने प्रदेश बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्रले गर्नेछ । केन्द्र नरहेको अवस्थामा बिउ बिजन प्रयोगशालाले नै केन्द्रको अधिकार प्रयोग गर्ने व्यवस्था छ ।उक्त ऐनको दफा २६ मा दण्ड र सजायको व्यवस्था छ । जहाँ अनुमति बिना उत्पादन गर्ने, विक्री गर्नेलाई ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिमाना गर्नसक्ने व्यवस्था छ

जेष्ठ ११, २०८२, बिहानको ०९:३१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर