विराटनगर । विराटनगरका मुख्य राजमार्गमा सिटी सफारी निषेध गरेपछि सिटी सफारी चालकहरुले आन्दोलन सुरु गरेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले बिहीबारदेखि विराटनगरको मुख्य राजमार्गमा सिटी सफारी चलाउन निषेध गरेपछि उनीहरुले शुक्रबारदेखि आन्दोलन सुरु गरेका हुन् ।
उनीहरुले विराटनगरको बगरगाछी चोकमा भेला भएर केही बेर सडक अवरुद्ध गरेर विराटनगर महानगरपालिका घेराउ पनि गरेका छन् ।
कोशी राजमार्ग अन्तर्गत बरगाछी सडकखण्ड सिटी सफारी राखेर सडक अवरुद्ध गर्दै प्रदर्शनमा उत्रिएपछि केही बेर सडक आवगमन ठप्प भएको थियो । यसअघि सफारी चालकहरुले विराटनगर महानगरपालिका कार्यालय अगाडि समेत प्रदर्शन गरेका थिए ।
उनीहरुले मुख्य राजमार्गमा सिटीसफारी गुड्न पाउनुपर्ने माग राखेका छन् । सडकमा गुड्न प्रतिबन्ध लगाउनुभन्दा पनि व्यवस्थित बनाउनेतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताएका छन् । सिटी सफारीलाई व्यवस्थित र सवारी आवागमनलाई चुस्त दुरुस्त राख्नको लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले आन्तरिक मामिला तथा कानुन मन्त्रालय र महानगरपालिकासँगको सहकार्यमा नयाँ नियम लागू गर्दै अब यो नियम अगाडि बढाउन लागेको छ । त्यसको विरोधमा सफारी चालक आन्दोलित भएका हुन् । विराटनगरमा अहिले ८ हजार भन्दा बढी सिटी सफारी चल्दै आएका छन् । तर विराटनगर महानगरपालिकामा भने करिब दुई हजार सिटी सफारी दर्ता भएको उल्लेख गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक सुमन न्यौपानेका अनुसार भदौ १३ गतेदेखि विशेष योजनासहित सिटी सफारीमा नयाँ नियम लागू गरेको छ । कोशी राजमार्ग अन्तर्गत गुड्ने सिटी सफारी बिहीबारबाट पूर्ण रुपमा निषेध गरिएको न्यौपानेले जानकारी दिए । यसका लागि यस अघि नै विराटनगर महानगरपालिकाले माईकिङ्ग समेत गरिसकेको जनाइएको छ ।
सफारी संख्या दिनहुँ बढीरहेको र ट्राफिक व्यवस्थापनमा थप चुनौती थपिरहेकाले व्यवस्थित बनाउन यस्तो नियम लागू गरिएको मोरङ ट्राफिक प्रहरीले जनाएको छ । सिटी सफारीको लागि अब राजमार्ग वारिपारी गर्न केही निश्चित स्थान तोकिन्छ ।
‘यसलाई प्रभावकारी कार्यान्वयन तर्फ हामी लाग्ने छौँ,’ ट्राफिक प्रमुख न्यौपाने भने । यसका साथै नयाँ नियम लागू भएपछि भने दर्ता नभएका सफारीलाई होल्डिङ सेन्टरमा राख्ने गरी तयारी महानगरपालिकाले गरेको छ ।
तस्बिर सौजन्य : प्रेम देवान