विराटनगर । विराटनगर भन्सार कार्यालयबाट नापजाँच भएर निस्किएको विद्युतिय सामाग्री बोकेको मालवक ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।भन्सार छलेको आशंकमा इलका प्रहरी कार्यालय रानी विराटनगरले ४५ लाख रुपैयाँ मूल्य बराबरको विद्युतीय सामाग्री बोकेको ट्रक सोमबार साँझ विराटनगर– १८ आइसिपी अगाडिबाट नियन्त्रणमा लिएको हो ।
भन्सारबाट जाँचपास भएको भन्दा बढी परिमाणको सामान ल्याइएको सूचनाका आधारमा प्रहरीले भारतीय नम्बर प्लेटको युपी ८७–९१८१ नम्बरको ट्रकसहित सामान र चालकलाई नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । ट्रकमा भन्सारबाट पास गरिएकोभन्दा बढी मूल्यका सामानहरु रहेको सूचना आएपछि इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक प्रकाश थापा नेतृत्वको टोलीले ट्रक नियन्त्रणमा लिएको हो ।
जोशीका अनुसार ट्रकमा विद्युतीय, फुड सप्लिमेन्ट्री, श्रृंगारका सामान, मेडिकल उपकरणजस्ता वस्तु लोड गरिएको प्रज्ञापन पत्रमा उल्लेख छ । ४५ लाख रूपैयाँ बराबरको सामान र ट्रकसहित चालक भारतीय नागरिक ३५ वर्षीय मोहमद अस्लाम नियन्त्रणमा छन् ।सामान लोड गरिएको ट्रक र चालक अस्लामलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान एवं कारबाहीका लागि मंगलबार राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको प्रहरीले जनाएको छ । ट्रकमा आएको सामान कसको हो भनेर यकिन भइनसकेको प्रहरीको भनाइ छ ।
प्रहरीले नियन्त्रणमा लिएर बुझाएको ट्रकको विषयमा राजस्व अनुसन्धान कार्यालय सुनसरी इटहरीले थप अनुसन्धान सुरु गरेको छ । अनुसन्धान पुरा गरेपछि मात्रै राजस्व छली भए नभएको पत्ता लाग्ने राजस्व अनुसन्धान कार्यालयले जनाएको छ ।
विराटनगर भन्सार कार्यालयका प्रवक्ता सुमित गुप्ताले भन्सार जाँचपास भएर निस्किएको ट्रक अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिनु सामान्य प्रक्रिया भएको बताएका छन् । ‘यो नियमित र सामान्य प्रक्रिया हो । शंका लागेमा कुनै गाडीलाई प्रहरीले अनुसन्धानको दायरामा ल्याउन सक्छ,’ उनले भने ।
गुप्ताले काम गर्ने क्रममा केही कमजोरी भएपनि तस्करीलाई प्रश्रय दिने खालका कुनै गतिविधि भन्सारबाट नभएको दावी गरे । ‘पहिलेको प्रमुख सरुवा भएर जानु भएको छ । सोमबारदेखि नयाँ प्रमुख आउनु भएको छ’ उनले भने, ‘भन्सारबाट तस्करी हुने कुरा सम्भव छैन ।’विराटनगर भन्सार प्रमुखका रूपमा उमेश श्रेष्ठ आएका छन् । यसअघिका प्रमुख ज्ञानेन्द्र ढकालले सोमबारदेखि औपचारिक हिसाबले बिदा लिएका छन् ।