विराटनगर । सुनसरीको धरान–६ मा रहेको पाँचकन्या सामुदायिक वनमा सोमबार मृत फेला परेकी महिलाको पहिचान खुलेको प्रहरीले जनाएको छ । सुनसरीका प्रहरी प्रवक्ता डिएसपी योगराज खतिवडाले मृतक महिला धनकुटा महालक्ष्मी नगरपालिका–१ की ३४ वर्षीय चुनुकुमारी दाहाल रहेको जानकारी दिए । ती महिलाको सनाखत उनकै भाई लिलबहादुर दाहाल र ससुराले सनाखत गरेको खतिवडाले बताए ।
मृतक महिला दुई वर्ष अगाडिदेखि इटहरीको हलगडामा बसोबास गर्दै आएकी थिइन् । उनको १३ वर्षीय छोरा साथमै रहेका थिए भने श्रीमान कोरियामा रहेको प्रहरीले जनाएको छ ।
घटना शंकास्पद रहेको खतिवडाले बताए । ‘घटना शंकास्पद छ । अनुसन्धान भइरहेको छ,’ डिएसपी खतिवडाले भने ।
दाहालको शरीरमा चोट पटक देखिएको थियो भने अर्धनग्न अवस्थामा थिइन् । प्रारम्भिक अनुसन्धानमा शव केही मिटर घिसारिएको जस्तो देखिएको प्रहरीले जनाएको छ ।
उनको शव वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमका लागि राखिएको छ । पोस्टमार्टम रिपोर्ट आएपछि घटनाको प्रकृति स्पष्ट हुने प्रहरीले जनाएको छ ।