विकासको काममा घिनलाग्यो राजनीति !

 सम्पादकीय

नेपालको हरेक क्षेत्र राजनीतिले प्रभावित बनाएको छ । गाउँ तहका उपभोक्ता समिति र वन समितिदेखि न्यायपालिकासम्म राजनीतिकरण भएको छ । राजनीतिकरणको कारण राज्यका संरचनाहरु कमजोर भएका छन् । जसले नागरिक तहमा आक्रोश बढाएको छ । मोरङको धनपालथान गाउँपालिकाको ५ बबिया टोलमा निर्माणाधीन १५ शैय्याको अस्पताल स्थानीय जनताको लागि एक महत्वपूर्ण परियोजना हो । संघीय सरकारको १३ करोड ५९ लाख रुपैयाँको लगानीमा बनिरहेको यो अस्पताल क्षेत्रीय स्वास्थ्य सेवामा सुधार ल्याउने अपेक्षा गरिएको छ । तर, दुर्भाग्यवश, राजनीतिक विवादका कारण यसको निर्माण रोकिएको छ । २०७८ सालमा तत्कालीन गाउँपालिका अध्यक्षहरुद्वारा अस्पतालको शिलान्यास भइसकेको थियो । लामो समयको प्रतीक्षापछि बल्लतल्ल निर्माण कार्यले गति लिएको थियो । तर, अहिले पुनः शिलान्यास गर्ने विषयमा विवाद उत्पन्न भएपछि काम नै ठप्प भएको छ ।

वर्तमान गाउँपालिका अध्यक्ष जिबछप्रसाद गच्छदारले पुनः शिलान्यास गर्ने तयारी गरेपछि वडाध्यक्ष गयानन्द सरदारको कडा विरोध देखिएको छ । उनले यसलाई अनावश्यक र राजनीतिक स्वार्थ प्रेरित निर्णय भनेका छन् । स्थानीय जनप्रतिनिधिहरूबीचको यस खिचातानीको मारमा आम जनताले ठूलो क्षति व्यहोर्नुपरेको छ । धनपालथानका बासिन्दाहरू स्वास्थ्य सेवाका लागि विराटनगरसम्म पुग्न बाध्य छन् । यो अस्पतालको निर्माण सम्पन्न भइ सञ्चालनमा आएमा हजारौं नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा आफ्नै गाउँमा पाउनेछन् । तर, दोहोरो शिलान्यासको विषयलाई लिएर उत्पन्न विवादले यो महत्वपूर्ण परियोजना अन्योलमा परेको छ । राजनीतिक स्वार्थका कारण अस्पताल निर्माण प्रभावित हुनु अत्यन्तै दुःखद कुरा हो । यो समस्या समाधान नगरे अस्पताल तोकिएको समयमा सम्पन्न नहुने निश्चितप्रायः छ ।

सार्वजनिक सेवा परियोजनाहरूमा राजनीतिक हस्तक्षेप हुनु दुर्भाग्यपूर्ण छ । अस्पताल निर्माण जस्तो जनताको आधारभूत आवश्यकतालाई पूरा गर्ने कार्य कुनै पनि दल वा व्यक्तिको व्यक्तिगत उपलब्धी होइन । यो समग्र समुदायको हकको विषय हो । राजनीतिक दल र जनप्रतिनिधिहरूले स्वार्थभन्दा माथि उठेर जनताको हितलाई प्राथमिकता दिनुपर्छ । सबै पक्षहरूबीच समन्वय गरी निर्माण कार्यलाई पुनः सुचारु गर्नुपर्दछ । दोहोरो शिलान्यासको विवाद सुल्झाएर, आवश्यक बजेट व्यवस्थापन गरी, निर्माण व्यवसायीलाई तोकिएको समयमा भुक्तानी दिनुपर्छ । स्थानीय बासिन्दाहरूले पनि आफ्नो आवाज बुलन्द गरी अस्पताल निर्माणलाई अघि बढाउन दबाब सिर्जना गर्न आवश्यक छ । विकास निर्माण र त्यसमा पनि सार्वजनिक स्वास्थ्य पूर्वाधारलाई राजनीतिभन्दा माथि राख्नु अपरिहार्य छ । धनपालथानका जनताले लामो समयदेखिको संघर्षपछि अस्पतालको सपना देखेका छन् । अब यो सपना विवादका कारण अधुरै रहनु हुँदैन । सम्बन्धित निकायहरूले गम्भीर ध्यान दिएर समस्याको यथाशीघ्र समाधान खोज्नुपर्ने देखिन्छ ।

आइतबार, ०२ चैत, २०८१

प्रतिक्रिया:

सम्बन्धित खवर