विराटनगर । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले गत जेठमा सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको थियो । जेष्ठ नागरिकलाई सास्ती दिने निर्णय भन्दै त्यसको चोतर्फी विरोध भएपछि असारको २७ गते बसेको मन्त्रिपरिषद बैठकले त्यसलाई स्थगन गर्ने निर्णय ग¥यो ।
सरकारको निर्णय अनुसार पञ्जीकरण विभागले केहि ढिलो गरी परिपत्र गरिसकेको छ । असार २७ को निर्णय अनुसार विभागले साउन ४ गते सबै स्थानीय तहमा परिपत्र गर्दै परिचयपत्र अनिवार्य गर्ने निर्णय स्थगित भएको जनाएको छ । तर, त्यसबारे आम सर्वसाधारणलाई सहि जानकारी नपुग्दा जेष्ठ नागरिकहरुले सास्ती पाइरहेका छन् ।
चर्को घाम सहँदै राष्ट्रिय परिचय पत्र बनाउनकै लागि जिल्ला प्रशासन कार्यालय मोरङमा जेष्ठ नागरिकहरुको भीडभाड छ । कोही स–साना बुट्यानको सितल छहारीमा छन् । कोही पसिना बगाउँदै लाइनमा सकि नसकी बसेका छन् । कोही जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीका कार्यकक्षमा लौरो टेकेर पुगेका छन् ।
राष्ट्रिय परिचयपत्र बनाउन पुगेकी सुन्दरहरैंचा १ की ८४ वर्षीय लक्ष्मी ढकाल आइतबार सानो बुट्यानको छहारीमा बसिरहेकी थिइन्् । बढ्दो उमेर, आँखा नदेख्ने, कान नसुन्ने, दमकी रोगी ढकाललाई वडाका जनप्रतिनिधिहरुले राष्ट्रिय परिचयपत्र नबनाए जेष्ठ नागरिक कार्ड नवीकरण नहुने बताएपछि वडा कार्यालयमा दुई पटक फोटो खिचाइन् । तर, नम्बर नआएपछि नम्बर मिलाउन उनी जिल्ला प्रशासन कार्यालय आएकी हुन् ।
ढकाल देवरको घरमा बस्छिन् । वृद्ध भत्ताकै भरमा उनको जीवन चलेको छ । ढकालकी छिमेकी ८० वर्षीय पवित्रादेवी राउतको साथमा आएकी उनलाई कहिलो पालो आउँछ थाहा छैन । दिउँसो साढे १ बज्दा पनि उनलाई परिचयपत्रको लाइनको अवस्था पत्तो थिएन ।
पवित्राको पनि समस्या त्यस्तै हो । दुई पटक वडा कार्यालयमा गएर फोटो खिचेको नम्बर नै आएन । नम्बर लिन उनी जिल्ला प्रशासन कार्यालय आइपुगिन् । तर, त्यहाँ ‘नेट’ आएन भनिदिए । बाहिरै नेट कुरेर बसेको उनले सुनाइन् । ‘राष्ट्रिय परिचयपत्र बनाउन आएको हुँ’ उनले भनिन्, ‘वडामा बनेन, दुई पटक खिच्दा पनि नम्बर नै निस्किएन । त्यसपछि जिल्ला आएको । नेट छैन रे ।’
पवित्राको जन्म मिति २००१ सालको हो । नागरिकता बनाउँदा ११ साल देखिएछ । बल्लबल्ल मिलाएर वृद्धभत्ता खान थालेकी उनलाई अहिले फेरि अर्को झमेला आइपुग्यो । ‘यो के लाइदिए लाइदिए । दुःख पाइयो,’ उनी सुनाउँछिन् ।
मोरङ धनपालथान ७ की सुशीलादेवी सिंह ७८ वर्ष पुगिन् । लौरो टेकेर राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय मोरङ धाएकै उनले पाँच पटक भइसक्यो । ‘पहिले आमाले राष्ट्रिय परिचयत्र पत्रको लागि फोटो खिचाउनु भयो । तर, भएन । दोस्रो पटक आउँदा तपाईको यो नागरिकताले काम दिएन प्रतिलिपि निकाल्नुपर्ने भन्यो’ उनले भनिन्, ‘त्यसपछि रेकर्डमा जाँदा रेकर्ड फायल नै ‘झुत्रो भइगएको’ भनेर लेखिदियो ।’ अहिले अनुसूची १ भरेर ल्याउनु, सर्जमिन मुचुल्का उठाउनु भनेको उनले सुनाइन् ।
‘अब मेरो आमाले नागरिकता पुनः प्राप्ती गर्ने प्रक्रिया पुरा गर्नुपर्ने भयो,’ आमा सुशीलालाई लिएर आएका सञ्जय सिंहले भने, ‘नागरिकताको अवस्था हेर्दा प्रतिलिपि लिनुपर्ने कुनै कारण नै देखिँदैन ।’ सुशीलाको यही नागरिकताबाट अहिलेसम्म काम चल्ने र अहिले नचल्ने अवस्था आउनुमा राज्य आफै जिम्मेवार भएपनि अनावश्यक दुःख दिएको उनको गुनासो छ ।
‘मैले सर्जमिन मुचुल्का फेरि किन उठाउनु ? आमा सँग भोटर कार्ड छ । जग्गा जमिनको लालपूर्जा छ । तर, सबै कामगजात हुँदा पनि अनेक बहाना गरेर दुःख मात्रै दिइरहेका छन्,’ सिंह भन्छन् ।
मोरङको बेलबारी नगरपालिका–२ लालभित्ती घर भएकी ७० वर्षीया तारादेवी खत्री पनि विहानै ५ बजे जिल्ला प्रसान कार्यालय मोरङमा आइपुगेकी हुन् । राष्ट्रिय परिचयपत्रका लागि नाम दर्ता गर्न दिनभर लाइन बस्दा पनि बिहीबार र शुक्रबार पालो नआएपछि आइतबार विहानै उनी आइपुगेकी हुन् ।
‘आइबार पनि ढिलो हुन्छ कि भनेर बिहान उठ्नेबित्तिकै नाती केटालाई पठाएको थिएँ’ उनले भनिन्, ‘मेरोे घुँडा दुख्ने समस्या छ । तरपनि लाइनमा बसेको छु ।’ उनले बिहान १० बजेपछि राष्ट्रिय परिचयपत्रका लागि नाम दर्ता गराइन् । ‘राष्ट्रिय परिचयपत्रका लागि निकै दुःख रहेछ । दुई दिनमा बल्ल बल्ल पालो आएर काम भयो,’ उनले भनिन् ।
विराटनगर–१४ जतुवाका ७८ वर्षे ज्येष्ठ नागरिक अवदेश चौधरी चार घण्टादेखि लाइनमा बसेर थकित थिए । चर्को घामबाट बच्न साथमा छाता पनि बोकेर आएका उनले ढाडकोे समस्या रहेकोले धेरैबेर उभिन नसक्ने बताए । ‘राष्ट्रिय परिचय पत्र बनाउको लागि लाइनमा बसेको घण्टौं भइसक्यो । पालो आउने कतिखेर आउने हो थाहा छैन’ उनले भने ।
जेष्ठ नागरिकले मात्रै होइन । धेरैले राष्ट्रिय परिचयपत्र बनाउने नाममा झण्झट व्यहोरेका छन् । कानेपोखरीबाट हातमा पुरानो पासपोर्ट नवीकरण गर्न आएका एक युवा नागरिकताको प्रतिलिपि बनाउने हतारोमा देखिए । ‘विदेश जानुपर्ने । पासपोर्ट नवीकरण गर्न आएको राष्ट्रिय परिचयपत्र बनाउनुपर्ने भयो’ उनले भने, ‘परिचयपत्र बनाउन नागरिकताको पुरानो फोटो परिवर्तन गर्न भन्यो । अब नागरिकताको प्रतिलिपि निकाल्न वडासम्म पुगेर कागज मिलाएर आएको छु ।’
परिचयपत्र बनाउन अहिले जिल्ला प्रशासन कार्यालय मोरङमा बिहान ५ बजेदेखि नै जेष्ठ नागरिकहरु लाइनमा बसेका हुन्छन् । कर्मचारीको अभाव हुँदा समस्या देखिएको जिल्ला प्रशासन कार्यालय मोरङको भनाइ छ । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदिप साहले सोमबारदेखि बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म नै सेवा दिने जानकारी दिए ।
सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य बिमा, पेन्सन लिन, कर तिर्न, सवारी चालक अनुमति पत्र, कम्पनी दर्ता तथा नवीकरणमा समेत राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि जिल्ला प्रशासनहरूमा भिड लाग्ने गरेको छ । अहिले राष्ट्रिय परिचयपत्र अनिवार्य नगरे पनि चाहिन्छ भनेर वृद्धवृद्धाहरू आएकोले भिडभाड बढेको साहले बताए । मेडिकलतिर पढ्ने विद्यार्थीदेखि छात्रवृत्तिमा पढ्ने विद्यार्थी तथा विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई परिचयपत्र अनिवार्य भएकाले पनि भीड देखिएको उनको भनाइ छ ।
आइतबार दिनभरीमा प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्रका लागि मात्रै ४६२ वटा टोकन बाँडेको उनले जानकारी दिए ।