विराटनगर । मलेसियामा पाँच वर्ष बिताएर दुःख भोगेका सरोज श्रेष्ठ अहिले आफ्नै गाउँमा पाँच जनालाई रोजगारी दिँदै स्थानीय उत्पादनलाई ब्रान्डिङ गरिरहेका छन्। मलेसियामा मासिक ३० हजार कमाउने उनी अहिले स्वदेशमै मासिक ५० हजारभन्दा बढी आम्दानी गर्छन् ।
तेह्रथुमको लालीगुराँस नगरपालिकाका श्रेष्ठ वैदेशिक रोजगारीमा २०६५(२०७० सम्म मलेसिया बसे। विदेशमा सम्झौता अनुसारको काम र तलब नपाएपछि गाउँमै केही गर्ने निर्णय गरेका उनले १० वर्षदेखि बिस्कुट उद्योग सफलतापूर्वक चलाइरहेका छन्।
‘विदेशमा खाएको गालीका कारण यहीँ केही गर्छु भन्ने सोच बनाएँ, उनी भन्छन्। दुई लाखमा साथीको बिस्कुट उद्योग किनेर शुरू गरेको व्यवसायमा अहिलेसम्म २० लाख लगानी गरिसकेका छन्। श्रेष्ठको उद्योगले विशेषगरी कोदो, फापर र मकैबाट विभिन्न बेकरी आइटम उत्पादन गर्छ। स्वास्थ्यप्रति सचेत उपभोक्ताको बढ्दो संख्यालाई लक्षित गरी एक वर्षअघि शुरू गरिएको कोदोको बिस्कुटले बजारमा राम्रो स्थान बनाएको छ।
‘तराईमा बुझ्दा अर्गानिक पसलतिर मान्छेको भीड लागिरहेको देखियो। शहरमा बस्नेले अर्गानिक खोज्न थाले,’उनी बताउँछन्।
श्रेष्ठले आफ्नो व्यवसायका लागि नगरपालिकाकै किसानबाट हप्ताको डेढ सय किलो कोदो खरिद गर्ने गरेका छन्। फापर ताप्लेजुङ तथा पश्चिमका जिल्लाबाट मगाउँछन्, तर स्थानीय किसानले उत्पादन गरे बजारको जिम्मा आफू लिने बताउँछन्।
उनको उद्योग पर्यटकीय क्षेत्र टिएजे जाने प्रवेशद्वारमा नै भएकाले पर्यटकको रोजाइमा पनि बिस्कुट पर्न थालेको छ।‘स्थानीय क्षेत्रमा उत्पादन भएका वस्तु नै प्रमोट गर्ने लक्ष्य राखेको छु। बिस्तारै बेकरी आइटममा मैदा, आटा हटाउने तयारी गरेको छु, श्रेष्ठले भविष्यको योजना सुनाए ।
विदेशको पीडादायी अनुभवबाट सिकेर स्वदेशमै सफल उद्यमी बनेका श्रेष्ठको कथा प्रेरणादायी बनेको छ। आफ्नो माटोमा पनि सफलता सम्भव छ भन्ने उदाहरण दिँदै उनले गाउँमै रोजगारी सिर्जना गरिरहेका छन्। बजारसँग प्रतिस्पर्धा गर्नेखालका वस्तु उत्पादन र गुणस्तरमा विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ।