सौर्य ऊर्जातर्फ विराटनगरका उद्योगीको नजर

विराटनगर । वस्तु उत्पादनमा लगानी गरिरहेका विराटनगरका केही परिचित औद्योगिक घरानाहरु सौर्य उर्जा उत्पादनका लागि इच्छुक देखिएका छन् । नेपाल विद्युत प्राधिकरणले आह्वान गरेको सौर्य उर्जा उत्पादनका लागि इच्छुक हुँदै लामो समय औद्योगिक उत्पादनमा क्रियाशील रहेका उद्योगीहरुले प्रस्ताव गर्नुले उद्योगीहरुले लगानीको नयाँ क्षेत्रको विपल्प खोजिरहेको पाइएको हो ।

गोल्छा अर्गनाइजेसनको अरिहन्त समूहका राजकुमार गोल्छा र आनन्द इँटा उद्योगका संचालक दिलिप बगडिया, सारडा ग्रुपका पवनकुमार सारडालगायतले सौर्य उर्जामा लगानी गर्ने प्रस्ताव प्राधिकरणमा पेश गरेका छन् ।

गोल्छा अर्गनाइजेसनले अरिहन्त ग्रिन इनर्जी प्रा.लि.मार्फत सुनसरीको बर्जु गाउँपालिकामा २५ मेगावाट सौर्य उर्जा उत्पादन गर्न गरेको प्राविधिक प्रस्ताव स्वीकृत भएको छ । वित्तीय प्रस्ताव स्वीकृत भएमा गोल्छा अर्गनाइजेसन सौर्य उर्जा उत्पादकको रुपमा पनि अघि बढ्ने अवसर पाउने छ । यस्तै आनन्द इँटा उद्योगका संचालक तथा रंगेली नगरपालिकाका मेयर दिलिप बगडियाले आनन्द सोलार प्रा.लि.को नाममा सुनसरीको बर्जुमा २५, मोरङको कटहरी र रंगेलीमा १०–१० गरी ४५ मेगावाट सौर्य उर्जा उत्पादन गर्न गरेको प्राविधिक प्रस्ताव स्वीकृत भएको छ ।
यस्तै उदयपुरमा सुनलाइट इनर्जीले जलजलेमा १० मेगावाट, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले तेह्रुममा २० मेगावाट क्षमताको सौर्य उर्जा उत्पादन गर्ने प्रस्ताव गरेको छ ।

झापामा १३ वटा कम्पनीले १४५ मेगावाट क्षमताको सौर्य उर्जा उत्पादन गर्ने प्रस्ताव गरेको छ । जसमा टाइम सोलार इनर्जीले १० मेगावाटका दुईवटा, मेची रिन्यू इनर्जी प्रा.लि.ले १० मेगावाट सोलार विद्युत् निकाल्ने लिष्टमा छन् । मोरङमा १३१ मेगावाट क्षमताको ऊर्जा उत्पादनको लागि १० वटा कम्पनी छनौटमा परेका छन् । जसमध्ये श्रीयंशी ऊर्जा प्रा.लि.ले विराटचौकमा १० मेगावाट, हिमालयन सोलार भेन्चर प्रा.लि.ले पनि विराटचोकमै ५ मेगावाट, रंगेलीमा १० मेगावाट र पशुपति इनर्जी प्रा.लि.ले केराउनमा २० मेगावाट विद्युत् उत्पादन गर्ने प्रस्ताव गरेको छ ।

नेपाल विद्युत् प्राधिकरणले ३ हजार ४९३ मेगावाट क्षमताका सौर्य उर्जा उत्पादन गर्नका लागि नीजि क्षेत्रले गरेको प्राविधिक प्रस्ताव स्वीकृत गरेको छ । प्राधिकरणले जारी गरेको सार्वजनिक सूचना अनुसार देशभरका २६३ स्थानका लागि प्रस्ताव गरिएका आयोजनाहरुको प्राविधिक प्रस्ताव स्वीकृत गरेको हो । प्राधिकरणले देशभरबाट ८५० मेगावाट क्षमता बराबरको सौर्य विद्युत् उत्पादन गर्नका लागि प्राविधिक र वित्तीय प्रस्ताव आह्वान गरेको थियो । सो अनुसार परेका प्रस्तावमध्ये १२७ सौर्य उर्जा उत्पादक कम्पनीका प्रस्ताव प्राविधिक रुपमा छानिएका हुन् ।
प्राविधिक प्रस्ताव स्वीकृत भएका ती कम्पनीहरुले वित्तीय प्रस्तावमा प्रतिस्पर्धा गर्नुपर्ने छ । अब उत्पादित सौर्य उर्जा न्यूनतम मूल्यमा विक्री गर्ने उत्पादकसँग प्राधिकरणले परियोजना सम्झौता अघि बढाउने छ । त्यसका लागि यी कम्पनीहरुले बुझाउने वित्तीय प्रस्तावका आधारमा यही अक्टोबर २२ अर्थात् कार्तिक ६ गते कम्पनीको अन्तिम टुंगो लगाइने विद्युत् प्राधिकरणले जनाएको छ । वित्तीय प्रस्तावबाट छनोट भएका कम्पनीहरुबाट प्राधिकरणले देशभरका ८५० मेगावाटका आयोजनाहरुसँग उर्जा उत्पादन सम्झौता गर्ने छ ।

त्यसपछि परियोजना निर्माणस्थलमा विस्तृत वातावरणीय परीक्षण (आइइइ) गर्न ६ महिना लाग्ने र त्यो रिपोर्ट स्वीकृत भएको १८ महिनामा आयेजना निर्माण सम्पन्न हुने लगानीकर्ता बताउँछन् ।सौर्य ऊर्जामा लगानी गर्दा प्रति मेगावाट ६ देखि ७ करोड लगानी आवश्यक पर्ने र जसमध्ये ६० देखि ७० प्रतिशत लगानी सोलार प्यानल खरिदमा खर्च हुने जनाइएको छ । विद्युत् प्राधिकरणले प्रतियुनिट ५ रुपैयाँ ९४ पैसाभन्दा कम मूल्यमा विद्युत् विक्री गर्ने उत्पादकलाई प्रतिस्पर्धाका आधारमा छनोट गर्नेछ ।

यस्तै आनन्द पावर नेपाल प्रा.लि.ले केराउनमै १०, घटाल एण्ड कौशिक जेभीले रंगलीमा १० मेगावाट, आनन्द सोलार प्रा.लि.ले कटहरी र रंगेलीमा गरेर थप २० मेगावाट, रिदी पावर कम्पनी लि.ले उर्लाबारीमा १० मेगावाट विद्युत् उत्पादन गर्ने प्रस्ताव गरेको छ ।

यस्तै संखुवासभामा विभिन्न ८ वटा कम्पनीले ९० मेगावाट सोलार ऊर्जा उत्पादन गर्ने प्रस्ताव गरेका छन् । यस्तै सुनसरीमा ११ वटा कम्पनीले २७० मेगावाट, सोलुखुम्बुमा १० मेगावाट र तेह्रथुममा २० मेगावाट विद्युत् उत्पादनको प्रस्ताव गरिएको छ । कोशी प्रदेशमा जम्मा ५३ कम्पनीले ६७६ मेगावाट सौर्य ऊर्जा उत्पादन गर्ने प्रस्ताव गरेका हुन् ।

बिहिबार, ०१ कार्तिक, २०८१, बिहानको ०८:४४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर