शेखर समूहमा कुरा नमिल्दा कांग्रेसको सत्तायात्रामा ढिलाइ

सम्भवतः सोमबार मन्त्रीमण्डल विस्तार हुनसक्छ : मुख्यमन्त्री कार्यालय

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश सरकारमा सहभागी हुन अन्तिम तयारीमा जुटेको छ । कांग्रेस संसदीय दलका नेता उद्धव थापा काठमाडौं गएर मन्त्री बनाउने नामको अन्तिम टुंगो लगाउने कांग्रेसका एक नेताले बताएका छन् । यद्यपि डा.शेखर कोइराला समूहले अझै मन्त्रीको नाम पठाउन सकेको छैन । जसले गर्दा कांग्रेसको सत्तायात्रा पछाडि धकेलिएको छ ।

प्रदेश सरकारमा सहभागी हुँदा मन्त्रालय बाँडफाँट विषयमा कांग्रेस र एमालेबीच यसअघि नै सहमति भइसकेको बताइन्छ । दुई दलबिच चार चार मन्त्रालय लिने सहमति भएको भनिएको छ । तर केही एमाले नेताहरु सहमतिले अन्तिमरुप पाउन बाँकी नै रहेको बताइरहेका छन् ।

चार मन्त्रालयमध्ये कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा समूहबाट दुई जना, डा.शेखर कोइराला समूहबाट एक जना र नेता कृष्णप्रसाद सिटौला समूहबाट एक जना मन्त्री बनाउने संस्थापन पक्षको तयारी छ । तर शेखर कोइराला समूहले भने चार मध्ये २ जना मन्त्री आफूहरुले पाउनु पर्ने अडान राखेको छ । कोइराला समूहबाट मन्त्री बन्ने दौडमा रामकुमार खत्री, मानबहादुर लिम्बू, गोविन्द गिरी र इन्दिरा थापा अग्रपङ्तिमा छन् । मन्त्री बन्ने आकांक्षी धेरै भएपछि डा. कोइरालाई समूह व्यवस्थापन गर्नै चर्को परेको छ । जसले गर्दा उनी कम्तिमा दुई मन्त्री आफूले पाउनु पर्ने दबाब बढाइरहेका छन् ।

‘हाम्रो पक्षबाट मुख्य रूपमा चार जना मन्त्रीको आकांक्षी हुनुहुन्छ । त्यसमध्येबाट एक जना छान्न गाह्रो छ । हामीले न्यूनतम दुई जना मन्त्री बनाउनु पर्ने अडान राखेका छौं,’ कोइराला समूहका एक नेताले भने ।

उता, देउवा समूहबाट दलका उपनेता हिमाल कार्की, पूर्वमन्त्री प्रदिपकुमार सुनुवार र सांसद खगेनसिं हाङ्गाम मन्त्री बन्ने दौडमा छन् । यसअघि ताप्लेजुङका प्रहरी प्रमुखलाई काटमारको धम्की दिएको घटनामा हाङ्गामको संलग्नता रहेको सार्वजनिक भएको थियो । कार्की अघिल्लो प्रदेशसभाको कार्यकालमा कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री बनेका थिए भने सुनुवार प्रदेशसभाको यही कार्यकालमा तीन पटक मन्त्री भइसकेका छन् ।

कोइराला गुटबाट मन्त्री बन्ने लाइनमा रहेका लिम्बू कोइराला गुटको पनि सुनिल शर्मा समूहका नेता हुन् । उदयपुरका खत्री भने यसअघि दुई पटक मन्त्री बनेका छन् । केदार कार्की नेतृत्वको सरकारका पालामा उनी उद्योग, कृषि तथा सहकारी मन्त्री बनेका थिए । इलामका गिरी भने नयाँ अनुहार हुन् भने इन्दिरा थापा केदार काकी नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजना राज्यमन्त्री बनेकी थिइन् ।

यस्तै नेता सिटौला समूहबाट मन्त्री बन्ने लाइनमा कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका विराटनगर महानगरपालिकाका पूर्व प्रमुख भीम पराजुली र खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका पूर्वअध्यक्षसमेत रहेका भुपेन्द्र राई दौडमा छन् । दुई जनामध्ये एक जनालाई सिटौलाले मन्त्री बनाउने चर्चा छ । महानगरको नेतृत्व गरिसकेको र पार्टीको केन्द्रीय सदस्यसमेत भएका कारण पराजुलीको मन्त्री बन्ने सम्भावना बलियो रहेको बताइन्छ ।

कोशी प्रदेश कांग्रेसको कार्यसम्पादन समितिको बैठकले लैङ्गिक र समावेशीतालाई ख्याल गरेर मन्त्री बनाउने निर्णय गरिसकेको भएपनि मन्त्री बन्ने सूचिमा महिलाको नाम खासै चर्चामा छैन । यद्यपि कांग्रेसमा महिलाहरुको तर्फबाट सोलुखुम्बुकी डोल्मा तामाङ, मोरङकी शोभा चेम्जोङ, पाँचथरकी मैया श्रेष्ठलगायतले मन्त्रीका लागि दाबी गरिरहेका छन् ।

कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सरकार विस्तार हुन अझै केही दिन लाग्ने बताए । ‘तत्कालै सरकारमा गइहाल्ने अवस्था देखिँदैन । अन्य प्रदेशहरुको टुंगो लागिसकेपछि अन्तिममा मात्रै कोशी प्रदेशको टुंगो लाग्छ,’ उनले भने, ‘अझै ४–५ दिन लाग्न सक्छ ।’

उता, मुख्यमन्त्री कार्यालय स्रोतले भने सोमबार अबेरसम्ममा कांग्रेसले मन्त्रीको नाम टुंगो लगाउने सूचना प्राप्त भएको बताएको छ । ‘सोमबारसम्ममा नाम दिने कुरा भएको छ । कांग्रेसको आन्तरिक किचलो बढेन भने भोलि सरकार विस्तार हुनसक्ने सम्भावना छ,’ उक्त स्रोतले भन्यो । मुख्यमन्त्री कार्यालयले दिएको स्रोतलाई कांग्रेसका प्रमुख सचेतक गोपाल तामाङले पनि अस्वीकार गरेनन् । ‘दलका नेता भोलि काठमाडौं जाने र त्यहीँ मन्त्रीको नाम टुंगो लगाउने कुरा भएको छ । सम्भवतः भोलि बेलुकासम्ममा नयाँ समाचार आउँछ,’ उनले भने ।

नेपाली कांग्रेस कोशी प्रदेश कार्यसम्पादन समितिको बैठक गत सोमबार विराटनगरस्थित पार्टी कार्यालयमा बसेको थियो । उक्त बैठकले एमालेको नेतृत्वमा रहेको कोशी प्रदेश सरकारमा सहभागी हुनेलगायतका निर्णय गरिसकेको छ । सो बैठकले सरकार निर्माण गर्दा समावेशी हुनुपर्ने, लैङ्गिक सहभागीता हुनुपर्नेलगायतको निर्णय गरेको छ । स्रोतले दिएको जानकारी अनुसार मुख्यमन्त्री हिक्मतकुमार कार्की कांग्रेसबाट चार जना मन्त्री र दुई जना राज्यमन्त्री नियुक्त गर्न सहमत छन् ।

हाल मुख्यमन्त्री कार्कीको नेतृत्वमा रहेको सरकारमा एमालेका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालयमा क्रमशः रामबहादुर मगर, एकराज कार्की, लिलाबल्लभ अधिकारी र पाँच कर्ण राईलाई मन्त्री बनाएको छ । राज्यमन्त्रीमा सिर्जना राई कायम छन् ।

संविधानको धारा १६८ (५) लाई दोस्रो पटक प्रयोग गर्दै कोशी प्रदेशसभाबाट मुख्यमन्त्री कार्की तेस्रो पटक वैशाख २७ गते मुख्यमन्त्री बनेका हुन् । गत असार १७ गते नयाँ गठबन्धन (एमाले र कांग्रेस) बनेसँगै असार ३० गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भइसकेका छन् । सोही अनुसार कोशी प्रदेश सरकारमा पनि कांग्रेस सहभागी हुने अन्तिम तयारीमा छ । कोशी प्रदेश सरकारबाट माओवादी भने गत साउन ११ गते नै बाहिरिसकेको छ ।

सोमबार, २१ साउन, २०८१, बिहानको ०७:३७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर