चालक र पम्प संचालक मिलेर पेट्रोलियम पदार्थको चोरी : पम्प संचालक कार्की फरार

विराटनगर । पेट्रोलियम पदार्थ बोक्ने ट्याङकर चालक र पेट्रोल पम्पको मिलेमतोमा डिजेल चोरी हुने गरेको पाइएको छ ।

यसरी चोरी भएको इन्धन मोरङको बुढीगंगा गाउँपालिका – ४ नेमुवास्थित राउल एन्ड निसम पेट्रोल पम्पले खरिद गरेको पाइएको हो । चोरीको इन्धन खरिद गर्ने पेट्रोलियम डिलर्स एसोसिएसन कोशीको महासचिव रुद्र कार्की रहेका छन् ।उनको नेमुवासहित धरान र मोरङको अन्य विभिन्न स्थानहरूमा पेट्रोल पम्पमा लगानी रहेको पाइएको छ ।

आलय निगमबाट निस्किएको को १ ख ७६६८ नम्बरको ट्याङकर चालक उर्लाबारीको झारसाधी घर भएका २९ वर्षीय सवर्ण माझिले राउल एन्ड निसम पेट्रोल पम्पमा चोरी गरेर पेट्रोलियम पदार्थ रातीको समयमा विक्री वितरण गरेको पाइएको छ । नेपाल आलय निगम कोशी प्रदेश विराटनगरका सहायक प्रबन्धक सञ्जय दाहालसहितको प्राविधिकले टोलीले परीक्षण गर्दा ६५८ लिटर डिजेल ट्याक्टरको तीन चेम्बरबाट झिकेर राउल एन्ड निसम पेट्रोल पम्पमा विक्री गरेको पाइएको छ । ‘पाँच वटा च्यामबर भएको ट्याङकर डिपोबाट दिउँसो चेक गरेर पठाउँदा एउटा च्यामबरमा १४०।३ सेन्टिमिटर डिजेल थियो । तीन नम्बर चेम्बर परीक्षण गर्दा ११७।२ सेन्टिमिटर आयो । १४०।३ सेन्टिमिटर तेल हुनुपर्ने हो । ३ नम्बर च्यामबरबाट २३ सेन्टिमिटर अर्थात् ६५८ लिटर तेल हराएको पाइएको छ,’ जिल्ला प्रहरी कार्यालय मोरङमा शुक्रवार परीक्षण गरेपछि निगमको सहायक प्रबन्धक कार्कीले भने ।

प्रहरीको अनुसार बुढीगंगा गाउँपालिका ३ स्थित दुगड एक्स्पाइसेजमा आलय निगमले पठाएको तेल चोरी भएको बताएको छ । आलय निगमबाट बिहीबार दिउँसो पाँच वटा पेट्रोल पम्पको पेट्रोलियम पदार्थ बोकेर ढालिवाल रोडलाइन्स नाममा रहेको ट्याङकरले बोकेर हिँडेको थियो । जसमा दुहबीको पाथीभरा पेट्रोल पम्प, बाँसबारीको एसिया फ्यिुल, विराटनगरको डिविजया पेट्रोल पम्प, झोराहाटको न्यु कान्तिपुर पेट्रोल पम्प र दुगड एक्स्पाइसेजको डिजेल पम्पसम्म पुर्‍याउनुपर्ने थियो । एसिया, डिविजया र कान्तिपुरपेट्रोल पम्प डिजेल पुर्‍याएपछि ६५८ लिटर डिजेल ट्याङकरको ३ नम्बर च्यामबरबाट झिकेको पाइएको हो ।

दुहबीको पाथीभरा पेट्रोल पम्पमा पठाएको तेलको चेम्बरको परिमाण ठिक भएपनि दुगडमा पठाएको च्यामबरबाट तेल चोरी भएको पाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी नवराज कार्कीले बताए । चालकलाई नियन्त्रणमा लिएर मुद्दाको प्रक्रिया अगाडी बढेको उनले बताए । ‘अहिले चालक मात्रै नियन्त्रणमा रहेका छन् । थप अनुसन्धानपछि पेट्रोलियम पदार्थ खरिद गर्नेलाई पनि कारबाहीको दायरमा ल्याउनेछौँ,’ उनले भने, ‘चोरीमा म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडी बढ्नेछ ।’पेट्रोल पम्प संचालक कार्कीलाई पनि प्रहरीले तेल मापन गर्ने समयमा खबर गरेको थियो । एक छिनमा आउँछु भनेको कार्की पछि मोबाइल आफ गरेर सम्पर्क विहीनभएको प्रहरीले जनाएको छ ।

यता नेपाल आलय निगम कोशी प्रदेश कार्यालय विराटनगरका प्रमुख नवविनोद पोखरेलले ढुवानीकर्ताले सम्बन्धी पम्पसम्म नपुर्‍याई बिच बाटोबाट पेट्रोलियम पदार्थ निकालेको पाएपछि यस घटनाको अनुसन्धान प्रहरीले गर्ने बताए । ‘प्रहरीले गरेको अनुसन्धानपछि चोरी देखिए प्रहरीले कारबाहीको प्रक्रिया अगाडी बढाउने हो । अन्य केही भए हामीलाई पत्र पठाएपछि थप प्रक्रिया हामी पर्ने गर्नेछौ,’ उनले भने ।

महासचिव कार्कीले संचालन गरेको पेट्रोल पम्पले यसरी नै अन्यत्र पठाएको पम्पको पेट्रोलियम पदार्थ चालकसँग मिलेर खरिद गर्ने गरेको स्रोतको दाबी छ । यसअघि पनि पटक पटक उक्त पम्पले चोरीको पेट्रोलियम पदार्थ खरिद गरेका थिए ।

शुक्रबार, २८ भदौ, २०८१, साँझको ०६:३४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर