उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–२ र ४ को बीचमा पर्ने लामाखोला किनारमा रहेको बरपानी गाउँमा भएको अवैध उत्खनन बारे नगरपालिकाले उत्खननमा अनियमितता भए कानुन बमोजिम कारवाही हुने बताएको छ ।
नगरपालिकाका प्रवक्ता प्रकाश राउतद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट स्थलगत निरीक्षण भइ अनुसन्धान तहकिकातको काम भइरहेको हुँदा उक्त अख्तियारको अनुसन्धानलाई यस नगरपालिकाको तर्फबाट सकारत्मक रुपमा स्र्विकार गर्दै अनुसन्धान तहकिकातलाई सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्दछौँ । यदी अनियमितता भएको पाइएमा संलग्न सबै पक्षलाई कानुन बमोजिम हुने कुराको प्रतिवद्धतासमेत जाहेर गर्दै आम जनसमुदायमा भ्रमको पछि नलाग्नसमेत हार्दिक अपिल गर्दछौँ ।’
आन्तरिक राजश्व वृद्धि गराई नागरिकको आवश्यकता र विकासको लागि स्रोत परिचालन हुने अभिप्रायले नगरपालिकाले जग्गाधनीहरूसँग समन्वय गरेर उक्त क्षेत्रको गिट्टी उत्खननको कार्य गरेका दाबी नगरपालिकाको रहेको छ ।
यता नेपाली कांग्रेस चौदण्डीगढी नगर कार्यसमितिले नम्वरी जग्गा हो भनी ऐलानी तथा सार्वजनिक जग्गाबाट ठेकेदारलाई जथाभावी उत्खनन गर्न दिएको र विरोध गर्ने स्थानीयलाई हातपात गरेको र धाकधम्की दिएकोप्रति विरोध जनाएको छ ।
लामाखोलाबाट नदीजन्य गिट्टी, बालुवा उत्खनन गर्दा घरमा खोलो पस्ने, कुलोमा पानी नचढ्ने भएको समस्या पनि उजागर विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘उत्खनन कार्य गर्न नम्वरी जग्गामा हो भनि ऐलानी जग्गा ठेक्का दिने चौदण्डीगढी नगरपालिका तथा ठेक्का लिने ठेकेदारलाई कानुनबमोजिम कारवाही होस भनि सम्बन्धीत निकायसँग अनुरोध गर्दछ । साथै नेपाली कांग्रेस पार्टीको नाम जोडी संलग्न भएको मिथ्या रहेको र जो कोहीले नेपाली कांग्रेस पार्टीको नाम दुरुपयोग गरी नजायज व्यक्तिगत आर्थिक फाइदा लिएको भए निजलाई कानुन बमोजिम सक्त कारवाही होस भनि यो विज्ञप्ति जारी गरिएको छ ।’
अवैध उत्खननमा कांग्रेससहित नेकपा माओवादी केन्द्र लगायतका दल पनि संलग्न रहेको आरोप छ । माओवादी केन्द्र चौदण्डीगढी नगरपालिकाका नगर अध्यक्ष दिनेश राईले अवैध उत्खननको आफु व्यवस्थापक रहेको यस अघि नै स्विकार गरिसकेका छन् । तर, माओवादी नगरपालिका अध्यक्ष राईले आफु व्यवस्थापक नभएको भन्दै विज्ञप्ति जारी गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘नगरभित्र भएको विभिन्न बेतिथि र विसंगतिको विरुद्धमा हाम्रो पार्टी जोडदार संघर्ष गर्दै आएको स्मरण गराउँदै ढुङ्गा, गिट्टी उत्खनन तथा संकलनगरी विक्री वितरणको विवादित विषयमा सम्वन्धित निकायले छानबिन भइरहको छ, सो विषयमा कानुन विपरित ठहरिएमा जो कोहीलाई कारबाही गर्न यसै विज्ञप्तिमार्पmत माग गर्दछौं ।’
नगरपालिकामा मेयर, उपमेयर, बहुमत वडाअध्यक्ष तथा कार्यपालिका सदस्य नेकपा एमालेको रहेको छ । नगरपालिकाकै मेयर कालुमान लामाले नातामा भतिज पर्ने आप्mनै स्वकीय निरज घिसिङ (तामाङ) को फर्म साङ्गे छोयलिङ्ग कन्सट्रक्सन प्रालिलाई ठेक्का दिएर उत्खनन गरेका थिए ।
त्यसपछि अवैध उत्खनन र राजस्व छली भएको भन्दै चौदण्डीगढी नगरपालिका–७ का वडाअध्यक्ष केशव अधिकारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीमा उजुरी दिएका थिए । उजुरी पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापजाँच गर्नुको साथै वन, ऐलानी, सार्वजनिक जग्गा र नम्वरी जग्गा यकिन गरेको थियो । उजुरी कर्ता अधिकारी भन्छन्, ‘नम्वरी भनिएको जग्गा पनि नक्कली फेला परेको थियो । यता आइइई (प्रारम्भिक वातावरणीय मुल्यंकन) एकतिर उत्खनन पनि पनि अर्कोतरि भएको पाइएको थियो ।’
अधिकारीले थप्दै भने, ‘नम्वरी भनेर नगरपालिकाले उत्खनन् गर्न दिएको सात घरको जग्गामध्ये बेदबहादुर मगर, दिलबहादुर मगर, लालबहादुर कामीको जग्गा नम्वरी भएको र आइइइ पनि गरेको देखियो । तर, उत्खनन् खोलको बाँध र वन क्षेत्रमा गरेको भेटियो । नम्वरी भनिएको जग्गा छविलाल राई, मैनाकला राई, गोबिन्दबहादुर विष्ट, सरस्वती विष्टको जग्गा भेटिएन ।’
यता माडिबास खोला नजिक रहेको धग्गा धनीको नाम नखुलेको १० कठ्ठा जग्गामा आइइई गरेको तर, वन र खोलाक्षेत्रमा गएर उत्खनन् गरेको पाइएको वडाअध्यक्ष अधिकारीको दाबी छ । चौदण्डीगढी नगरपालिकाकै वडा नम्वर ५, ६ र ७ वडाको करमेजखोला, द्वारखोल क्षेत्रमा उत्खनन गरिएको क्षेत्रको पनि गोप्य रुपमा उजुरी परेको थियो । त्यसको पनि गत बुधबार अख्तियारको टोलीले नापजाँच गरेको थियो ।