लोड हुँदैछ...

मेनु

प्रचण्डले भन्दैमा पद छाड्दिन : ऋषिकेश पोख्रेल

प्रचण्डले भन्दैमा पद छाड्दिन : ऋषिकेश पोख्रेल

विराटनगर । प्रतिनिधिसभा सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोख्रेलेले पूर्व प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भन्दैमा पद नछाड्ने बताएका छन् । बिहीबार हाम्रोमतसँग कुराकानी गर्दै पोख्रेलले प्रचण्डलाई निवेदन हालेर सार्वजनिक लेखा समितिको सभापति नभएको भन्दै उनले राजीनामा नदिने बताएका हुन् ।

गत सोमबार विराटनगर विमानस्थलमा संचारकर्मीहरुसँग कुराकानी गर्दै प्रचण्डले संसदीय परम्परा अनुसार लेखा समितिको सभापति प्रतिपक्षलाई दिनुपर्ने परम्परा रहेकोले उक्त समिति माओवादी केन्द्रले पाउनु पर्ने बताएका थिए । प्रचण्डले विद्युत प्राधिकरण र उद्योगीहरूको द्वन्द्वको विषयमा सरकार र लेखा समितिका सभापतिले गरिरहेको गतिविधिबारे जानकारी रहेको भन्दै बहुमतको आडमा जबरजस्ती गर्ने गर्ने प्रयास भए दुर्भाग्य हुने चेतावनी दिएका थिए ।
सभापति पोख्रेलले भने पार्टीले फिर्ता बोलाए बाधक नबन्ने बताए । ‘सैद्धान्तिरूपमा प्रचण्डको भनाइप्रति मेरो विमति छैन,’ उनले भने ‘अन्तर्राष्ट्रिय प्राक्टिसको हिसाबले र सिद्धान्तको हिसाबले विमति राख्ने कुरा पनि छैन । तर उहाँ नै प्रधानमन्त्री भएको बेला दुई –दुई जना सार्वजनिक लेखा समितिका सभापतिले पद छोड्नु परेन नि ।’

समितिहरूको निर्माण राजनीतिक सहमतिकै आधारमा हुने भएकाले सहमति गरे एक मिनेट पनि पदमा नबस्ने उनले बताए । ‘हिजो पनि तीनै जना नेताहरु एकै ठाउँमा देखिरहेको थिएँ । तीन जना उभिएर फेरि सहमति गरे भइगो नि ! फेरि समितिको अर्काे निर्वाचन गरौँ भने भइगयो नि ! यसलाई बाहिरी प्रचार र चर्चाको विषय बनाइनु पर्ने होइन । नेताहरूले बसेर मिलाए कोही पनि बाधक हुँदैन’ उनले भने ।

नेपालमा बनेको कानुन एमालेका लागि मात्रै नभएको भन्दै माओवादीलाई प्रश्न गरेका छन् । ‘यो कानुन माओवादीका लागि होइन भनेर लेखेर दिए भइगो नि,’ उनले प्रश्न गर्दै भने । पोख्रेलले अघिल्लो सरकार व्यापारीको पक्षमा देखिएको पनि आरोप लगाए । उनले लाल आयोग निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको सेटिङमा बनेको बताएका छन् ।

तपाईंले बक्यौता नतिर्ने व्यावसायीसँग भेट्नु भयो भनेर विरोध पनि भइरहेका छन् नि भन्ने प्रश्नमा उनले अक्मकाउँदै नभेटेको जवाफ दिए । उनले विज्ञलाई मात्रै भेटेको दाबी गरे । कुराकानी गर्दै जाँदा भने व्यापारी भेटेको उनले नै स्वीकार गरेका छन् । एउटा नागरिकको प्रतिनिधिले हाम्रो कुरा सुनिदिनु प¥यो भनेर आउँदा के गर्नु पर्ने त भाग्दिनु पर्ने ? लुकिदिनु पर्ने कि के गर्नुपर्ने त ? भन्दै उनले उल्टै गरे । ‘जनप्रतिनिधिको दायित्व के हुन्छ । मेरो कुरा सुनिदिनु प¥यो भनेर आउँदा मैले कुरा सुनिदिने हो । कुरा सुनें । त्यही सुनेर सत्य धेरै कुरा थाहा पाएर त साथीभाइ आत्तिएको जस्तो लागेको छ त ।’ उनले कुलमानसँग भेटेको विषय भने प्रचारमा नआएको भन्दै दुखेसो गरे ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।