चलचित्र एन्जिलाबारे : ‘एन्जिला’ अक्करमा फुलेकी सुनाखरी फूल

 भक्तशेर लिम्बू

चलचित्र एन्जिला हेर्ने योजना बनाउँदै थिएँ । फिल्म हेरेर फर्किएका दर्शकहरु रुएको भिडियो सामाजिक सञ्जालमा यत्रतत्र देखेर अझ फिल्म हेर्न हतार भयो । तसर्थ फिल्म हलको छनौट गरिएन । विदाको दिन पारेर विराटचोकमा रहेको विराट सिनेमा घरमा सपरिवार गईयो । लामो समय बन्द भई एकदुई वर्ष देखि संचालनमा आएको सिनेमा घरको व्यवस्थापन अलिक फितलो नै थियो । शनिवार भएकोले स्वभावैले भिड हुने भयो नै । फिल्म हल बेलैमा हाउस फुल भएकोले एउटा सिट चाहि प्लाष्टिकको कुर्सी पर्यो । धुलो टक्टकाएर त्यसैमा बसें । त्यहाँ बस्दै गर्दा उहिलेको याद आयो । उहिले बाल्यकालमा तीन रुपैया पच्चीस पैसा तिरेर सेकेण्ड क्लासको बेन्चमा बसेर फिल्म हेरिन्थ्यो, फिल्मको हिरोको फाईट हेरेर आनन्द लिईन्थ्यो । त्यतिखेर फाईट भएको फिल्म औधी मन पथ्र्यो । समय र उमेर संगसंगै अभिरुचीहरु पनि फेरिदो रहेछ । एन्जिला हेर्ने दिन त्यो समयको याद दिलायो ।

चलचित्रको शुरुको दृष्यहरुले अलिअलि हसाउँदै थियो । त्यसपछि विस्तारै सन्नटा छाउँदै गयो । अनि साक्क सुक्क आवाज आउथ्यो । त्यो क्रम चलिरह्यो । फिल्म सकिएपछि बाहिर निस्कने क्रममा पनि दर्शकहरुको आँखा रसिलो देखिन्थ्यो । हुन त कोमल मन भएका मानिसहरु साधारण भावनात्मक दृष्य वा सम्वादमा पनि रुने गर्छन् । तर हामीमाझ यस्तो फिल्महरु पनि प्रसस्तै छन् , जुन फिल्मका पात्र रुईरहेका बेला यता दर्शक चाहि खिलापमा हाँसिरहेका हुन्छन् । तर चलचित्र एन्जिलामा त्यति सहज छैन । चलचित्रमा एन्जिलाको आमाको भूमिका निर्वाह गरेकी सृजना सुब्बाको सम्वादहरुले दर्शकहरुको आखाबाट आसु बगेको पत्तै पाउदैनन् । अनि एन्जिलाको सफलताको क्षणमा पनि दर्शकहरु एकाएक आँसु बग्छ ।

आखिर दर्शक रुवाउने एन्जिला कथा कस्तो छ ?

राष्ट्रिय महिला फुटबल टिमकी क्याप्टेन एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित चलचित्र निर्माण गरिएको छ । ईलामको एउटा गाउँबाट गरेको संघर्षको कथा नै चलचित्रको मुख्य कथाबस्तु हो । गाउँमा जन्मिएकी एन्जिलाको संघर्षमय जीवन कथालाई चलचित्रमा रोचक ढंगले प्रस्तुत् गरिएको छ । जुरापको फुटबल खेल्ने एन्जिलाको तिब्र चाहनाले नै उनलाई संघर्षको सिडी हिड्न सिकायो । जस्तो सुकै परिस्थितिमा पनि उनी फुटबल खेल्न तत्पर रहिन् , संघर्ष गर्न छोडिनन् । एन्जिलाको ईच्छामा उनको साना बा वाधक भएता पनि उनकी आमाले प्राण भर्छिन । आफ्नो कठिन परिस्थितिहरुलाई पन्छाएर पनि सन्तानको रहर पुरा गर्न आमाहरु मरिमेटेर लागिन् । चलचित्रका निर्देशक मिलन चाम्स्ले आमाको ममता, आवेगहरुलाई सरल ढंगले प्रस्तुत् गरिदिएका छन् । लोग्नेबाट हेपिएकी स्वास्नीले लालाबाला हुर्काउदा आईपर्ने समस्याहरु पनि चित्रण गरिएको छ । जुन समस्या एन्जिलाको खेलाडी बन्ने समस्याको वाधक थियो ।

एन्जिलाका साना बाले फुटबल खेल्न नदिने भएपछि आमाको सहयोगमा उनी भागेर काठमाण्डौ जान्छिन् । त्यहाँ पुगेर निरन्तर संघर्ष गर्छिन् । कठिन समय पार गरेर गोल रक्षकको रुपमा एपीएफमा आवद्ध हुन्छिन् । त्यसपछि राष्ट्रिय टिमको क्याप्टेन बन्छिन् । उनलाई गाउँमा ठूलो सम्मानका साथ स्वागत गरिन्छ । विभिन्न पुरस्कारले पुरस्कृत हुन्छिन् । कथा सकिन्छ । कथाको सार यिनै हुन् । यिनै विषयबस्तुलाई चलचित्रका निर्देशक मिलन चाम्स्ले एन्जिलाको वास्तविक संघर्षमय जीवनलाई जस्ताको तस्तै उतारिदिएको छ । चलचित्र आमदर्शकले सोचे भन्दा अत्यन्तै रोचक बनेको छ । सम्वादहरु चोटिला छन् । चलचित्रका पात्रहरुको अभिनय बेजोड छ । फुटबल खेलाडी एन्जिलाको भूमिकामा अत्यन्तै सरल छ । आमाको भूमिका निर्वाह गरेकी सृजना सुब्बाको भूमिका जीवन्त रहेको छ । बुबाको भूमिकामा माओत्से गुरुङ र साना बाको भूमिकामा दयाहाङ राई अभिनय उत्कृष्ट छ ।

समग्रमा चलचित्र राम्रो बनेको छ । चलचित्रले एन्जिलाको जीवन संघर्षबाट समस्याबाट भागेर हैन जुधेर समाधान खोज्नुपर्छ । एउटा लक्ष सहित गरिएको संघर्षले मानिसलाई सफलताको विन्दुमा एक दिन पुर्याउछ भन्ने सन्देश दिएको छ । मानिसमा आशा जगाउने यो एउटा प्रगतिशील चलचित्र पनि हो । अक्करमै फुल्छन् सुनखरी फुल । एन्जिलाको जीवन संघर्षहरुलाई हेर्दा उनी अक्करमा फुलेकी सुनाखरी फुल हुन् । जुनदृष्य चलचित्रमा जस्ताको तस्तै प्रस्तुत् गरिएको छ ।

बुधबार, ०५ चैत, २०८१

प्रतिक्रिया:

सम्बन्धित खवर