कब्जा गरेको सरकारी जग्गा फिर्ता गर्ने चौधरी ग्रुपको प्रतिबद्धता

विराटनगर । सुनसरीको दुहबी नगरपालिकाको करोडौं मूल्य पर्ने जग्गा फिर्ता गर्न आफू सहमत रहेको भन्दै चौधरी ग्रुपले नगरपालिकालाई पत्र लेखेको छ । चौधरी ग्रुपले गैरकानुनी रुपमा दुहबीमा ९ कठ्ठा ८ धूर जग्गा वर्षौदेखि हडपेको थियो ।

अर्बपति विनोद चौधरी र उनका भाइ अरुण चौधरीसहित (चौधरी ग्रुप)ले कब्जा गरेको काठमाडौंको बाँसबारी छालाजुत्ता कारखानाको जग्गा प्रकरणमा प्रचण्ड नेतृत्वको सरकारले कार्वाही चलाएपछि नै ग्रुपले दुहबीको जग्गा पनि फिर्ता गर्ने प्रतिबद्धता जनाएको पाइएको छ । बाँसबारीको जग्गा छानविनको क्रममा ग्रुपका अरुण चौधरी पक्राउ परेका थिए भने १० रोपनी जग्गा जग्गा सरकारले फिर्ता गरिसकेको छ ।

बाँसबारी छालाजुत्ता उद्योगको हत्याएको विषयमा अरुण पक्राउ परेको दुई हप्तापछि दुहबीको जग्गा फिर्ता गर्ने प्रतिबद्धतासहित पत्र आएको दुहबी नगरपालिकाका प्रमुख वेदप्रकाश गच्छदारले जानकारी दिए । अरुण चौधरी २०८० माघमा पक्राउ परेका थिए । चौधरीले पठाएको जग्गा फिर्ता गर्ने प्रतिबद्धतासहितको पत्रसहित नगरपालिकाले जिल्ला प्रशासन कार्यालय सुनसरीलाई जग्गा फिर्ताको प्रक्रिया सुरु गरिदिन पहलका लागि पत्राचार गरिसकेको छ ।

जग्गा फिर्ता गर्छु भनेर पत्र पठाएको ९ महिना वितिसक्दा पनि जग्गा भने फिर्ता भएको छैन । अख्तियारमा मुद्दा परेको भन्दै जिल्ला प्रशासन कार्यालयले प्रक्रिया अगाडि बढाउन नसकेको जवाफ दुहबी नगरपालिकालाई दिने गरेको छ ।

‘बसन्त चौधरीले दुहबी नगरपालिकामा जग्गा फिर्ता गर्छु भनेर पत्र पठाउनु भएको थियो । नगरपालिकाले जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएर जग्गा फिर्ताको पहल गरिदिन भनेर पठाएका छौं,’ मेयर गच्छदारले भने, ‘तर, यो विषय अख्तियारमा मुद्दा परेको कारण जिल्ला प्रशासन कार्यालयबाट प्रक्रिया अगाडि बढाउन नसकेको भनेको छ ।’ संवैधानिक निकायले अनुसन्धान गरिरहेको विषय भएकोले अख्तियारको अनुमतिबिना जग्गा फिर्ता हुन समस्या भएको जवाफ प्रशासनले दिएको गच्छदारले बताए ।

प्रमुख गच्छदारले मङ्गलबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग पनि जग्गा फिर्ता ल्याउने बारे कुराकानी गरेको जानकारी दिए । ‘मुख्यमन्त्रीज्यूमार्फत सम्माननीय प्रधानमन्त्रीज्यूलाई जग्गा फिर्ताको पहलका लागि सहयोग गर्न आग्रह गरेको छु,’ उनले भने । गच्छदारले उक्त जग्गा फिर्ता ल्याएर त्यस स्थानमा पालिकाले छुट्टै अस्पताल सञ्चालनमा ल्याउने बताउँदै आएका छन् ।

सुनसरीको दुहबी आदर्श गाविस वडा नम्बर ७ (हाल दुहबी नगरपालिका ५) मा रहेको जग्गा विनोद चौधरी र बसन्त चौधरीले बुबा लुनकरण दास र आमा गंगादेवी चौधरीको नाममा ‘लुनकरण दास–गंगादेवी चौधरी च्यारिटी हस्पिटल’ बनाउने भन्दै आफ्नो नाममा लगेका थिए । सरकारी जग्गा निर्णय गरेर बिक्री गर्न नपाइने भएपनि गाविसको नाममा रहेको उक्त जग्गा हस्तान्तरणको लागि तत्कालिन दुहबी आदर्श गाविसका अध्यक्ष धु्रवनारायण विश्वास, उपाध्यक्ष गौरीशंकर रौनियारसहित ११ जनाले हस्ताक्षर गरेर निर्णय गरेका थिए ।

गाविसको नाममा रहेको ७ (ख) कित्ता नम्बर १७, १८ र १९ को ९ कट्ठा ८ धुर जग्गा र त्यहाँ रहेको भवन चौधरी ग्रुपले २०५० साल चैत २३ गते १ लाख रुपैयाँ गाविसलाई दिएर च्यारिटीको नाममा लगेको थियो । जग्गामा अस्पताल सञ्चालन गर्ने चौधरी ग्रुपको शर्त थियो । दुहबी बजारदेखि करिब डेढ सय मिटर नजिकमा रहेको जग्गामा केहि समय अस्पताल सञ्चालन गरिएको भएपनि अहिले बन्द छ ।

२०४९ साल चैत्र ४ गते बुधवार तत्कालीन दुहवी गाविसको बैठकले जग्गा दिने निर्णय गरेको थियो । २०४९ चैत ६ गते शुक्रबार बसेको बैठकले भने चैत ७ गते शनिबार स्वामित्व हस्तान्तरण गर्नका लागि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई बोलाउने निर्णय गरेको थियो । कोइरालाले जग्गाको स्वामित्व च्यारिटीलाई हस्तान्तरण गरेका थिए भने अस्पतालको उद्घाटन भने तत्कालिन युवराज दिपेन्द्र शाहबाट गरिएको थियो ।

ट्रष्टले सो जग्गामा अस्पताल पनि सञ्चालन नगरेकोले जग्गा फिर्ता गर्न दुहबी नगरपालिकाले ताकेता गरिरहेको छ । २०७४ सालमा नगरपालिकाले नगर अस्पताल सञ्चालन गर्नका लागि सो जग्गाको खोजी गर्दा जग्गा चौधरी ग्रुपको ट्रष्टको नाममा गएको खुलेको थियो । चौधरी ग्रुपले सो स्थानमा चलाएको अस्पतालका उपकरण काठमाडौँको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा लगिसकेको छ । अहिले सो क्षेत्रमा जीर्ण भवन र केहि कर्मचारी मात्रै छन् ।

गाविसले नाममा रहेको जग्गा सरकारी हुने भएकोले मन्त्रिपरिषदको निर्णयविना व्यक्ति वा अन्य संस्थाको नाममा जान नसक्ने पालिकाको जिकिर थियो । चौधरी ग्रुपले हडपेको उक्त जग्गा अहिले धुरको १५ लाखभन्दा बढी पर्ने स्थानीय बताउँछन् । जग्गाको न्यूनतम मूल्य झण्डै ३५ करोड पर्ने देखिन्छ ।

दुहबीमा झण्डै ३५ करोड मूल्य पर्ने जग्गा चौधरी ग्रुपको कब्जामा !

बुधबार, ०२ असोज, २०८१, बिहानको ०७:४८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर