महुशल नतिर्नेको विद्युत लाइन काट्न गएका प्राधिकरणका कर्मचारी कुटिए

सङ्खुवासभा । नेपाल विद्युत् प्राधिकरण कार्यालय सङ्खुवासभाको शाखा कार्यालय मादीका इञ्चार्जसहित दुईजना कर्मचारीमाथि कुटपिट भएको छ ।

विद्युत् महसुल नतिरेको भन्दै लाइन काट्न गएका प्राधिकरणका कर्मचारीमाथि कुटपिट भएको हो ।

काटिएको लाइन जोड्न धम्की दिँदै कर्मचारीमाथि कुटपिट भएको शाखा कार्यालयका प्रमुख शत्रुधन यादवले जानकारी दिए । उनका अनुसार इञ्चार्ज राजकुमार राई र प्रदीप जिमीमाथि साउन १५ गते कुटपिट भएको थियो ।

विद्युत महशुल नतिरेपछि लाइन काट्न मादी नगरपालिका ४ ओखरबोट पुगेका उनीहरुमाथि कुटपिट भएको हो । ठूलाबडा व्यापारीले वर्षौदेखि महशुल नतिर्दा पनि हुने, सर्वसाधारणको चै लाइन काट्ने भन्दै कर्मचारीमाथि कुटपिट भएको प्राधिकरणले जनाएको छ ।

कुटपिट गरेको आरोपमा मादी नगरपालिका–४ ओखरबोटका स्थानीय लक्ष्मण लिङ्थेप र हर्कहाङ लिम्बू विरुद्ध इलाका प्रहरी कार्यालय चैनपुरमा उजुरी परेको कार्यालयका प्रहरी निरीक्षक बाबुराम कार्कीले जानकारी दिए । उजुरीलगत्तै उनीहरु फरार भएकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

विद्युत् महसुल नतिरेर लाइन काटिएको विषयमा विवाद हुँदा राई र जिमीमाथि गालीगलौज, हातपात तथा कुटपिट भएको थियो । स्थानीय लिङ्थेपको क्रशर उद्योगले ६ लाख ४० बक्यौता नतिरेपछि प्राधिकरणले लाइन काटेको थियो । कर्मचारीमाथि कुटपिट भएपछि मादीस्थित शाखा कार्यालय साउन १५ गतेदेखि बन्द छ ।

कार्यालयमा ६ जना कर्मचारी कार्यरत छन् । शाखा कार्यालय बन्द भएपछि सेवाग्राही मारमा परेका छन् । कर्मचारीमाथि कुटपिट भएपछि अन्य कर्मचारी त्रासमा रहेकाले कार्यालय बन्द गरेर सदरमुकाम आएका छन् ।

शनिबार, १९ साउन, २०८१, साँझको ०५:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर


You cannot copy content of this page