विराटनगर । मोरङको बेलबारी नगरपालिका ११ लक्षिमार्गमा शुक्रवारबाट बेलबारी आरजु राइस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको सातौँ संस्करण हुने भएको छ । असोज ११ गतेबाट हुने गोल्डकपमा भारतको पश्चिम बङ्गालस्थित दलसिंगपारा एसीसहित नेपालका ए डिभिजन र जिल्लाका फुटबल क्लब गरी १० टोलीको सहभागिता रहने आयोजक एलएक्स सिटी फुटबल क्लबका अध्यक्ष विक्रम राईले बताए । अघिल्लो संस्करणमा भन्दा सातौँ संस्करणमा दुई वटा टोली थप भएको उनले बताए ।
असोज ११ गतेबाट हुने गोल्डकपमा साबिक विजेता बिग्रेड ब्वाइज काठमाडौँ, नेपाल पुलिस क्लब, झापा एघार बिर्तामोड, सिराहाको सहलेस यूथ क्लब, धनकुटाको रारा एफसी, बुटवलको बुटवल लुम्बिनी एफसी, काठमाडौँको चित्लाङ एफसी, जिल्ला फुटबल संघ भोजपुर भारतको दलसिंगपारा एसए र आयोजक एलएक्स सिटी एफसी लक्ष्मीमार्गले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताका लागि आयोजक तथा क्लबका अध्यक्ष विक्रम राईले करिब ६० लाख रुपैयाँ आम्दानी हुने र ५५ लाख रुपैयाँ खर्च हुने अपेक्षा गरेको उनले बताए । विजेता टोलीले दुई तोला सुन र २ किलो ५ सय ग्राम चाँदी जडान गरिएको रनिङ ट्रली हात पार्ने आयोजकले जनाएको छ । । ट्रली स्थानीय पोपिराज राई र ज्योतिराज राईले आफ्नो स्वर्गीय पिता एनबी राईको स्मृतिमा सौजन्य गरेका हुन् ।
गोल्ड कपको विजेता टोलीले ट्रफीसहित ८ लाख र उपविजेता टोलीले ४ लाख रुपैयाँ हात पार्ने आयोजकले जनाएको छ ।
गोल्डकपका लागि मुख्य सहयोगमा बेलबारी नगरपालिका रहेको छ भने प्रमुख प्रायोजक आरजु राइस मिल रहेको छ । आर्जु राइस मिल बुद्ध एयरका संचालक वीरेन्द्र बस्नेतको हो । यस भन्दा अगाडीका प्रतियोगिताहरूमा बुद्ध एयरले नै सहयोग गर्दै आएको थियो ।
२०७४ सालबाट सुरु भएको गोल्ड कपको छैटौँ संस्करणसम्म डाँगी हाट यूथ क्लबले आयोजना गर्दै आएको थियो । साबिकको डागिहाट गाविस मै डाँगी हाट यूथ क्लब र डागिहाट फुटबल क्लब रहेका छन् । एउटै उद्देश्यका खेलकुद गतिविधि गर्ने संस्था एकै ठाउँमा दुई वटा भएपछि अप्ठ्यारोभएकाले नाम परिवर्तन गरिएको अध्यक्ष राईले बताए । उक्त फुटबल प्रतियोगितालाई बेलबारीको गौरवका रूपमा हेरिएको छ । फुटबल प्रतियोगितालाई सफल बनाउनका लागि बेलबारी नगरपालिकाका मेयर दिल प्रसाद राईले समेत आग्रह गरेका छन् ।