विराटनगर । शनिबार बिहान ६ बज्दा नबज्दै मोरङ बेलबारी २ को लालभित्ती चोकमा रहेको लाक्पा सरको पसल अगाडि ठूलो भीडा लागेको थियो । पसल बन्द थियो तर पसल बाहिर सयौंको भीड जम्मा भइसकेको थियो । लाक्पा भोटिया सरकारी कर्मचारी हुन् । उनले लालभित्ती चोकमै कृषिको बिउ बिजन तथा किटनासक औषधिको पसल राखेका छन् । उनको पसल जाने बाटो निर्माणधीन अवस्थामा रहेकाले बन्द छ ।
पूर्वपश्चीम राजमार्गबाट नै उनको पसल हेरेर बस्नेको सख्या झन्डै सय जना भन्दा बढी थिए । लाक्पा भोटीया र उनकी पत्नी रिनेम भोटिया हाँस्दै बिहान ७ बजेतिर पसलमा आए । पसल अगाडि भेलाभएकाहरु प्रायः उनीहरुले चिनेजानेकै थिए । त्यसैले सामान्य सत्कार गर्दै दम्पतिले नमस्कार सम्बोधन गरिरहेका थिए । पसलमा आएका ग्राहकहरु लाक्पा दम्पतिलाई बढो इज्जत गरिरहेका थिए मानौं उनी देवता हुन् र उनीहरुको समस्या तुरुन्त समाधान गरिदिन्छन् ।
त्यो भीड अरु कामका लागि नभएर खेतबारीमा लगाएको बालीमा हाल्ने मलको जोहो गर्नका लागि थियो । उनीहरुमध्ये धेरैलाई युरिया मल आवश्यक परेको थियो । त्यसैले लाक्पा दम्पति त्यहाँ जम्मा भएका मानिसहरुलाई मल आइपुग्ने बेला भयो, आइहाल्छ भन्दै सान्त्वना दिइरहेका थिए र लाइनमा मिलेर बस्न अह्राइरहेका थिए ।
लाइनमा युवा उमेरकादेखि वृद्धवृद्धासम्म उभिएका थिए । उनीहरुले सरकारलाई गाली गर्दै आफूले खेपेको हैरानीबाट पाएको सास्तीबाट उत्पन्न आवेग सान्त पारिरहेका थिए । ‘कृषकलाई मल नदिनेले पछि चाहिँ के खान्छन् कुन्नी’ भन्दै कोही हल्ला गरिरहेका थिए । ‘कसैकसैले देश लुटेकै छन् उनीहरु त खाइहाल्छन् नि हामी निमुखाका लागि पो कोही छैन त !’ भन्दै गुनासो गरिरहेका थिए ।
त्यसमध्येका आधाजति किसानहरु तीन दिनदेखि यसैगरी लाइनमा बसेका थिए । तर उनीहरुले मल पाएका रहेनछन् । लाइनमा बसेर बल्लतल्ल पालो आयो भने पनि जम्मा एक जना किसानको भागमा १० किलो युरिया पर्ने रहेछ । १० किलो मल प्राप्त गर्न नेताको सोर्स लगाउने परेको दुखेसो प्रेम राईको थियो । ६५÷७० वर्षका जस्ता देखिने राईले स्थानीय नेताहरुलाई मल भनिदिन आग्रह गरेको बताए । ‘शुक्रबार मल आउँछ भन्ने हल्ला थियो,’ राईले भने ‘वडा कार्यालयको सिफारिसमा मात्र मल उपलब्ध गर्ने नियम बनाएका रहेछन्, म पनि बिहीबार सिफारिस बनाउन भनेर गएँ तर त्यस दिन दिएनन् शुक्रबार आउनु भनेर पठाए । शुक्रबार फेरि गएर एउटा कागजको टुक्रो लिएर आएँ बल्लतल्ल आज १० किलो मल पाइयो ।’
मल प्राप्त गर्नुअघि वडा कार्यालयबाट कुपन लिनैपर्ने बाध्यात्मक व्यवस्थाले किसानलाई मलकै लागि चारतिर धाउनु पर्ने झन्झट आइलागेको गुनासो उनीहरुले गरेका छन् । वडाका जनप्रतिनिधिहरूले पार्टीका आफन्तहरू र उनीहरूका घरमा कोठा भाडामा बस्नेहरूलाई प्राथमिकता दिने गरेकाले मलको थप हाहाकार भएको स्थानीयको गुनासो छ ।
‘हामीले मत दिएर जिताएकाले नै आफ्ना आफन्त र पार्टीका कार्यकर्ताहरुलाई बोलाएर कुपन दिएछन्, तर साधारण किसानहरूलाई भने घण्टौं कुराए’ मल लिने लाइन बसेको एक युवाले भने । उनले आप्mनो नाम खुलाउन भने मानेन् । नाम आएपछि जनप्रतिनिधिहरुले अझ असहयोग गर्ने उनले बताए । वैशाकको चर्को धूपमा लाइनमा बसेका स्थानीयहरु मल नपाएकोमा त्यतिकै आक्रोशित थिए । त्यसमा पनि सयौंको भीडमा राजनीतिक कुराले उनीहरुलाई अझ आक्रोष थपिरहन्थ्यो । उनीहरु भन्थे, ‘यिनीहरुलाई अब २०८४ को चुनावमा नदेखाइ भएन ।’
वार्षिक रूपमा दोहोरिने यो समस्याले किसानहरूको उत्पादकत्वमा प्रत्यक्ष असर पार्ने अगुवा किसानहरु बताउँछन् । १० किलो मल लिनका लागि पनि समूह खडा गर्दा झ् समस्या भएको स्थानीय सर्मिला खरेलले बताइन् । ‘वडाले १०÷१० किलोको कुपन दिएको थियो । ५ जना मिलेपछि मात्रै एक बोरा मल पाइयो । यस्तो दुःख कमसेकम पोहोरपरार भोग्नु परेको थिएन’ उनले भनिन् ।
मकै, चैते धान, उखुलगायतका बालीका लागि यतिबेला मल चाहिएको छ । तर, किसानहरुले भने चाहिएको बेलामा मल पाउदैनन् । मकैमा धान चमरा आइसक्दा पनि चाहिए जति मल नपाएको भन्दै किसान चिन्तीत बनेका छन् । ‘मकैको घोगा लाग्ने बेलामा मल लगाउनु पर्छ,’ बेलबारी २ कै तिलकबहादुर खत्रीले भने‘ चिनी दिए जसरीे मल दिन्छन् अनि कसरी बाली उत्पादन हुन्छ । मल लिन पनि युद्ध जिते जस्तै हुन थालेको छ ।’
मल वितरण प्रणालीमा देखिएका अव्यवस्थाले आम किसानहरू पीडित बनेका छन् । समयमा मल नपाउँदा बालीको उत्पादकत्व मात्र घट्ने होइन, किसानहरू कृषि पेशाबाट विमुख हुने अबस्था आउने अगुवा किसानहरु बताउछन् ।
बेलबारीका मात्र नभई देशभरका किसानहरूले यस्तै समस्या भोगिरहेका छन् । कृषिमा आत्मनिर्भरताको नारा दिने सरकारले किसानको हितमा काम गर्न नसकेको आरोप लाग्ने गरेको छ ।
किसानहरुले मल नपाएको समस्या यो पहिलो भने होइन । वितेका २ वर्ष केहि सहज भएपनि त्यसपछि भने सहज र सरल तरीकाले मल पाउन नसकेको किसानहरुले बताएका छन् ।