सिटी हस्पिटलमा बालिकाको मृत्यु : एक लाख रुपैयाँ दिएर घटना सामसुम

विराटनगर । विराटनगरको सिटी हस्पिटलमा सर्पकले टोकेको एक जना बालिकाको मृत्यु भएको घटना पीडित परिवारलाई आर्थिक प्रलोभनमा पारेर मिलाएको पाइएको छ । उपचार गर्ने क्रममा बालिकाको ज्यान गएपछि पीडित परिवारलाई एक लाख रुपैयाँ दिएर मिलाइएको पाइएको हो ।

मोरङको रतुवामाई नगरपालिका–४ झुकिर्याकी ६ वर्षे इसिकाकुमारी मुखियाको उपचारको क्रममा शुक्रबार साँझमा मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको थियो । पीडित पक्षले आन्दोलन सुरु गरेपछि अस्पताल प्रशासनले पीडित परिवारलाई सहयोग भन्दै एक लाख रुपैयाँ दिएर घटना नउचाल्ने सर्तमा मिलाएको पाइएको हो ।

मृतकका आफन्तसँग उपचार खर्च नलिने र सहयोग स्वरुप एक लाख रुपैयाँ दिने आश्वासन दिएपछि शुक्रबार राति ११ बजेपछि शव लिएर पीडित गएका थिए । छलफलमा अस्पतालको तर्फबाट निर्देशक डा. सितल यादवका छोरा सुनिल यादव, राजनैतिक दलका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि र मृतकका आफन्तहरु बसेका थिए । आर्थिक अवस्था कमजोर भएको कारणले अस्पताल प्रशासनले सहयोग भन्दै मृतकका परिवारलाई रकम दिएका हुन् ।

बिहीबार राति ९ बजे घरमा खाना खाने क्रममा इसिकालाई सर्पले डसेको थियो । त्यसपछि परिवारका सदस्यले उनलाई तत्काल उपचारको लागि रंगेली अस्पतालमा लिएर आए । रंगेली अस्पतालमा उपचार नभएपछि उनीहरुले सर्पदंशको उपचार हुने अस्पताल कोशीमा लैजाने भनेका थिए । तर, एम्बुलेन्स चालकले कोशीमा ठाउँ छैन भन्दै सिटी हस्पिटलमा लगिदिएको मृतककी हजुरआमा निर्मलादेवी मुखियाले बताइन् । ‘हामीले त कोशी अस्पतालमा लगेर उपचार गरौं भनेका थियौं । एम्बुलेन्स चालकले कोशीमा ठाउँ हुदैन भन्दै सिटी हस्पिटलमा लगिदिए । त्यसपछि आइसियूमा राखेर उपचार भयो ।

यहाँका चिकित्सकले उपचारमा प्रयोग हुने मेडिसिन पनि कोशी अस्पतालबाट ल्याउन लगाएका थिए । उपचारको क्रममा ४० हजार रुपैयाँ पनि हामीले अस्पतालमा जम्मा गरेका थियौं । त्यसपछि विरामी हेर्न हस्पिटलले दिएको थियो । बिहानसम्म राम्रो थियो । हामीलाई पनि नातिनीले चिनेर बोलेको थिई,’ हजुरआमा निर्मलाले भनिन्, ‘शुक्रबार साँझमा आइसियूबाट चिकित्सक हिंडेपछि हामीलाई शंका भयो । त्यसपछि नातिनीको मृत्यु भयो भनेपछि हाम्रो होसहवास उठ्यो ।’ यसरी बुझ्दै जाँदा विराटमा सर्पदशंको उपचार नहुने रहेछ । त्यस्तो हस्पिटलमा ल्याएर चिकित्सकले लापारवाही गर्दा आफ्नी नातिनीको मृत्यु भएको उनले बताइन् ।

हस्पिटलका निर्देशक डा. सतिष घिमिरेले उपचारमा उपचारमा संलग्न चिकित्सक र अस्पतालले कुनै पनि लापरवाही नगरेको दाबी गरे । ‘यहाँ यस्तो परिपाटी बस्यो कि हस्पिटलमा कुनै घटना भयो भने एउटा समूह आइहाल्ने र बार्गेनिङ गर्दै मान्छे उचाल्न थालिहाल्ने भएको छ । शुक्रबार पनि त्यस्तै भएको हो । हाम्रो कुनै गल्ती छैन । गम्भीर विरामी यहाँ आएका हुन् । हामीले बचाउन कोसिस गरेकै हो । तर सफल भएन । हस्पिटलको कुनै दोष नभए पनि त्यस्तो समूह सक्रिय रहेका छन्,’ निर्देशक यादवले भने, ‘१० बजेतिर म हिंडेपछि केही थाहा भएन् । तर, मृतकका परिवारलाई केही सहयोग गरेको हुनसक्छ । त्यस विषयमा मलाई थाहा छैन ।’

उपचारमा कुनै लापरवाही छैन डा. सुमित घिमिरे

उपचारमा संलग्न विराट सिटी हस्पिटलका बालरोग विशेषज्ञ डा. सुमित घिमिरेले उपचारमा लापरवाही नगरेको दाबी गरेका छन् । ‘हस्पिटल आइपुग्दा विरामीलाई स्वासप्रश्वासमा समस्या थियो । रंगेली अस्पतालमै अक्सिजनको लेभल २४ प्रतिशत मात्रै थियो । अस्पतालमै पाइप लगाएर इन्टभेन्ट गरेर ल्याएको थियो । विरामीको अवस्था यहाँ आइपुग्दा गम्भीर थियो । त्यसपछि हामीले भेन्टिलेरमा राखेर उपचार गरेका थियौं । एन्टिभेनम १८ एम्पुल दिएपछि बिरामी होसमा आउनुभएको थियो । तर, अक्सिजन लेभल मेन्टन भएको थिएन,’ बालरोग विशेषज्ञ डा. सुनिलले भने, ‘हामीले बचाउन प्रयास गरेको हौं । उपचार गर्दागर्दै पनि सकेनौं ।’

सिटी हस्पिटलविरुद्ध छानविनको माग

मोरङ कानेपोखरी गाउँपालिका ५ का प्रकाश धिमालले विराटनगर सिटी हस्पिटल विरुद्ध जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका छन् । हस्पिटलले लापरवाहीपूर्ण उपचार गरेको आरोप लागउँदै उनले साउन १० गते जिल्ला प्रशासन कार्यालय मोरङमा छानविन गरी कारवाहीको माग गर्दै उजुरी दिएका हुन् । उक्त उजुरी उपर कुनै छलफल भएको छैन । तर, प्रशासनले भने दुवै पक्षलाई छलफलमा बोलाएको छ ।

प्रकाशका भाइ ३८ वर्षीय प्रेमकुमार धिमालको २१ घण्टा उपचार भएपछि १८ वैशाख २०८१ मा विराटनगर सिटी हस्पिटलको बेड नम्बर ५ मा मृत्यु भएको थियो । उनलाई हस्पिटलमा वैशाख १६ गते भर्ना गराएको थियो । लापरवाहीपूर्ण उपचार र गलत औषधी सेवन गरेको करणले भाइको मृत्यु भएको भन्दै प्रशासनमा उजुरी दिएको उनले बताए । ‘विरामीमाथि दिनुपर्ने भन्दा बढि मात्रा औषधी सेवन गराएको कारणले भाइको मृत्यु भएको हो । यस घटनाको छानविन गर्न माग गर्दछौं,’ प्रशासनमा दर्ता भएको निवेदनमा उल्लेख छ । धिमालको उपचार गर्दा हस्पिटलमा १ लाख ६९ हजार १७१ रुपैयाँ खर्च भएको उल्लेख छ ।

आइतबार, २७ साउन, २०८१, बिहानको १०:१५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर