धरान । सुनसरीको धरान उपमहानगरपालिका खानेपानीको शुल्क बृद्धि गरेको विरोधमा आन्दोलन चलिरहेको बेला एक उपभोक्ताको घरमा ५० लाखको बिल काटिएको फेला परेको छ ।
धरान–१५ का साँगुरी मार्गकी सितादेवी डाँगीको निजी धाराको नाममा खानेपानी बोर्डले ४९ लाख ९९ हजार २ सय रुपैयाँको बिल पठाएको हो ।
बोर्डले साउन १२ गते डाँगीको नाममा बिल काटेको हो । बिलमा हालको युनिट ९९ हजार ९ सय ९९ सय उठेको छ भने खपत बिल पनि ९९ हजार ९ सय ९९ सय उल्लेख छ ।
बिलमा मिटर स्ट्याटसमा मिटर उल्टो घुमेको भनेर देखिएको छ भने सर्दु जलाधार संरचना शुल्कको नाममा ५ थप गरी जम्मा तिनुपर्ने भन्दै ४९ लाख ९९ हजार २०५ रुपैयाँ बिल रकम रहेको छ ।
डाँगीले करिब ५० लाखको बिल आएपछि बिल लिएर खानेपानी बोर्डको कार्यालय पुगेकी थिइन् । कार्यालयका कर्मचारीहरूले बिल खोसेर राखेर र सच्याउने बताएको उनको भनाइ छ । कर्मचारीले मिटर उल्टो घुमेर त्यस्तो आएको हो तुरुन्त बिल सच्याउँदै मिटर रिडर नयाँ बिल लिएर आउने बताएको डाँगीको भनाइ छ ।
यस्तो हुनुमा मिटर उल्टो घुमेको खानेपानी बोर्डका प्रमुख राजु पोखरेलले बताए । ‘यो केही होइन, मिटर उल्टो घुमेको हो । हामीले यो समस्या सर्टआउट गरिसकेका छौं,’ उनले भने ।
डाँगीको नाममा काटिएको बिलबारे धरान–१० का वडाध्यक्ष विवेक राईले सामाजिक सञ्जालमार्फत बोर्डलाई प्रश्न गरेका छन् । ‘कस्तो पानी खुवाएछ हौं ? यत्रो बिल महसुल (उनन्चास लाख उनान्सय हजार दुई सय रूपैयाँको) मिनेरल वाटर कि ड्रिंकिङ वाटर हो ?’ उनले प्रश्न गरेका छन्, ‘रु.५ हजार चै जलाधार संरक्षणको रे ,बाफ्रे !’
नेकपा एमाले नगर अध्यक्ष हर्क जङ्ग एभेङले ‘धरानमा के हुन लाग्यो ? कति साह्रो लापरबाही ? भन्दै स्ट्याटस पोष्ट गरेका छन् । प्राविधिकहरू अनुसार मिटर उल्टो घुम्दा खपत घटेर रकम पनि घट्नुपर्नेमा ‘मिटर उल्टो घुमेर रकम बढेको’ भन्ने विषय नै शंकास्पद रहेको बताउँछन् ।
खानेपानी महसुल वृद्धिको विरोधमा जनप्रतिनिधि, राजनीतिक दल र स्थानीयवासीले बिहीबार धरान उपमहानगरपालिका घेराउ गरेका छन् । सो क्रममा प्रहरीसँग झडप हुँदा केही विद्यार्थी घाइते भएको बताइएको छ ।
खानेपानीको महसुल ९ हजार ९ सय प्रतिशतसम्मले बढाएको आन्दोलनरत पक्षको दाबी छ । खानेपानी बोर्डका अध्यक्ष उपमहानगर प्रमुख हर्कराज राईको विरोधमा प्रदर्शनकारीले नाराबाजी समेत गरेका छन् । उनीहरुले महशुल वृद्धिको निर्णय खारेज गर्दै पुरानै दर कायम गर्न माग गरेका छन् ।




























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।