नयाँ गभर्नरलाई नेप्सेको रातो झण्डा

विराटनगर । नेपाल राष्ट्रबैंकका गभर्नर डा.विश्वनाथ पौडेललाई सेयरबजारले रातो झण्डा देखाएको छ । पौडेल नियुक्त हुने चर्चा भएको दिन मंगलबार बढेको शेयर बजार उनको नियुक्ति र सपथपछि भने बुधबार घटेर बन्द भएको हो ।
बुधबार परिसूचक नेप्से सुरुवातमा बढेपनि अन्तिममा राताम्मे बनेर बन्द भएको छ । यस दिन नेप्से ६.९३ अंकले घटेर २६७०.५१ अंकमा बन्द भएको हो ।

गभर्नरमा डा.पौडेल नियुक्त भएसँगै त्यसको प्रभाव बजारको सुरुवातमा परेको थियो । बजार खुलेको ४ मिनेटमा ८३ अंकले नेप्से बढेको थियो । तर, त्यसपछि तुरुन्तै सम्हालिएको बजार अन्तमा भने राताम्मे बनेर बन्द भएको हो ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन अर्थात मंगलबार ७ अर्ब ३१ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१६ स्टकको ८८ हजार १२१ पटकको कारोबारमा १० अर्ब ६९ करोड ८६ लाख ५१ हजार रुपैयाँबराबरको २ करोड ३० लाख २६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको शेयरमूल्य यस दिन ८४ रुपैयाँ ६० पैसा बढेर ९३१ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको हो ।

त्यसैगरी, यस दिन सिन्धु विकास बैंकको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब ५ प्रतिशत बढेको छ । कारोबारमा आएको श्वेत गंगा हाइड्रोपावर एणड कन्स्ट्रक्सन शेयरमूल्य यस दिन सर्वाधिक ८.३२ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ७१ करोड ३ लाख ६ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । त्यस्तै, यस दिन माउन्टेन इनर्जी नेपालको ५९ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने ङादी ग्रुप पावरको करिब ५८ करोडको शेयर किनबेच भएको छ ।

बजारका १३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ । यस दिन बैंकिङ्ग, विकास बैंक र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको हो । यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १ प्रतिशत घटेको छ ।

बुधबार, ०८ जेठ, २०८२, साँझको ०५:२८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर