विराटनगर । ६ दशकदेखि चियारोपण, प्रशोधन, बजारीकरण र निर्यातमा योगदान गरिरहेका उद्योगी रामकुमार राठीलाइ सरकारले ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरेको छ ।
राठीलाइ ‘२९औं राष्ट्रिय चिया दिवस’ का अवसरमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डले अवार्ड प्रदान गरेको हो । कृषि तथा पशुपन्छी विकासमन्त्री एवं बोर्ड अध्यक्ष रामनाथ अधिकारी र बोर्ड कार्यकारी निर्देशक फाइन्द्रराज पाण्डेले राठीलाइ दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका हुन् ।
राठी नेपालको पहिलो टि–टेस्टर (चिया परीक्षक) हुन् । उनले टेस्टिङ प्लान्टेसन एन्ड म्यानुफ्याक्चरिङमा स्नातकोत्तर गरेका छन् । २५ वर्षको उमेरमा चीन गएका बेला त्यहाँको टि–टेस्टिङ हेरेपछि उनी यस क्षेत्रतर्फ आकर्षित भएका थिए । चीनबाट फर्केलगत्तै राठी इलाम टि गार्डेन पुगेर त्यहाँ प्रबन्धकका रूपमा कार्यरत बेलायती नागरिक प्रोसरबाट चियाबारे आधारभूत ज्ञान लिए ।
२०३३ सालमा हिमाल चिया उद्योग प्रालि स्थापना गरेका राठीले २०४६ सालमा पहाडी भेगमा नेपालभरिमा निजी क्षेत्रबाट चिया उत्पादन गर्ने पहिलो कारखाना इलाम मालुममा हिमालयन रेन्ज चिया उद्योग प्रालि स्थापना गर्न सफल भएका थिए । उनले २०६३ सालमा झापा हल्दीबारीमा सीटीसी चिया उत्पादन गर्न सुनकोशी चिया उद्योग स्थापना, २०७२ मा इलामको शान्तिडाँडामा अर्गानिक चिया उत्पादन गर्ने हिमालयन भ्याली प्रालि उद्योग स्थापना गरे । हाल उनले ‘राकुरा’ ब्रान्डमा सीटीसी र अर्गानिक चिया उत्पादन, निर्यात गर्दै आएका छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।