अब धनकुटामै भरतपुर क्यान्सर अस्पतालको सेवा

विराटनगर । चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले कोशी प्रदेशको धनकुटामा आफ्नो सेवा विस्तार गर्ने भएको छ ।

अस्पतालको भदौ महिनादेखि सबै प्रदेशका एक–एक स्थानमा सेवा विस्तार गर्ने योजना अनुसार कोशीको धनकुटामा सेवा विस्तार गर्न लागेको हो।

अस्पतालका कार्यकारी निर्देशक डा.शिवजी पौडेलका अनुसार सङ्घीय सरकारको कार्यक्रमअन्तर्गत केन्द्रीय क्यान्सर अस्पतालले प्रदेशस्तरमा सेवा विस्तार गर्न लागेको हो । हरेक प्रदेशका एउटा सरकारी अस्पतालमा कम्तीमा ५ शय्याको क्यान्सर उपचारकक्ष सञ्चालन गर्नेगरी सेवा विस्तार हुनेछ ।

धनकुटा अस्पतालमा अब ५ शैय्याको क्यान्सर अस्पतालको सेवा सञ्चालन हुन लागेको हो । नागरिकलाई सहज रुपमा क्यान्सर परीक्षण गर्न अस्पतालको सेवा विस्तार गर्न लागिएको डा. पौडेलले बताए ।

कोशीको धनकुटासँगै मधेसको जनकपुर, गण्डकीको दमौली, लुम्बिनीको दाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा सेवा विस्तार हुनेछ । सेवा विस्तार गरिएको अस्पतालमा हरेक महिनाको एक साता विशेषज्ञ चिकित्सकसहितको टोली खटिनेछ ।

सबै प्रदेशका स्वास्थ्य संस्थासँग समन्वय गरेर सेवा सञ्चालन गरिने क्यान्सर अस्पतालले जनाएको छ ।

आइतबार, २७ साउन, २०८१, दिउँसोको १२:३९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर