कोशी खेलकुद महोत्सवको तयारी पूरा

विराटनगर । प्रथम कोशी खेलकुद महोत्सव – २०८१ को तयारी पूरा भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डले आइतबार पत्रकार सम्मेलन गर्दै फागुन १३ गते देखि १८ गतेसम्म सञ्चालन हुने खेल महोत्सवको तयारी पूरा भएको जानकारी गराएको हो ।

कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) ले बोर्डको २६ औं बैठकको निर्णय अनुसार बोर्डको वार्षिक कार्यक्रममा रहेको विभिन्न खेलका प्रतियोगिताहरु सम्मलित महोत्सव आयोजना गरेको बताए । महोत्सवमा १४ वटै जिल्लाका खेलाडीको सहभागिता हुने जानकारी दिँदै उनले १ करोड ७८ लाख खर्च हुने अनुमान बोर्डले गरेको बताए ।
कोशी प्रदेशका सामाजिक विकास मन्त्री तथा बोर्डका अध्यक्ष पाँचकर्ण राईले कोशी प्रदेशमा नियमित खेल गतिविधि हुँदा यस्ता गतिविधिले कोशी प्रदेशलाई १० औं राष्ट्रिय खेलकुद प्रतियोगितामा अधिक पदक जित्न सहयोग पुग्ने बताए । नियमित खेलकुद प्रतियोगिताले खेलाडीको जीवन निर्वाहमा समेत महत्वपूर्ण भूमिका खेल्ने भन्दै उनले खेलाडीले खेलेरै जीवनयापन गर्न सक्ने अवस्था सिर्जना गर्न सरकारको ध्यान रहेको दावी गरे ।

महोत्सवमा प्रदेशस्तरीय महिला फुटबल, महिला तथा पुरुष दौड, महिला तथा पुरुष कबड्डी, भेट्रान बाघचाल, महिला तथा पुरुष टेबलटेनिस, महिला तथा पुरुष बुद्धिचाल, महिला तथा पुरुष कराते, महिला तथा पुरुष तेक्वान्दो र पुरुष सफ्टटेनिस र डोरीतान लगायतको खेलकुद प्रतियोगिता समावेश छन् ।

सोमबार, १२ फागुन, २०८१, बिहानको ०७:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर