विराटनगर । पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता आज आइतबारदेखि विराटनगरमा सुरु हुने भएको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगरको ऐतिहासिक जुट मिल खेल मैदानमा प्रतियोगिता सञ्चालन हुने भएको हो ।
उद्घाटन खेलमा सप्तरीको प्रोगेसिल युवा क्लब फत्तेपुर र उदयपुरको फ्युजन फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । मिल्स गोल्डकप फुटबल ट्रष्टका अध्यक्ष विष्णु डंगोलका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको छ । चैत १० गतेसम्म चल्ने यस प्रतियोगिताको आयोजनाका लागि १५ लाख रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको छ ।
विजेताले १ लाख १ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ५१ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रत्येक खेलको उत्कृष्ट खेलाडीले २ हजार १ सय रुपैयाँ प्राप्त गर्नेछन् । साथै, विधागत पुरस्कार जनही ३ हजार १ सय रुपैयाँ निर्धारण गरिएको छ ।
गत वर्षको प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरीले जितेको थियो । फाइनलमा एपीएफले घरेलु टिम पेमा युवा क्लब विराटनगरलाई ३–१ गोलले पराजित गरेको थियो ।
यस वर्षको प्रतियोगिताले पूर्वी नेपालमा फुटबलको स्तर उकास्न र स्थानीय प्रतिभाहरूलाई अवसर प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्ने ट्रष्टका अध्यक्ष डंगोलले बताए । प्रतियोगिताले खेलाडीहरूलाई आफ्नो कौशल प्रदर्शन गर्ने र व्यावसायिक फुटबलमा आफ्नो पहिचान बनाउने अवसर प्रदान गर्ने उनको भनाइ छ ।
प्रतियोगिताको औपचारिक उद्घाटन विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले गर्ने आयोजकले जनाएको छ ।